पराजयपछि बेलायती प्रधानमन्त्रीमाथि अनेकौं आरोप

पराजयपछि बेलायती प्रधानमन्त्रीमाथि अनेकौं आरोप
सुन्नुहोस्

२५ अक्टोबर, २०२२ अर्थात् बेलायतको प्रधानमन्त्री बनेपछि ऋषि सुनकले टेन डाउनिङ स्ट्रीट (सरकारी निवास) मा कदम राखेको पहिलो दिन । त्यतिबेला प्रधानमन्त्री कार्यालयमा प्रवेश गर्दैगर्दा उनलाई बधाई दिन गेटमा हजारौँ समर्थकको भीड लागेको थियो । तर, आज ६२० दिनपछि सुनकप्रति तीनै समर्थकहरुको चर्को विरोध छ । 

हिजो सम्पन्न संसदीय निर्वाचनमा कन्जरभेटिभ पार्टीले लज्जास्पद परिणाम निकालेपछि देशभरका कार्यकर्ता र समर्थकहरुले सुनकमाथि आक्रोश पोख्न थालेका छन् । पार्टीभित्रै उनको कमजोर नेतृत्व, आप्रवासीहरुको मुद्दा, आर्थिक अनिमितता लगायतका विषयलाई लिएर अनेकौं प्रश्न तेर्सिएका छन् ।  

६५० सिटका लागि भएको निर्वाचनको सम्पूर्ण परिणाम सार्वजनिक भइसक्दा लेबर पार्टी अग्रपंक्तिमा छ । उसले ४१२ सिट जित्दा सुनकको कन्जरभेटिभ पार्टीले १२० मा चित्त बुझाउन परेको छ । जबकी अघिल्लो चुनावमा कन्जरभेटिभले ३६४ सिट जितेको थियो । 

कन्जरभेटिभको यो हारसँगै सुनकले प्रधानमन्त्री पदबाट हात धुनुपर्ने अवस्था आएको हो । लेबर पार्टी १४ वर्षपछि नेता कियर स्टार्मर प्रधानमन्त्रीसँगै सत्तामा फर्किंदै छ ।

देशभर पार्टीले उत्साहजनक नतिजा निकालेपछि स्टार्मरले मतदाताहरुलाई धन्यवाद दिँदै प्रधानमन्त्री बनेर राम्रो काम गर्ने उद्घोष गरिसकेका छन् । उनले भनेका छन्, ‘हामीलाई विश्वास गरेर साथ दिनुहुने सम्पूर्ण मतदातालाई हृदयदेखि प्रेम । हामीलाई मत नदिनेहरुसँग पनि हाम्रो कुनै गुनासो रहने छैन, तपाईंहरुको लागि पनि हामीले राम्रो योजना ल्याउनेछौं ।’ 

स्टार्मरको नेतृत्वमा लेबर पार्टीको यो ऐतिहासिक जीत हो । सन् २००७ देखि सन् २०१० सम्म गोर्डोन ब्राउन लेबरबाट प्रधानमन्त्री थिए । त्यसयता सँधै प्रतिपक्षमा रहँदै आएको थियो । 

उता प्रधानमन्त्री सुनकले कन्जरभेटिभ पार्टीले व्यहोरेको लज्जास्पद हारको जिम्मेवारी आफूले लिने बताएका छन् । सबै गल्ती आफ्नो भएको जनाउँदै उनले समर्थकहरुसँग क्षमा पनि मागेका छन् । ‘चुनावमा लेबर पार्टीले जित्यो, मैले कियर स्टार्मरलाई जितका लागि बधाई दिइसकेँ’, सुनकले भनेका छन्, ‘म मेरो कार्यकर्ता र समर्थकहरुसँग माफी माग्दै यो हार जिम्मा लिन चाहन्छु । मैले धेरै कुरा सिकेको छु ।’ 

सुनकको कन्जरभेटिभ पार्टीले नमिठो हार व्यहारेपछि यसका कारणबारे अन्तराष्टिय मिडियामा चर्चा हुन थालेको छ । जसमध्ये केही मुख्य कारण यस्तो रहेको बताइन्छ ः 

