अपूर्ण उद्घाटन

अपूर्ण उद्घाटन

भारतमा गत साता भव्य रूपले राम मन्दिरको उद्घाटन भयो । जसको बहुत चर्चा भयो । साथसाथै आलोचना पनि ! मन्दिर के उद्घाटन भयो,  भारतका चारै जना शंकराचार्य आक्रोशित भएका समाचार बाहिर आए ।

रामको मन्दिर उद्घाटन हुनु,  अनि शंकराचार्यचाहिँ क्रोधित हुनु ? यो के भएको ? शंकराचार्यहरूको आरोप छ,  राम मन्दिरको निर्माण अझै पूरा भएको छैन । यस्तो पूरै नभएको मन्दिर उद्घाटन वा प्राण प्रतिष्ठा गर्न मिल्दैन । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गर्नै नहुने काम गरे ।

आरोप त गम्भीर नै हो । भारतका कुनै मिडियाले नरेन्द्र मोदीका कुनै कट्टर समर्थकलाई यसबारे जिज्ञासा राखेछन्,  ‘जयश्री राम !’
‘जयश्री राम ! बोलो क्या है ?’

‘प्रधानमन्त्री नरेन्द्र मोदीले त निर्माणै पूरा नभएको मन्दिर उद्घाटन गरेको आरोप आयो नि ! कुरा के हो नेताजी ?’

नेताजीले भने,  ‘पूरा नभएको स्मारक उद्घाटन गर्नु हुँदैन ? कहाँ लेखिएको छ गर्नु हुँदैन भनेर ? नेपालको प्रधानमन्त्रीले उद्घाटन गरेको हो नि थाहा छैन ?’ ‘नेपालको प्रधानमन्त्रीले ?! नेपालको प्रधानमन्त्रीले के उद्घाटन ग¥यो नेताजी ?’

‘अरे काठमाण्डूमा बाह्र तलाको जो धरहरा छ नि,  त्यो त निर्माण पूरा नहुँदै प्रधानमन्त्री केपी औँलीले उद्घाटन गर्नुभएको थियो नि ! थियो कि थिएन ?’

‘हाँ..हाँ..त्यो त थियो ।’‘अनि त ! नेपालको प्रधानमन्त्रीले निर्माणै पूरा नभएको धरहरा उद्घाटन गर्दा तबचाहिँ किन बोलेनन् यी शंकराचार्यहरू ?’ ‘हैन,  त्यो त नेपाल भयो नि ! अहिले हिन्दुस्तानको कुरा चलिरहेको छ ।’

‘अरे..हिन्दुस्तानको सामने त्यो नेपाल के हो र ? अब त्यस्तो कमिलाजस्तो देशको प्रधानमन्त्रीले त बिना निर्माण उद्घाटन गर्न सक्छ भने भारतजस्तो विशाल देशको प्रधानमन्त्रीले किन सक्दैन ? त्यसैले यो कुनै चिन्ताको बात होइन । चलिरहेकै बात हो । जय श्रीराम !’

‘जय...’ पत्रकारको मुखबाट यति मात्रै निस्क्यो । 
 

टिप्पणीहरू