बडे बेआबरु जो बेलाबखत बनिरहन्छन्

बडे बेआबरु जो बेलाबखत बनिरहन्छन्
सुन्नुहोस्

‘बडे बेआबरु होकर तेरे कुचे से हम निकले, बहुत निकले मेरे अरमान फिर भी कम निकले ।
हजारों ख्वाहिशें ऐसी कि, हर ख्वाहिश पे दम निकले
बहुत निकले मेरे अरमान, लेकिन फिर भी कम निकले ।’

उर्दू भाषाको यो शायरी हालै विभाजित उपेन्द्र–अशोक नेतृत्वका दुबै जसपाको हकमा लागु हुँदैछ । विशेषतः मधेसको राजनीति कता जान्छ भन्ने सन्दर्भसँग यो शायरीको गहिरो अर्थ छ । उपेन्द्र अमेरिकामा रहेको बेला ‘बेआबरु’, अर्थात् बेइज्जती, कसिंगर फालेजसरी पार्टी फुटाइयो । उक्त विभाजनलाई धेरै ठूलो घटना मानियो, तर पनि संख्याले कम भयो।

यसभित्र केपी ओलीहरुका हजारौं सपना बुनिएका थिए, तर थोरैमात्र सपना पूरा हुनेतिर परिस्थिति गयो । त्यसमाथि मधेसमा अब के हुन्छ भन्ने टुंगो छैन । भनिन्छ, अघिल्लो संसदको पूरै कार्यकाल मुख्यमन्त्री चलाएका लालबाबु राउत गद्दीले उपेन्द्रलाई छाड्दैनन् । तर, मधेस बुझ्नेहरु यो कुरा मान्न तयार छैनन् । अशोक राई पक्षले उनलाई मुख्यमन्त्री बनाउने भन्यो भने उपेन्द्रको साथ छाड्न सक्छन् । वा, अहिलेकै मुख्यमन्त्री सरोज यादवलाई फेरि बनाइदिन्छु भन्नेको पल्लाभारी छ भने उनी त्यतै जाने हुन् । किनभने, विचार र सिद्धान्तले कोही पनि कतै लागेका होइनन् । 

जसपाको संगठनमा ०७० सालदेखि रेणु यादव र नवलकिशोर साह जोडिएपछि उपेन्द्रको राजनीति धर्मराउँदै आयो । उनलाई सप्तरीमै सिके राउतले चुनाव हराइदिने कुरासँग आफ्नै पार्टीभित्रको धोकाधडीको सम्बन्ध छ । अहिले यस्तो संकटको बेला उनका अर्का सहयात्री शैलेन्द्र साह भारततिर घुमिरहेका छन् ।

पर्साबाट प्रदीप यादव अशोक राईतिर गएपछि वीरगञ्ज महानगरका मेयर राजेशमान सिंह पनि गएकै मानिन्छ । मधेशका अरु ठाउँमा उपेन्द्रसँग मान्छे छन् । किनभने, दुबोजस्तो फैलिने चरित्र उनको छ । मधेशका अर्थमन्त्री सञ्जय यादवलाई उपेन्द्रका छोरा अमरेन्द्रले चलाउँथे, अहिले तिनले पनि छाड्ने स्थिति छ । उपेन्द्र आफू त कमजोर थिए थिए, छोरा हावी हुन थालेपछि पार्टीभित्र त्यो कुरालाई राम्रो मानिएको छैन । 

जब जब अवसर आउँछ, तब तब उपेन्द्रमाथि संविधान पुनर्लेखनको कुरा बिर्सिने गरेको आरोप लाग्छ । जब आफूलाई प्रतिकूल हुन्छ, फेरि ‘पुनर्लेखन’ भन्दै चर्किन थाल्छन् । त्यसैले उपेन्द्रले मधेशको राजनीतिक मुद्दाको नेतृत्व गर्छन् भन्नेमा उनकै सहयात्रीले पनि विश्वास गरेका छैनन् । उपेन्द्रको ध्यान भारतमा छोटो समय प्रधानमन्त्री भएका एचडी (हर्दनहल्ली) देवेगौडा बन्नुतिर छ भनिन्छ । उनी कर्नाटकका एक सामान्य नेता थिए, क्षेत्रीय दल खोलेर बसेका । केन्द्र सरकारमा ठूला दल कमजोर हुनुको फाइदा उठाउँदै प्रधानमन्त्री भइदिए । भनिन्छ, उपेन्द्रको ध्याउन्न पनि त्यस्तै छ । यद्यपि, उनी प्रधानमन्त्री भएर तराईले पाउने केही हैन भन्नेमा उनकै पार्टीका मान्छे ढुक्क छन् । 

