सहकारी ठगीमा गृहमन्त्रीविरुध्द काठमाण्डौ प्रहरीद्वारा उजुर दर्ता

सहकारी ठगीमा गृहमन्त्रीविरुध्द काठमाण्डौ प्रहरीद्वारा उजुर दर्ता

सहकारी ठगीमा मुछिएका गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध प्रहरीमा अर्को जाहेरी दर्ता भएको छ । 

काठमाडौँको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको बचत हिनामिना गरेको आरोपमा उनीविरुद्ध जिल्ला प्रहरी परिसर टेकुमा जाहेरी दर्ता भएको हो । सिन्धुलीका युवराज सफलले अस्ति मंगलबार हुलाकमार्फत पठाएको किटानी जाहेरी प्रहरीले हिजो दर्ता गरेको छ । प्रहरीले जाहेरी दर्ता गर्न नमानेपछि हुलाकमार्फत पठाइएको युवराजले बताए । 

गोरखा मिडियाका अध्यक्ष जिबी राई र तत्कालीन समयमा उक्त संस्थाको प्रवन्ध निर्देशक रहेका रविलाई कसूरदार किटान गरिएको जाहेरीमा संगठित अपराध र ठगीमा अनुसन्धान गर्न माग गरिएको छ । जिबी र रविले सहकारी ठग्ने आपराधिक सोच राखेर गैरकानुनी तरिकाले सर्वसाधारणको बचत रकम हिनामिना हुनेगरी सहकारी डुबाएकाले संगठित अपराधअन्तर्गतको कसूर ठहर हुने युवराजको जिकिर छ ।    

'स्वर्णलक्ष्मी सहकारीसम्बन्धी जिल्ला प्रहरी कार्यालय काठमाडौँले गरेको अनुसन्धान प्रतिवेदन, सहकारीसम्बन्धी निकायले गरेको अनुसन्धान प्रतिवेदन साथै विभिन्न राष्ट्रिय मिडियामा सार्वजनिक भएका तथ्यांकहरुलाई मुख्य प्रमाण मानी आवश्यक कारवाही गरि पाऊँ', जाहेरीमा उल्लेख छ । 

उक्त कसूरमा सहकारी ऐन दफा १२२ को उपदफा (ख), संगठित अपराध निवारण ऐन २०७० र मुलुकी अपराध संहिता २०७४ को दफा २४९ आकर्षित हुने भएकाले निजहरुलाई तत्काल पक्राउ गरी हदैसम्मको कैद सजाय हुन तथा पीडितको रकम फिर्ता गराउन जाहेरीमा माग गरिएको छ । 

स्वर्णलक्ष्मी सहकारीबाट जिबी र रविले ‘सवारी कर्जा’ शीर्षकमा दुई पटक रकम लिएका थिए । ०७८ वैशाख ९ गते गोर्खा मिडिया नेटवर्क प्रालिका नाममा चारपांग्रे सवारी खरिदका लागि ४६ लाख ४८ हजार रूपैयाँँ कर्जा लिएका उनीहरूले ०७८ साउन ५ गते पुनः सोही नाममा ४६ लाख ९८ हजार रूपैयाँँ लिएको भौचर सार्वजनिक भएको थियो । 

यसअघि पोखराको सूर्यदर्शन सहकारी ठगीमा पनि गृहमन्त्री रविविरुद्ध प्रहरीमा जाहेरी परेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीमा दर्ता भएको पूरक जाहेरीमा उनको नाम पहिलो नम्बरमा रहेको छ ।
 

टिप्पणीहरू