नेपाल प्रहरीका १४९ इन्स्पेक्टर दीक्षित (तस्बिरहरु)

नेपाल प्रहरीका १४९ इन्स्पेक्टर दीक्षित (तस्बिरहरु)
सुन्नुहोस्

नेपाल प्रहरीका डेढ सय निरीक्षक (इन्स्पेक्टर) दीक्षित भएका छन् । आधारभूत तालिम पूरा गरेका १८ महिलासहित १४९ जनालाई आज विशेष समारोहका बीच दीक्षित गरिएको हो । 

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा आयोजित दीक्षान्त समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रथम, द्वितीय र तृतीय पुरस्कार प्रदान गर्नुभयो । तालिममा सर्वप्रथम एंव कवाज प्रथम हुने प्रशिक्षार्थी इन्स्पेक्टर पवनकुमार परियारलाई स्वर्गीय ‘कुलानन्द विद्या सर्वप्रथम पुरस्कार’ प्रदान गरियो । 

त्यस्तै, द्धितीय एंव प्रहरीयुक्ति तथा कारबाहीमा प्रथम सगुन खड्का, तृतीय एंव अध्ययनमा प्रथम आयुष ढुंगाना र मस्केट्री तथा चाँदमारीसहित शारीरिक व्यायाममा प्रथम गोकुलकुमार धानुक पनि प्रधानमन्त्रीद्वारा पुरस्कृत भए । 

दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले कार्यक्षेत्रमा आउनसक्ने हर चुनौतीको सामना गर्न प्रहरी सफल र सक्षम रहेको बताउनुभयो । कठिन र चूनौतीपूर्ण घडीमा प्रहरीले कुशलतापूर्वक जिम्मेवारी निर्वाह गर्दै आएको स्मरण गर्दै उहाँले दीक्षित अधिकृतहरुले पनि आम नागरिकलाई सेवाको अनुभूति हुने गरी काम गर्ने विश्वास व्यक्त गर्नुभयो ।  

कार्यक्रममा उपप्रधान एंव गृहमन्त्री रवि लामिछानले प्रहरी प्रतिष्ठानले राष्ट्रप्रति समर्पित, योग्य र सक्षम प्रहरी जनशाक्ति उत्पादन गर्दै आएको उल्लेख गर्दै प्रतिकूल परिस्थितिमा पनि सेवाभावलाई दृढ बनाई राख्न निर्वाह गरेको भूमिकाको प्रंशसा गर्नुभयो । 

उहाँले भन्नुभयो, ‘अनेकौं चूनौतीसँगै आफूलाई योग्य प्रमाणित गरेर तपाईहरुले राष्ट्रसेवाको ऐतिहासिक अवसर प्राप्त गर्नुभएको छ । राष्ट्रले गरेको लगानी र दिएको जिम्मेवारीप्रति आत्मबोध गर्दै यहाँहरुले इमानदार र व्यावसायिक भएर जिम्मेवारी निर्वाह गर्नुहुनेछ भन्ने कुरामा म पूर्ण विश्वस्त छु ।’

गृहमन्त्री लामिछानेले प्रहरी कर्मचारीहरुको वृत्ति विकासलाई न्याय संगत र सेवा सुविधालाई समयानुकुल बनाउन नीतिगत, कानूनी व्यावसायिक र व्यवहारिक रुपमा प्राथमिकता निर्धारण गरी आवश्यक सुधार गर्न सरकार प्रतिबद्ध रहेको पनि बताउनुभयो । 

सोही क्रममा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रहरी सेवा केबल रोजगारी मात्रै नभई एउटा विशिष्ट जीवनशैली भएको चर्चा गर्दै यस सेवामा आबद्ध हुन उच्च अनुशासन, पवित्र निष्ठा, अदम्य साहस, निरन्तर सिकाई र अविचलित समर्पणको आवश्यक रहने बताउनुभयो । 

उहाँले अपराधको अन्तर्राष्ट्रियकरण, बढ्दो आप्रवासन, संगठित अपराधको वृद्धि एंव बदलिँदो संस्कृतिले उब्जाएका नवीन चूनौतीहरुको सामना गर्न समयानुकूल सक्षम, सक्रिय, व्यावसायिक प्रहरी अधिकृतहरु दीक्षित भएको विश्वास व्यक्त गर्नुभयो । 

प्रहरी नीलो बर्दीमा राज्यको कानूनी अधिकार गाँसिएको बताउनुहुँदै प्रहरी महानिरीक्षक कुँवरले भन्नुभयो, ‘दीक्षित हुन लागेका सबै प्रहरी निरीक्षकहरूलाई एउटा मन्त्र सँधै मनन गर्न निर्देशित गर्न चाहन्छु । राज्यले प्रदान गरेका अधिकारहरूलाई शक्तिको रूपमा होइन, राज्यले सुम्पिएको जिम्मेवारीको रूपमा ग्रहण गर्नू ।’

समारोहमा प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीले प्रशिक्षार्थीहरुलाई सपथ ग्रहण गराउनुभएको थियो ।  प्रशिक्षार्थीहरूले कवाज प्रदर्शन तथा नेपाल प्रहरी संगीत विद्यालयद्वारा सांगितिक धुन प्रस्तुत गरिएको उक्त समारोहमा दीक्षित प्रहरी अधिकृतहरुलाई आ–आफ्ना अभिभावकले दर्ज्यानी चिन्हले सुशोभन गरेका थिए ।

टिप्पणीहरू