सरकारी सम्पतिमा विलाशी जीवनशैली

सन् २०२३ को जुलाईमा प्रधानमन्त्री सुनकले स्कटल्याण्ड भ्रमण गरेर फर्केपछि बिबिसीलाई दिएको एउटा अन्तर्वार्तामा तनावपूर्ण अवस्था सिर्जना भयो । प्रस्तोताले सोधेकी थिइन्, ‘तपाई क्लाइमेट चेन्चको मुद्दा उठाइरहनु हुन्छ, अनि आफैँ छोटो दूरीको लागि पनि फ्लाइट प्रयोग गर्नुहुन्छ, यसबाट पनि कार्बन उत्सर्जन हुन्छ नि हैन ?’

सुनकले रिसाउँदै जवाफ दिए, ‘तपाईले यो प्रश्न गर्नुको साटो आफैँ उत्तर खोज्नुस् न ।’ यस्तो अस्वाभाविक हाउभाउ र जवाफले उनलाई विवादमा तान्यो । त्यसअघि पनि उनीमाथि छोटो दूरीमा सरकारी खर्चमा हेलिकोप्टर र जहाज अत्याधिक प्रयोग गरेको आरोप लाग्दै आएको थियो । 

बिदा मनाउन एक हप्तामै राज्यको ढुकुटीबाट आठ लाख पाउन्ड खर्च गरेको, प्रधानमन्त्री कार्यालयमा कफी पिउनको लागि २० हजार पाउन्डको कप किनेकोजस्ता आर्थिक पारदर्शितासँग सम्बन्धित अनेक प्रश्नले सुनक विवादमा मुछिए । 

यी र यस्ता कारणले प्रधानमन्त्री सुनकको क्रेज घट्दै गएको र मतदाताले लेबर पार्टीलाई मत हालेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । 

आर्थिक अनियमितताको आरोप 

सन् २०२० मा कोभिड महामारीका कारण जनता समस्यामा थिए । महंगी बढिरहेको थियो, तर आम्दानीका स्रोतहरु घटिरहेका थिए । त्यसबखत सुनक वित्त मन्त्री थिए । 

कोभिड महामारीलाई रोक्न र राहत वितरणसम्बन्धी योजनाका लागि बजेट छुट्याउने मुख्य हात सुनककै थियो । त्यसको लागि उनले २८० बिलियन पाउन्ड छुट्ट्याए । तर, उक्त बजेटको ठूलो हिस्सा आफूलाई लाभ हुने ठाउँमा मात्र पुर्याएको उनीमाथि आरोप लाग्यो ।

पछि सन् २०२२ मा प्रधानमन्त्री भएपछि पनि सैन्य बजेट र अन्य कर्मचारको बजेटसम्बन्धीमा नीतिमा पनि प्रभाव पार्दै अनियमितता गरेको आरोप लाग्यो । यसले सुनाकको साख गिराउन ठूलो भूमिका खेलेको मानिन्छ । 

सरकारमाथि अनावश्यक ऋणको बोझ 

रुस–युक्रेन युद्धका कारण युरोपियन देशहरुले रुसबाट तेर र ग्यास खरिद गर्न बन्द गरे । फलस्वरुप, बेलायतमा ग्यास र तेलको मूल्यले आकाश छोयो । समान्य समयभन्दा महंगीदर ह्वात्तै पाँच प्रतिशतले बढ्यो । जबकि, जनताको आम्दानीमा भने वृद्धि भएको थिएन । 

यी समस्याहरुसँग जुध्न सुनक नेतृत्वको सरकारले केन्द्रीय बैंकबाट ४०० बिलियन पाउन्ड ऋण लियो र खर्च गर्यो । यसले महंगी दर केही कम त भयो, तर ऋणको ब्याज चर्को थियो । जसको अप्रत्यक्ष मार जनतालाई पर्यो । 

