अमेरिका नेपालसँग असन्तुष्ट

अमेरिका नेपालसँग असन्तुष्ट
सुन्नुहोस्

ठूलै हल्लिखल्लीका साथ सरकारले लगानी सम्मेलनको आयोजना गर्ने भनेको छ । तर, अमेरिका र ऊसँग सम्बन्धित बहुराष्ट्रिय कम्पनीहरु नराम्ररी बिच्किएका छन् ।

अमेरिकी लगानीमा सञ्चालित सफ्टवेयर कम्पनी कोटिभिटीका विरुद्ध राजस्व अनुसन्धान विभागले मुद्दा दायर गर्न लागेपछि लगानी सम्मेलन नै प्रभावित हुने गरी अमेरिकी सरकार झस्किएको हो । निर्यात गरिने वस्तु तथा सेवामा समेत १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) तिर्नुपर्ने दाबीसहित अदालतमा कोटिभिटीविरुद्ध मुद्दा दायर हुन लागेको छ ।

वस्तुको निर्यातबापत चार अर्ब ७६ करोड ५८ लाख ४३ हजार रुपैयाँ भ्याट र स्वामीत्व परिवर्तन हुँदा तिर्नुपर्ने ४१ करोड ६४ लाख १७ हजार रुपैयाँ पूँजीगत लाभकर छलेको आरोप ऊमाथि लगाइएको छ । तर, अमेरिकी राजदूत डिन आर. थम्पसनले तत्कालै आपत्ति जनाउँदै अर्थमन्त्री वर्षमान पुनदेखि प्रधानमन्त्री प्रचण्डसँग भेट गरेका छन् ।

अर्थमन्त्रीले राजस्व अनुसन्धान विभाग आफूमातहत नभई प्रधानमन्त्री कार्यालयले हेर्ने भनेपछि उनी गुनासो पोख्न त्यहीँ पुगेका थिए । तर, प्रधानमन्त्रीले कोटिभिटीलाई लगाइएको अभियोगबारे अनभिज्ञता जनाउँदै बुझेर आवश्यक कदम चाल्ने बताउनुभएको छ । दूतावासले मुद्दा फिर्ता लिन र लगानीयोग्य वातावरण सुनिश्चित गर्न भन्दै आएको छ । तर, नेपाली पक्षबाट उक्त मागको राम्रोसँग सुनुवाई नहुँदा दूतावासमात्रै हैन, पूरै अमेरिकी सरकार नेपालसँग बिच्किएको बताइन्छ । यसको असर हो, वैशाख १६ र १७ गते आयोजना हुने लगानी सम्मेलनमा अमेरिका र ऊसँग सम्बन्धित बहुराष्ट्रिय कम्पनी एवं दातृ निकाय आउने–नआउने अन्योल । यसपछि अर्थमन्त्री वर्षमान पुन एक बैठकको नाममा अमेरिका पुगेका छन् । 

उता, हतार हतार गत साता संसद अधिवेशन अन्त्य गरिनुको  अर्को कारण पनि लगानी सम्मेलन नै भएको बताइन्छ । सम्पत्ति शुद्धिकरणको मूल्यांकनमा नेपाल ग्रे जोनमा पर्ने खतरा छ । यसकारण कतिपय दाता नआउने भए । त्यसैले संसद नभएको बहानामा अध्यादेश ल्याएर कतिपय कानुन बनाउने र काम देखाउने चटारोका कारण अधिवेशन अन्त्य गरिएको हुनसक्छ ।

सबभन्दा निराशलाग्दो कुरा त के छ भने, लगानी सम्मेलनमा ठूला देश र दाताले सहभागी हुने भनी खबर नै गरेका छैनन् । नेपाल सरकारले १२ सयभन्दा बढीलाई बोलाएकोमा अहिलेसम्म डेढ सयले पनि सुनिश्चितता दिएका छैनन् । यस्तो बेलामा अर्थ मन्त्रालयको वैदेशिक महाशाखा प्रमुख श्रीकृष्ण नेपाल पनि मन्त्रीसँगै अमेरिका गएका छन् । 

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू