उच्चका श्रीमानहरु यताउता, सर्वोच्चमा दुईजना लगिँदै

उच्चका श्रीमानहरु यताउता, सर्वोच्चमा दुईजना लगिँदै

उच्च अदालतका १४ जना न्यायाधीश सरुवा भएका छन् । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा आज बसेको न्याय परिषद् बैठकले न्यायाधीश सरुवाको सिफारिस गरेको छ । उच्च अदालत जनकपुर, राजविराज इजलासका हरिप्रसाद भण्डारी र धीरबहादुर चन्दलाई उच्च अदालत विराटनगर, ओखलढुंगा इजलास सरुवा गरिएको छ ।

ओखलढुंगा इजलासका न्यायाधीश नातिबाबु लामिछानेलाई उच्च अदालत पोखरा, बाग्लुङ इजलास पठाइने भएको छ । उच्च अदालत तुल्सीपुर, बुटवल इजलासका सुभास पौडेल र सोमकान्त मैनाली क्रमशः नेपालगञ्ज इजलास र तुल्सीपुर सरुवा भएका छन् । नेपालगञ्ज इजलासका श्यामजी प्रधान उच्च अदालत सुर्खेत, जुम्ला इजलास जाने सूचीमा परेका छन् । 

उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलासमा कार्यरत किरणकुमारी गुप्तालाई बुटवल इजलास पठाइने छ भने उच्च अदालत जनकपुर, राजविराज इजलासका राधाकृष्ण उप्रेती उच्च अदालत पाटन आउने छन् । त्यस्तै, उच्च अदालत दिपायल, महेन्द्रनगर इजलासका कविप्रसाद न्यौपानेको पनि पाटन सरुवा भएको छ । 

त्यसैगरी, उच्च अदालत विराटनगर, धनकुटा इजलासका सुशील कोइरालालाई राजविराज इजलास सरुवा गर्ने निर्णय भएको छ । उच्च अदालत तुल्सीपुरका अच्युतमकुमार आचार्यको पनि राजविराज इजलास सरुवा भएको छ ।

बुटवल इजलासका विष्णुप्रसाद अर्याल उच्च अदालत विराटनगर र उच्च अदालत जनकपुरका नरबहादुर खड्कालाई तुल्सीपुर तोकिएको छ । ओखलढुंगा इजलासकी सरला मोक्तान राजविराज सरुवा भएकी छन् । 

न्याय परिषद बैठकले सर्वोच्च अदालतमा दुइ जना न्यायाधीश पनि सिफारिस गरेको छ । उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश नित्यानन्द पाण्डे सर्वोच्चको न्यायाधीश सिफारिस भएका हुन् ।

टिप्पणीहरू