सिरोहिया छुटाउन अदालतअगाडि धर्ना

सिरोहिया छुटाउन अदालतअगाडि धर्ना
सुन्नुहोस्

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई साधारण तारेखमा छोड्न माग गर्दै धनुषाको जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोजकुमार साह धर्नामा बसेका छन् । धनुषा जिल्ला अदालतअगाडि उनी धर्नामा बसेका हुन् । 

सामान्य मुद्दामा सिरोहियालाई राजद्रोहीझैं पक्राउ गरेर राज्यले मधेशलाई अपहेलना गरेको उनको आरोप छ । नागरिकतामा त्रुटि हुनु जिल्ला प्रशासन कार्यालयको कमजोरी भएको मेयर साहले दाबी गरे । 

‘नागरिकतामा त्रुटि हुन्छ । कहिले उमेर त्रुटि हुन्छ, कहिले नाम । उहाँको हकमा एउटै नागरिकता नम्बर दुई जनालाई पर्यो । यो कसको त्रुटि हो ? जिल्ला प्रशासन कार्यालयको होइन् ? सामान्य मुद्दामा राजद्रोहीलाई झैं पक्राउ गरिएको छ । उहाँलाई साधारण तारेखमा छोड्नुपर्छ भन्ने हाम्रो माग हो’, उनले भने । 

सिरोहियालाई आज अदालतले नछोडेमा सशक्त आन्दोलनमा जाने उनको चेतावनी छ । मेयर साहसँगै नेपाली काँग्रेस, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी पार्टीका नेता–कार्यकर्ता तथा उद्योग वाणिज्य संघका पदाधिकारीहरु पनि धर्नामा छन् । 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले गत मंगलबार सिरोहियालाई कान्तिपुर मुख्यालयबाट पक्राउ गरेको थियो । किर्ते नागरिकताको आरोपमा पक्राउ परेका उनलाई हिरासतमा राखेर अनुसन्धान गर्न धनुषा जिल्ला अदालतले पहिलोपटक तीन दिनको म्याद दिएको थियो । 

अनुसन्धान नसकिएपछि प्रहरीले आज पुनः म्याद थप गर्न लागेको छ ।

टिप्पणीहरू