कम्युनिस्टहरुको समर्थन बटुल्दै रुसी राष्ट्रपति पुटिन

कम्युनिस्टहरुको समर्थन बटुल्दै रुसी राष्ट्रपति पुटिन

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन उत्तर कोरियाको राजधानी प्योङयाङबाट दक्षिण पूर्वी एशियाली मुलुक भियतनाम पुगेका छन् । पुटिन २४ घण्टे उत्तर कोरिया  बसाइ सकेर गएराति सोझै भियतनामको राजधानी हनोइतिर हान्निएका हुन् ।

उत्तर कोरियासँग यसवीच महत्वपूर्ण सैन्य सहयोगसम्बन्धी सम्झौता गरिए पनि सो को बिस्तृत विवरण भने खुलाइएको छैन । पश्चिमा सञ्चारमाध्यमहरुले रुसी राष्ट्रपतिको प्योङयाङ भ्रमणलाई सैनिक सहयोग र हनोई भ्रमणलाई आर्थिक सम्बन्ध सुदृढ बनाउने सन्दर्भसँग जोडेर व्याख्या गरेका छन् । अमेरिका र पश्चिमा मुलुकहरुले आर्थिक नाकाबन्दी कडा बनाउँदै लगेको सन्दर्भमा रुसी राष्ट्रपति सीमाना जोडिएका उत्तर कोरिया र चीनको आकाश हुँदै भियतनाम पुगेका हुन् ।

पुटिनको आज राति स्वदेश फर्कने कार्यक्रम छ । त्यसअघि भियतनामी कम्युनिष्ट पार्टीका महासचिव न्गुएन फु त्रोङ र नयाँ राष्ट्रपति लामसँग भेटघाट भइसकेको छ । भियतनामी राष्ट्रपतिलाई आगामी वर्षको मेमा मस्कोमा मनाइने भिक्ट्री डेका लागि प्रमुख अतिथिको निम्तो दिइएको छ । यसअघि आजै भियतनामी राष्ट्रपतिले राष्ट्रपति भवनमा पुटिनको सम्मानमा स्वागत कार्यक्रमको आयोजना गरेका थिए ।

पुटिन मस्को प्रस्थान गर्नुअघि दुई मुुलुकबीच भएका विभिन्न सम्झौताबारे संयुक्त वक्तव्य जारी हुने बताइएको छ ।

इतिहास बनिसकेको भियतनाम–अमेरिका युद्धमा रुसले भियतनामलाई हतियार उपलब्ध गराएको थियो । पछिल्लो समय भियतनामको आर्थिक समृद्धिमा छिमेकी चीनको मुख्य योगदान छ । वर्तमान विश्व राजनीतिमा रुस,चीन र उत्तर कोरिया एउटै खेमामा देखिन्छन् । चीन र भियतनामबीच निकै घनिष्ठ आर्थिक तथा राजनीतिक सम्बन्ध छ ।

ब्राजिल,रुस,भारत,चीन र दक्षिण अफ्रिका मिलेर खोलिएको अन्तर्राष्ट्रिय वित्त समूह ब्रिक्समा पछिल्लो समय विश्वका अन्य मुलुकले पनि सदस्यताको निम्ति चासो देखाएका छन् । आगामी अक्टोबरमा रुसको कजान शहरमा हुने शिखर सम्मेलनपछि रुस एक वर्षको लागि अध्यक्ष मुलुक बन्दैछ ।

त्यसअघि इरान,साउदी अरेबिया,युएई,इथियोपिया र इजिप्टले औपचारिक रुपमा ब्रिक्ससँग आवद्धता कायम गरिसकेका छन् । मलेसियाले ब्रिक्समा आवद्धताको लागि निकै पहल गरिसकेको छ भने भियतनाम पनि सोही लाइनमा देखिन्छ । गतसाता रुसमा सम्पन्न ब्रिक्स सदस्य राष्ट्रहरुका विदेशमन्त्रीहरुको बैठकमा भियतनामले उपविदेशमन्त्री पठाएको थियो ।

फाेटाे : राेयटर्स ।

टिप्पणीहरू