मुनाफाबाला लगानी

मुनाफाबाला लगानी

खर्बपति व्यवसायी विनोद चौधरीका भाइ अरुण चौधरी प्रहरी हिरासतमा पुगेका छन् । हुन त यसलाई प्रहरी हिरासत भन्न मिल्दैन होला । किनभने उनलाई प्रहरीले पक्राउ गरेको भए पनि प्रहरी हिरासतमा राखिएन । अस्पताल लगियो ।

अतः यसलाई प्रहरी हिरासतभन्दा पनि अस्पताल हिरासतभन्दा राम्रो होला । तर, अदालतले अस्पतालकै हिरासत भए पनि दुई दिनभन्दा बढी नराख्न आदेश दियो । 

विनोद चौधरी नेपालका खर्बपति व्यापारी हुन् । बाँसबारीको त्यो जाबो १० रोपनी जग्गा हडप्नुपर्ने मान्छे । चाहेकोमा त्यो दश रोपनी अहिले एकछिनमै किन्न सक्ने क्षमता उनीसँग छ ।

तर, जग्गा किनेनन् । बरु त्यही पैसाले प्रहरी किने, अदालत किने, डाक्टर किने । जग्गाचाहिँ किन्दै किनेनन् । जग्गामा गर्नुपर्ने लगानी प्रहरी, प्रशासन र न्यायालयमा गरे । सायद यताबाट बढी मुनाफा आउने देखे होलान् ।

आखिर एक घनघोरै सफल व्यापारी जो हुन् उनी । कहाँ लगानी गर्दा मुनाफा हुन्छ उहाँलाई जति अरुलाई के थाहा ? जग्गामा लगानी गर्नुभन्दा प्रहरी प्रशासन र राजनीतिमा लगानी गर्दा बढी फाइदा हुने । जहाँ फाइदा, त्यहीँ लगानी । त्यो फाइदा अहिले धमाधम प्रकट हुँदै छ । व्यवसाय भनेको त यस्तो पो हुनुपर्छ । 
 

टिप्पणीहरू