ऋण तिर्न वार्षिक रुपमा ४० बिलियन पाउन्ड खर्च गर्दै आएको सरकारमा प्रधानमन्त्री सुनकको निर्णयले वार्षिक १०० पाउन्ड खर्च गर्नुपर्ने अवस्था आयो । सुनकको निर्णयले देशको अर्थतन्त्रलाई क्षणिक चलायमान बनाए पनि दीर्घकालीन रुपमा जोखिम पारेको आरोप लाग्यो । 

आप्रवासीको मुद्दा 

प्रधानमन्त्री सुनकमाथि आप्रवासीहरुको मुद्दालाई सम्बोधन गर्न नसकेको आरोप पनि लाग्यो । अवैध आप्रवासीहरुलाई भित्राउने सजिलो नीति बनाउँदा आफूहरू अफ्ठ्यारोमा परेको बेलायतीहरुको गुनासो थियो । त्यसैमाथि दोहोरो नागरिकताको विषयले पनि सुनक विवादमा तानिए । 

उनी भारतीय मूलका बेलायती हुन् । विपक्षी दलहरुले सुनकमाथि भारतीय नागरिकता नत्यागेको प्रचार गरे, जसमा उनले चित्तबुझ्दो जवाफ दिन सकेनन् । अहिले पनि नागरिकता विवादले पूर्णविराम पाएको छैन । 

पार्टीभित्रको आन्तरिक कलह

अन्य पार्टीभन्दा कन्जरभेटिभमा धेरै गुट बनेको जनताको बुझाइ छ । खासगरी सिनियर नेताहरु माइकल गोव, आंडे लिडसम, बेन वालेस, डोमिनिक राव लगायतले छुट्टा–छुट्टै गुट बनाएको कुराले जनतामा नकारात्मक सन्देश प्रवाह भयो, जसलाई सुनकले सन्तुलित बनाउन सकेनन् । 

उनले सरकारका विभिन्न निकायहरुमा योग्य मान्छेभन्दा पनि आफ्नै पार्टीका नेताहरुलाई मिलाउन फरक–फरक गुटका कार्यकर्तालाई जागिर खुवाएको आरोप लाग्यो । यसले पनि जनतामा सुनकप्रति नकारात्मक प्रभाव परेको देखिन्छ । 

सरकारको कामभन्दा घर–गाडीमा ध्यान

प्रधानमन्त्री सुनकमाथि लागेको अर्को आरोप यो हो– उनले अधिकांश समय सरकारको कामकाजलाई भन्दा आफ्नो नयाँ घर र गाडी किन्नमा खर्चिए । यसमा सुनककी पत्नी अक्षता मूर्ति पनि विवादमा छिन् । 

सुनक दम्पतीसँग सेन्ट्रल लण्डनमा ६६ करोडको घर, साउथ केसिंग्टनस्थित सामुद्रिक टापुमा अपार्टमेन्ट, सेन्ट मोनिका आइल्याण्डमा ५९ करोडको बंगला र विभिन्न शहरमा महंगा अपार्टमेन्ट छन् । सुनकले नीजि तवरले एक दर्जन कार किनेका छन् । 

हुन त, सुनककी पत्नी अक्षता पनि एक आइटी व्यवसायी हुन् । तर, उनले श्रीमानको नाम बेचेर अस्वाभाविक सम्पति जोडेको आरोप लाग्ने गरेको छ । अहिले सुनक र अक्षताको कुल सम्पति ६८ हजार करोड पुगेको छ । 

सम्पतिको विषयलाई लिएर पनि सुनकमाथि विपक्षी दलहरुले विभिन्न आरोप लगाउने मौका पाए । लेबर पार्टीले चुनावी प्रचारको अभियानको क्रममा अवैध सम्पतिको मुद्दालाई पहिलो प्राथमिकतामा राखेको थियो, जसको प्रत्यक्ष शिकार बने सुनक र उनकी पत्नी । 

लेबर पार्टीले सुनकपत्नी अक्षतामाथि कर छलेको आरोप पनि लगाएको थियो । यहाँसम्म कि, कतिपयले त उनलाई ‘ब्रिटेनकी बिल गेट्स’को ट्यागसमेत दिएका छन् ।

टिप्पणीहरू