बेलायतमा कन्जरभेटिभको कन्तबिजोग

बेलायतमा कन्जरभेटिभको कन्तबिजोग

बेलायती सत्तामा लेबर पार्टीले पुनरागमन गर्ने भएको छ । त्यहाँ सम्पन्न संसदीय निर्वाचनको मतगणना अन्तिम चरणमा पुग्दा लेबर पार्टी स्पष्ट बहुमतसहित ठूलो जिततर्फ अघि बढेको हो ।  

कूल ६५० क्षेत्रमा भएको निर्वाचनमा ६२६ सिटको परिणाम घोषणा हुँदा लेबरले ४०६ सिट पक्का गरिसकेको छ । यो बहुमतका लागि आवश्यक ३२६ भन्दा निकै धेरै हो । यो सँगै सन् २०१० पछि प्रतिपक्षमा पुगेको लेबर पार्टी सत्तामा फर्किने निश्चित भएको छ ।  

यता,प्रधानमन्त्री ऋषि सुनाकको दल कन्जरभेटिभ भने निकै कमजोर देखिएको छ । उसले अहिलेसम्म ११२ सिटमात्रै जितेको छ । त्यस्तै, लिबरल डेमोक्रेटिक पार्टीलाई ६६ सिट मिलेको छ । पहिलो पटक संसदमा उपस्थिति जनाउन लागेको रिफर्म युकेले ४ सिट जितेको छ ।

स्कटिश नेशनल पार्टीले पनि अनपेक्षित परिणाम पाएको छ । अघिल्लो निर्वाचनमा जितेको ३७ सिट गुमाएको स्कटिस ८ सिटमा खुम्चिएको छ । लेबर पार्टीले अघिल्लो निर्वाचनमा भन्दा २१० सिट बढी जित हात पार्दा कन्जरभेटिभले २४५ सिट गुमाएको छ ।   

लेबर पार्टीका नेता कियर स्टारमर बेलायतको नयाँ प्रधानमन्त्री बन्ने सम्भावना छ । निर्वाचनको प्रारम्भिक परिणाम सार्वजनिक भएलगत्तै उनले सामाजिक सञ्जालबाट मतदातालाई धन्यवाद दिएका छन्  ।

टिप्पणीहरू