ओहो ! गणतन्त्रको विरोध

ओहो ! गणतन्त्रको विरोध

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नयाँ खाले फोबियाले ग्रस्त बन्नुभएको छ ।

अहिले देशमा उहाँलाई मन नपर्ने जस्तोसुकै घटना घटोस्, उहाँलाई लागिहाल्ने रहेछ कि यो त गणतन्त्रविरुद्ध लक्ष्यित छ । घटना जेसुकै होस्, उहाँलाई लागिहाल्छ यो गणतन्त्रविरुद्ध नै भएको हो ।

एनसेलको शेयर काण्डमा छोरीको नाम आयो, उहाँलाई लाग्यो यो त गणतन्त्रविरुद्ध लक्ष्यित आरोप हो । उहाँकी नातिनीको भव्य विवाहको कुरा उठ्यो, उहाँलाई लाग्यो यो त गणतन्त्रविरोधी कुरा हो ।

अहिले भर्खरै बालकुमारीमा दुई युवामाथि गोली प्रहार भयो र उनीहरूको मृत्यु भयो, यसमा पनि उहाँलाई लागिरहेको छ, यो त गणतन्त्रविरोधी कृत्य हो । अब त देशमा केही गर्नु भएन, जे गरे पनि गणतन्त्रविरोधी हुने देखियो ।

तपाईंले महँगीको विरोध गर्नुस्, त्यो पनि गणतन्त्रविरोधी हुने भयो । भ्रष्टाचारको विरोध गर्नुस्, त्यो झनै गणतन्त्रविरोधी हुने भयो । ढिलासुस्तीको विरोध गर्नुस्, त्यो त झन् गणतन्त्र मात्र होइन संघीयताकै विरोध ठहर्ने भयो । जे गरे पनि गणतन्त्रको विरोध ठहर्ने भएपछि जनताले विरोध गर्ने चाहिँ केमा होला ? 
 

टिप्पणीहरू