बेलायतमा भूतपूर्व प्रधानमन्त्री र एक दर्जन मन्त्रीको बिजोग

बेलायतमा भूतपूर्व प्रधानमन्त्री र एक दर्जन मन्त्रीको बिजोग
सुन्नुहोस्

बेलायतमा हिजो सम्पन्न आमनिर्वाचनमा पहिलेको चुनावमा भन्दा ८ प्रतिशत कम मतदान भएको छ । यो भनेको विगतको ६८ प्रतिशतबाट झरेर ६० मा सीमित भएको हो ।

खसेको मतमध्ये लेबर पार्टीले ३५ प्रतिशत र सत्तारुढ कन्जरभेटिभले २४ प्रतिशत प्राप्त गरेका छन् । अन्य दलहरुमध्ये रिफर्म १५ प्रतिशत,लिबरल डेमोक्र्याटिकले १३ प्रतिशत र ग्रीनले ७ प्रतिशत मत प्राप्त गरेका छन् ।

पछिल्लो निर्वाचनमा भन्दा लेबरले २ प्रतिशत मत बढी ल्याएको छ भने कन्जरभेटिभको २० ले ओरालो लागेको देखिन्छ । लिबरल डेमोक्र्याटिकले १ प्रतिशत मत मात्र थपेको छ  । उता रिफर्मले १३ प्रतिशत बढाएको छ । 

सरकार बनाउन ३२६ सिट भए पुग्नेमा दुई क्षेत्रको परिणाम आउन बाँकी छँदा लेबर पार्टी ४१२ सीटमा विजयी भइसकेको छ । प्रधानमन्त्री ऋषि सुनाकले केही बेरअघि राजासमक्ष राजीनामा बुझाएका छन् । 

आजै लेबर पार्टीका सर कियर स्टार्मर बेलायतको नयाँ प्रधानमन्त्री हुँदैछन् । ऋषि भने सांसद निर्वाचित भएका छन् । यसअघिकी प्रधानमन्त्री लिज ट्रस छ सय तीस मतले पराजित भएको जनाइएको छ । 

बेलायती इतिहासमा सन् १९९७ को निर्वाचनमा सात जना बहालरत मन्त्रीहरू पराजित भएका थिए । यस पटक १२ जना मन्त्री हारेका छन् ।

टिप्पणीहरू