३८ हजारको एकै चिहान इजरायली हवाई आक्रमणमा

३८ हजारको एकै चिहान  इजरायली हवाई आक्रमणमा
सुन्नुहोस्

अक्टोबर ७ देखि ‘गाजामा मारिने प्यालेस्टिनी’हरूको संख्या ३८ हजार नाघेको छ। त्यस्तै, ८७ हजारभन्दा बढी घाइते भएका छन् । अधिकांश प्यालेस्टिनीले ‘बाँचुन्जेली याद गर्ने चोट’हरू बोकेका छन् ।

गाजा त्यसै पनि सुरक्षित छैन । उनीहरू जहाँ पुगे पनि ‘मृत्यु नै मृत्यु’ भेट्छन्। गाजामा प्यालेस्टिनीहरूले भोगिरहेको डरलाग्दो परिस्थितिलाई शब्द वा वाक्यमा वर्णन सकिँदैन । त्यहाँ मानिसहरू आनन्दले बाँचिरहेका छैनन्,बरु ‘मुश्किलले बाँचिरहेका’ छन्।

गाजाका बहुसंख्यक मानिसलाई खाना,पानी, औषधिसहित जीवनका आधारभूत कुराहरूको अभाव छ । शौचालयको लागि आफ्नो पाल नजिकै खाडल खन्ने चलन बढ्दै गएको छ । गाजाका अस्पतालहरू अस्पतालजस्ता छैनन्,मूर्दा घरजस्तै लाग्छन् । जताततै शवको थुप्रो छ । हवाई आक्रमण तीव्र छ,चारैतिर रुवाबासी छ । स्वास्थ्य सेवा प्रणाली ध्वस्त भएपछि हेपाटाइटिस ‘ए’लगायतका रोगहरूको संक्रमण बढ्दो छ ।

गाजाका अस्पताल घाइतेहरूले भरिएका छन् । भर्ना भएकामध्ये धेरैजसो बालबालिका छन् । उनीहरू अंगभंग भएका छन् । गाजामा बस्नेहरू कोही पनि ठीकठाक छैनन् । बारम्बार विस्थापनको मार भोग्दैछन् । प्रियजनहरू गुमाउँदा पनि बलियो र लचिलो भएर बाँचिरहेका छन् ।

युद्धले तहसनहस बनाएको छ । मानिसहरू सात पटक विस्थापित भइसकेका छन् । इजरायली बमले ध्वस्त पार्दा पनि मन दह्रो बनाएका छन् ।

गाजाको आधा जनसंख्या बालबालिका छन् । अक्टोबर ७ देखि हजारौं नानीबाबु मारिएका छन्। त्यस्तै हजारौं घाइते छन् । तीमध्ये धेरैले द्वन्द्वको कारण शारीरिक र मानसिक घाउ सदाको लागि बोक्नेछन् ।

आश्रयस्थलको अवस्था दयनीय छ । प्यालेस्टिनीहरूको लागि पिउन योग्य पानी छैन । गाजामा आधा पानी र सरसफाइ सुविधा द्वन्द्वको समयमा क्षतिग्रस्त वा नष्ट भएका छन् । वितरण केन्द्रमा पुग्न घण्टौँ हिँड्नुपर्छ ।

गाजाको भाग्य र यहाँका जनताको जीवन अनिश्चित छ । तैपनि सहायता कार्यकर्ताहरू असम्भव परिस्थितिहरूमा पनि दिनदिनै बाधाविरुद्ध काम गरिरहेका छन् ।

 

टिप्पणीहरू