आफ्नै भवन अलपत्र पारेर बैंकको कार्यालय भाडामा

आफ्नै भवन अलपत्र पारेर  बैंकको कार्यालय भाडामा

नमस्कार शाह

सरकारी सम्पत्ति दोहन र दुरुपयोगको प्रवृत्ति बढेको छ । एकातिर सरकारी सम्पत्तिको संरक्षण र सम्बद्र्धनको अभाव देखिन्छ भने अर्कोतर्फ त्यस्ता सम्पत्ति अलपत्र पारिएको छ । 

राष्ट्रिय वाणिज्य बैंकको नाममा नेपालगञ्जमा दुई वटा विशाल भवन छन् । हालसम्म प्रयोगमा नल्याइएका कारण ती भवनको सट्टा बैंकको नेपालगञ्ज शाखालाई भाडा तिरेर अर्कै घरमा राखिएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १० आदर्शनगरस्थित बैंकको आफ्नै स्वामित्वमा रहेको एउटा भवन छ । सदरलाईनमा रहेको अर्काे भवन भुत बंगला र खण्डहरको रुपमा परिणत भएको छ ।

सरकारी स्वामित्वको बैैंकको नाममा रहेका दुई मध्येको एक आदर्शनगरस्थित भवनमा स्थापनाकालमा नेपाल औद्योगिक विकास निगमको कार्यालय थियो । उक्त निगम कालान्तरमा वाणिज्य बैंकमा गाभिएपछि सबै सम्पत्ति राष्ट्रिय वाणिज्य बैंकको भएको हो ।
संकटकालमा माओवादीको बम प्रहारपछि क्षतिग्रस्त उक्त भवन मर्मत सम्भारको अभावमा जीर्ण बनेको छ । मूल सडकमा रहेको विशाल भवन अलपत्र अवस्थामा राखेर भाडाको घरमा शाखा सञ्चालन गर्नुको औचित्य खुल्न नसकेको हो । दुई तले दुईवटा भवनको आठ वटा कोठासँगै भवन परिसर घाँसले पुरिएको छ ।

भवन नजिकैका स्थानीय विपिन घिमिरे राष्ट्रिय वाणिज्य बैंक बहालको सट्टा उक्त भवनलाई जिर्णोद्धार गरेर बस्दा यो भवन र संस्था दुबैले न्याय पाउने बताउँछन् ।

कोभिड महामारीको समयमा त्यहाँ नेपालगञ्ज उपमहानगरपालिकाले आईसोलेसन कक्ष बनाएर कोभिडका बिरामीहरुलाई उपचार गरेको थियो । त्यसपछि कुनै प्रयोजनमा आएको देखिँदैन ।  

भवनको झ्याल ढोका भाँच्चिएका छन् भने सिसाहरु फुटेका छन् । फर्निचर र पुराना मोटरसाइकलहरुको अवस्था दयनीय बन्दै गएको छ । पछिल्लो एक वर्षदेखि उक्त भवनको लागि रेखदेखमा खटिएका सुरक्षाकर्मी शिवप्रसाद थारुका अनुसार, उक्त स्थल नशासेवन गर्नेहरुको थलो बन्दै गएको छ ।

अलपत्र सरकारी भवनको बारेमा बैंकको क्षेत्रीय कार्यालय नेपालगञ्जका प्रतिनिधि गोपाल श्रेष्ठ भन्छन्, ‘तत्काल उक्त भवन के गर्ने भन्नेबारेमा केन्द्रबाट केही निर्णय आएको छैन । त्यसैले थप केही भन्न सकिँदैन ।’

टिप्पणीहरू