चिनियाँ राष्ट्रपति तथा कम्युनिष्ट पार्टीका महासचिव सि चिनफिङ र उहाँकी श्रीमती फङ्ग लियुआनका केही ऐतिहासिक फोटो सार्वजनिक गरिएको छ । चिनियाँ प्रेम दिवस (भ्यालेन्टाइन्स डे) को अवसरमा चाइना डेलीको अनलाइन संस्करणले यससम्बन्धी समाचार प्रकाशित गरेको छ ।
हिजो चीनमा मनाईएको छिसी चाडलाई भ्यालेन्टाइन्स डे अर्थात प्रेम दिवस भनिन्छ । सो अवसरमा राष्ट्रपति दम्पत्तिको प्रेम कहानी झल्किने फोटोसहित समाचार प्रकाशित गरिएको छ ।

उहाँहरुको विवाह सन् १९८७ को सेप्टेम्बरमा भएको थियो । परम्परागत विवाहको सट्टा उहाँहरुले सिमित मित्रबीच सामान्य डिनरको आयोजना गरेर प्रेमलाई विवाहमा परिणत गर्नुभएको थियो ।
सि राजनीतिमा पूर्णकालीन कार्यकर्ता र फङ कलाकार भएकाले लामो समयसम्म टाढा रहनुभयो । तर प्रगाढ समझदारीले प्रेम भने झन् झाँगिन पुग्यो । एउटा सन्दर्भ उल्लेख गर्दै चाइना डेली लेख्छ, ‘बसन्त चाडमा श्रीमती फङ व्यस्त भइरहँदा सि डम्पलिंग (एक किसिमको ममः) बनाएर राति अबेरसम्म डिनरको लागि पर्खनुहुन्थ्यो ।’

फुच्यान प्रान्तको पार्टी काममा सक्रिय रहँदा फङले सिको निम्ति कठ्याँग्रिदो हिउँदमा न्यानो ब्लाङ्केट किनेर पठाइदिनुहुन्थ्यो । त्यतिबेला सिले भन्नुभएको थियो,‘मसँग खुशी परिवार छ । म र मेरी श्रीमतीको आफ्नै खालको करियर भए पनि परिवारका लागि मिलेर काम गरिरहेका छौं ।’
पछिल्लो समय उहाँहरुलाई विश्वका विभिन्न मञ्चमा हात समातेर उभिएको पाउँछौं । विभिन्न अवसरमा दुबैजनाले मेल खाने एकैनासको पोशाक लगाएको देखिन्छ । वर्तमान विश्वमा सि र फङको प्रेमजोडीलाई अद्वितीय मानिन्छ ।’