महिन्द्रा र टाटा : मन्त्रीहरू कति बाठा !

महिन्द्रा र टाटा : मन्त्रीहरू कति बाठा !

सवारी साधन चोरी बढ्दो छ । अनि चोरीको सवारी साधनमा नम्बर प्लेट फेर्नु नयाँ विषय होइन । त्यस्ता सवारी साधन अपराधिक क्रियाकलापमा प्रयोग हुँदै आएको पनि पाइन्छ । गिरोहले परिवर्तन गरेको नम्बर प्लेट प्रायः अन्य सवारीको नम्बर प्लेटसँग मिल्न जान्छ । 

अपराध गरेपछि सहजै उम्किनका लागि त्यसो गरिएको प्रष्ट छ । त्यसैले त कहिलेकाहीँ एउटै नम्बर प्लेटका दुईटा सवारी साधन गुडिरहेको देखिन्छ । अर्कोतिर नम्बर प्लेटमा झेल भएका सवारी साधन ट्राफिक प्रहरीले बेलाबखत नियन्त्रणमा लिइरहेको हुन्छ । तर,मन्त्रीकै गाडीको नम्बर प्लेट एउटै भएपछि बिचरा ट्राफिकले के गरुन् ? सिंहदरबार र प्रदेशका मन्त्रीले चढ्ने गाडीको नम्बर प्लेट कसरी एउटै हुन सक्छ ? यो आम चासोको विषय हो । 

पार्किङमा राखिएका दुई वटा रातो–नीलो नम्बर प्लेटका जीपको तस्बिर प्रस्तुत छ । मन्त्री र गाडीको मोडल छुट्टाछुट्टै भए पनि नम्बर प्लेट एउटै पाइएपछि प्रश्न उठाउनेको लर्को लाग्ने नै भयो । यी गाडी चढ्ने मन्त्रीको खोजी हुन थालेको छ । यद्यपि,सरोकारवाला निकायलाई नै सो गाडी कुन मन्त्रीको हो भन्ने थाहा छैन । दुवै गाडीको नम्बर प्लेटमा बा.२ झ ३५३२ उल्लेख छ । एउटा गाडी महिन्द्रा कम्पनीको हो भने अर्को टाटाको । 

गाडीको कलरचाहिँ एउटै छ, ‘सिल्भर’ । मन्त्रीहरूले आफू जोगिनका लागि पहिले नै तगडा ‘आइडिया’ निकालेको भन्दै आलोचना भइरहेको छ । एक जना सरकारी अधिकृतले भने,‘हाम्रा मन्त्रीहरू साह्रै बाठा । केही घटना भइहाल्यो भने जोगिनका लागि पहिल्यै तयारी गरेर बसेका छन् । गल्ती भयो भने उम्किन सजिलो हुन्छ नि ! त्यसैले यसो गरिएको हो ।’

एउटाले किच्ने, अर्को फस्ने 

हरेक सवारी साधनको नम्बर प्लेट छुट्टाछुट्टै हुनुपर्छ । दुईवटा सवारी साधनमा एउटै नम्बर प्लेट हालेर चलाउनु कानुनविपरीत हो । मन्त्रीका दुई वटा सवारी साधनले कसरी एउटै नम्बर प्लेट पायो ? यो छानबिनको विषय हो । मन्त्रीकै आग्रहमा त्यो नम्बर प्लेट हालियो कि त्रुटि भएको हो भनेर छानबिन हुनुपर्ने जानकारहरूको माग छ । 

ती दुईमध्ये एउटा नम्बर प्लेट किर्ते रहेको प्रष्टै छ । दोहोरो नम्बर प्लेटका गाडीले ट्राफिकलाई नै अप्ठेरो पर्ने गरेको छ । दुर्घटना भयो भने कसको कठालो समात्न जाने ? यसबाट त दोषी उम्किने र निर्दोष फस्ने सम्भावना धेरै हुन्छ । त्यसैले सरोकारवाला निकायले यसमा कडाइ गर्नुपर्ने देखिएको छ । किर्ते गरेर नम्बर प्लेट राख्नेलाई कारबाही गर्नुपर्ने नागरिक अगुवाहरू बताउँछन् । 

निजी सवारीमा झनै गड्बडी 

निजी सवारी साधनको नम्बर प्लेटमा झन् धेरै गडबडी पाइन्छ । केही समयअघि राजधानीको चाबहिलमा एउटै नम्बर प्लेटको दुईटा सवारी साधन भेटिएको थियो । सो दिन भारी वर्षा भइरहेको थियो । जाम पनि व्यापक थियो । जाम खुल्ने पर्खाइमा रहेका एक व्यक्तिको ध्यान अगाडि रहेको मोटरसाइकलमा गयो । 

दुवै मोटरसाइकलको नम्बर प्लेट एउटै भएपछि उनले फोटो खिची सामाजिक सञ्जालमा हालेका थिए । दुईटै मोटरसाइकलको नम्बर प्लेट बागमती प्रदेश ०२२ प २३८० हो । यता,अर्को सवारी साधनको नम्बर पनि एउटै फेला परेको धेरै भएको छैन । 
सेतो र खैरो रङ्गको भिन्दाभिन्दै मोडलको कारको नम्बर प्लेट एउटै नम्बर बा. १२ च ६७९० थियो । यी त केही उदाहरण मात्र हुन् । एउटै नम्बर प्लेट प्रयोग गर्ने क्रम पछिल्लो समय बढेको छ । तर, सरोकारवाला निकाय यसमा बेखबरझैं छ । 

‘हामीलाई थाहा हुँदैन’

यातायात ब्यवस्था विभागका सूचना अधिकारी ईश्वरीदत्त पनेरु मन्त्रीहरूलाई दिइने नम्बर प्लेटको विषयमा आफूहरुलाई केही जानकारी नहुने बताउँछन् । विभागले इम्बोइस्ड नम्बर प्लेट मात्र हेर्ने उनको भनाइ छ । ‘विभागले इम्बोइस्ड नम्बर प्लेट मात्र हेर्छ, अन्य नम्बर प्लेटको विषयमा हामीलाई केही जानकारी हुँदैन,’ उनले भने ।

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू