पानी आउन छाडेर प्याकप्याक

पानी आउन छाडेर प्याकप्याक

मध्य वर्षात हुने जेठ र असारमा चैत–वैशाखको चर्काे घामजस्तो गर्मी बढेपछि पानीका मुहान सुक्न थालेका छन् । खेतीपाती डढेर नष्ट भएको छ । चर्काे घामको दर्के पानी भन्ने उखान लागू भई पानीले ध्वस्त बनाउला भन्ने त्रास कायमै छ । पानीबिना नागरिक मर्छन् कि ? भन्ने पिरलो पर्न थालेको छ । 

मौसम तथा जलवायु परिवर्तनका कारण विश्वमै पानीको संकट बढ्दै छ । पानी पर्ने मौसममा पानी नपर्ने, पानीका श्रोत सुक्ने, जमिनभित्र खनिएका मुहानबाट पानी आउन छाड्ने, खेतीपातीमा समेत संकट हुने, चरम भोकमरीको समस्या भोग्नु पर्ने, पशु पाल्न नसक्ने अवस्थामा नेपाली पुग्न थालेको तथ्यांकले देखाएको छ ।

काभ्रेपलाञ्चोक जिल्लाका विभिन्न पालिकामा खनिएका केही वर्षअघिका डिप बोरिङहरूबाट शुरुकै अवस्थामा पानी आउन छाडेको छ । अहिले स्थानीय र प्रदेश सरकारको मुख्य कार्य नै डिप बोरिङमार्फत पानीको श्रोत जम्मा गर्ने रहेको छ । संघीय सरकारले एक घर, एक धाराको अवधारणा ल्याएसँगै तीन तहकै सरकारले धारा पुर्‍याउने तर पानीको दीर्घकालीन योजना नबनाउने गरेको सर्वसाधारणले बताएका छन् । खनिनसक्दै डिप बोरिङबाट पानी आउन छाडेको छ । एकै स्थान, एकै वडामा दर्जनौं डिप बोरिङ खनिन थालेका छन् । केही वर्षअघि सामाजिक संघ संस्थाले दातृ निकायको सहयोगमा जिल्लाको भकुण्डे, पाँचखाल, मण्डनदेउपुरलगायत क्षेत्रमा डिप बोरिङ खनेका थिए । पछि बनेपा, धुलिखेललगायत विभिन्न पालिकामा डिप बोरिङ हुन थाले । 

बनेपा नगरपालिकाको मात्रै कुरा गर्ने हो भने साँगा, जनागाल, बुडोल र चण्डेश्वरी क्षेत्रमा दर्जनजस्तै डिप बोरिङहरू खनिएका छन् । तर, कार्की गाउँमा खनिएको केही वर्षअघिको डिप बोरिङबाट गत वर्षभन्दा धेरै कम पानी आउन थालेको उपभोक्ताले बताएका छन् । विस्तारै मुहान सुक्दै जाने, सँगै अन्य डिप बोरिङ खनिने र पानीको श्रोत घट्दै गएको स्थानीयले बताएका छन् । 

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू