कोही नहार्ने व्यवस्था

कोही नहार्ने व्यवस्था
सुन्नुहोस्

यो धेरै अगाडिको कुरा हो । सायद ०४६ सालको आन्दोलन सफल भएपछिको कुरा हुनुपर्छ । कांग्रेस नेता गिरिजाप्रसाद कोइरालाले भन्नुभएको थियो– प्रजातन्त्रमा कोही पनि हार्दैन । प्रजातन्त्रमा हार भन्ने कुरै हुुँदैन ।

यसमा सबै जित्छ । सबै जित्ने प्रणाली भनेकै प्रजातान्त्रिक प्रणाली हो । संसदमा यो राष्ट्रियसभा भन्ने सदन बनाएकै सायद यही कारणले हुनुपर्छ । किनभने प्रजातन्त्र भनेकै यस्तो प्रणाली हो जहाँ कोही पनि हार्दैन । हारे पनि हार्ने उम्मेदवार सांसद हुन पाउँछ । जित्ने उम्मेदवारले त जुन व्यवस्थामा पनि सांसद हुन पाउँछ । पहिले पहिले पञ्चायती व्यवस्थामा पनि पाइन्थ्यो।

तर प्रजातान्त्रिक व्यवस्था भनेको पञ्चायती व्यवस्था होइन । जित्ने जितिहाल्ने र हार्ने हारिहाल्ने त पञ्चायती व्यवस्थामा मात्र हो । प्रजातान्त्रिक व्यवस्थामा त्यस्तो हुँदैन । प्रजातान्त्रिक व्यवस्थामा त जनताले हराएको उम्मेदवार पनि अन्तमा जितेकै हुन्छ । किनभने प्रजातान्त्रिक व्यवस्था भनेकै यही हो । यसमा कोही पनि हार्दैन । यो व्यवस्थामा हार्नेहरू बस्नको लागि पनि छुट्टै सदनको व्यवस्था गरिएको हुन्छ। नेपालमा त्यस्तो सभालाई राष्ट्रियसभा भनिन्छ ।

राष्ट्रियसभामा हार्नेहरू बस्ने चलन त उहिल्यै आइसकेको हो । तर यतिले मात्रै यो व्यवस्था स्थिर होला जस्तो लागेन । त्यसैले यसपाली हारेका उम्मेदवारलाई यो सभाको अध्यक्ष नै बनाउने तयारीसमेत हुँदै छ । त्यसपछि राष्ट्रियसभामा मनोनयन हुन चाहिने पहिलो क्राइटेरिया नै ‘कम से कम एक पटक चुनाव हारेको’ भन्ने हुने निश्चित छ । 
 

टिप्पणीहरू