अहिले विभाजित पार्टीको केन्द्रीय कमिटीमा उपेन्द्र बलियो छन् । तर, त्यो बल प्रदेशको राजनीतिमा भर पर्छ । मुख्यमन्त्री र मन्त्रीका लोभले उनका मान्छे यताउता हुनासाथ त्यसले केन्द्रको सन्तुलन पनि बिगार्छ । यतिबेला उपेन्द्रसँग प्रत्यक्ष जितेका आफूसहित राजकिशोर यादव मात्रै छन् । समानुपातिक सांसद रञ्जु ठाकुर र स्वास्थ्य राज्यमन्त्री हसिना खातुनले क्याम्प फेरिसकेका छन् । 

उता, एमालेलाई आफ्नो अश्वमेघ घोडा मधेसमा रोकिएको भान परेको छ । त्यसैले ऊ मधेशमा आफ्नै मुख्यमन्त्री चाहन्छ । अर्कातिर, उपेन्द्रका कसैले पार्टी छोडेर आए उनैलाई मुख्यमन्त्री दिने एमालेको सोचाई देखिन्छ । कांग्रेस पनि मुख्यमन्त्री छोड्ने पक्षमा छैन । सिके राउत त झन् दाऊ पर्खिएर बसेका छन् । सरोज यादव आफूबाहेकमा सहमति नहुनेमा ढुक्क छन् । त्यसैले सांसद र स्थानीय तहका जनप्रतिनिधिले दुईमध्ये कुन जसपा रोज्ने भनी सनाखत गरेपछि बल्ल यो चित्र स्पष्ट हुन्छ । तर, उपेन्द्र सनाखतसम्म पर्खिंदा समाप्त होइन्छ कि भन्ने त्रासमा छन् । यही डर अशोक राईतिर पनि छ । त्यसैले भनिएको हो, ‘बडे बेआबरु होकर तेरे कुचेसे हम निकले, बहुत निकले मेरे अरमान फिर भी कम निकले !’

यसबीच कांग्रेसको महत्वाकांक्षा बढेको छ । जसपाबाट फुटेर प्रदेशका केही सांसद आफूतिर आउँछन् भन्ने उनीहरुको हिसाब छ । मधेसबाट अशोक राईको पक्षमा सात जना जाने हुन सक्छ । र, मुख्यमन्त्री पाउने अवस्थामा बढी आउने अवस्था छ । त्यसो त अशोक राई पार्टी चलाउने चरित्रका हैनन् । सक्ने भए संघीय समाजवादी अहिलेसम्म चल्नुपर्ने हो । उनी एमालेमै विलिन हुने बाटोमा छन् । वा, हृदयेश त्रिपाठीजस्तै सूर्य चिह्न लिएर राजनीति टिकाउनेतिर लाग्ला । 

त्यसमाथि केपी ओलीलाई अर्को चुनावमा राजा महेन्द्रपछिको ठूलो नेता बन्नु छ । त्यसका लागि उनी जे पनि गर्न तयार छन् । लेखहरुमार्फत जिउँदै राष्ट्रपिता घोषित गर्नेसम्मको मनस्थिति बनाएका छन् । मधेसमा घण्टीको प्रभाव छैन । उक्त पार्टीमा लागेका मनिष झा काठमाडौंकेन्द्रित हुन् । त्यसमाथि मधेसका राजमार्गमा पहाडे समुदायको वर्चस्व छ, जहाँ एमाले प्रभाव छ । मनिष मधेसीमा पनि बाहुन भए । त्यसैले मनिषलाई हेरेर घण्टीको अन्दाज हुँदैन । 

उपेन्द्रले ज–जसलाई अगाडि बढाए, धोका पनि उनै उनैबाट खाइरहेका छन् । रञ्जु ठाकुरलाई सांसद बनाए । उनी राप्रपा हुँदै एमाले भइन्, सांसद र सभापति बनिन्, भर्खरै अशोकतिर लागिन् । बहिनी मञ्चला एमालेकै तर्फबाट सत्य निरुपण तथा मेलमिलाप आयोगको सदस्य नै थिइन् । रञ्जु पुनरावेदनका पूर्वन्यायाधीश तथा मानवअधिकार आयोगका सदस्य मिहिर ठाकुरकी पत्नी हुन् । उपेन्द्रले सप्तरीमा टिक्नका लागि नवलकिशोरको साथ लिए ।

पछि इस्तियाक र प्रदीप यादवकै जोडमा उनलाई मन्त्री बनाए । नवल सद्भावना स्कुलिङका हुन् । पछिसम्म राजेन्द्र महतोनिकट थिए । प्रदेशको मन्त्री जोगाउनका लागि उपेन्द्रको पक्षमा लागे । यदि मधेशमा महन्थको सरकार टिकेको भए उपेन्द्र त्यही बेला कमजोर हुने थिए । 

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू