न्यायिक लगानी

न्यायिक लगानी
सुन्नुहोस्

अरूलाई दण्ड तोक्नुपर्ने न्यायाधीश आफैँ दण्डित हुनुपर्‍यो भने के हुन्छ होला ? अहिले त्यस्तै भएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश श्रीमान् यज्ञप्रसादज्यू दण्डित हुनुभएको छ । र, दण्डस्वरूप मुगु सरुवा हुनुभएको छ । अर्थात् उहाँ यस्तो जिल्लामा सरुवा हुनुभएको छ जोसँग व्यापारी विनोद चौधरीको कुनै सम्बन्ध छैन । 

नेपालको एक मात्र खर्बपति व्यापारी माननीय विनोद चौधरीको व्यवसायबारे हामी सबै परिचित नै छौँ । नेपालमा त्यस्तो कुनै क्षेत्र छैन होला जहाँ चौधरीको लगानी छैन । स्वास्थ्य, शिक्षा, बैंकिङ, जुत्ता उद्योग, खाद्यान्न उद्योग, होटल व्यवसाय, रियलइस्टेट, आइटी जे नाम लिनुस् त्यसमा उहाँको लगानी रहेकै हुन्छ । अहिले भर्खरै थाहा भयो, नेपालको अदालतमा पनि राम्रै लगानी रहेछ । त्यसको प्रतिफल पनि उहाँले भर्खरै प्राप्त गर्नुभएको छ ।

नेपालको न्यायिक क्षेत्रमा उहाँको लगानीबारे हामीलाई त्यति जानकारी थिएन । यसपालि त्यो जानकारी प्राप्त भयो । अतः हामी यति कुराचाहिँ ढुक्कैले भन्न सक्छौँ कि नेपालमा त्यस्तो कुनै क्षेत्र छैन होला जहाँ उहाँको लगानी नभएको होस् । उहाँको उद्यमशीलताको यो सायद सबैभन्दा राम्रो नमूना हो । यति उद्यमशील व्यापारी सांसद पाउनु हाम्रो भाग्य होइन र ? 
 

टिप्पणीहरू