प्रतिमा फुत्त नेपालमा प्रकट
हङकङबाट आएकी भारतीय राहदानीवाहक एक महिलालाई रातारात नेपाली नागरिक बनाएर स्वदेश छिराइएको छ । प्रसंग हो गत शनिवार रातिकोे । यु ९२३८९५९ नम्बरको राहदानीवाहक एक महिला क्याथे प्यासिफिकको उडानबाट काठमाडौँ आइपुगेकी थिइन्, राति आठ बजे ।
कोलकाताबाट जारी भएको राहदानी बोकी काठमाडौँ भित्रिएकी चम्पाश्री वेष्ट बंगालकी प्रतिमा लिम्बूको राहदानी हेर्दा इन्टरपोलमा हिट देखिएपछि अध्यागमनमा हल्लीखल्ली मच्चियो । तत्काल प्रहरीको इन्टरपोल लगाएर थुनियो । एक रात थुनेपछि विषयवस्तु पूरै यूटर्न भयो । टिआइएले उनलाई सम्बन्धित मुलुकमै फिर्ता गर्नका लागि पत्राचार गर्यो । नेपाल प्रहरीका उनी हङकङ फर्किसकिन् भन्दै छ तर उक्त समय अध्यागमनमा खटिएका केही अधिकृतको मिलेमतोमा उनलाई नेपाली नागरिक बनाएर नेपाल भित्र्याएको बताइएको छ । इन्टरपोलमा हिट देखिएपछि जहाँ र जुन मुलुकबाट आएको हो त्यहीँ फिर्ता गर्नुपर्ने थियो । तर, प्रहरीलाई गुमराहमा पारेर प्रभावमा पारेर उनलाई नेपाल भित्र्याइएको हो ।
हङकङमा इण्डियनलाई अनअराइभल भिसा दिइन्छ । यसर्थ प्रतिमा लिम्बूले कोलकताको त्यही नाम भएकी कसैको पासपोर्ट किनेर तीन वर्ष हङकङ बसिन् । ट्राभल हिस्ट्री हेर्दा तारन्तार भारत–हङकङ आउजाउ गरेको देखिन्छ । यही बीच जोबाट प्रतिमाले पासपोर्ट खरिद गरेकी थिइन् तिनले अर्काे बनाइन् र पुरानोको विवरण हराएको सूचनामा हालियो ।
त्यही रेकर्ड इन्टरपोलमा गयो । यो कुरामा अञ्जान प्रतिमा नेपाल आउँदा इन्टरपोलको हिट लिष्टमा देखिएर थुनिइन् तर राजनीतिक दबाबमा उनलाई नेपाल छिराइयो । उनलाई नेपालमै राख्न एमालेका नेता तथा कोशी प्रदेशका पूर्व मुख्यमन्त्री शेरधन राई, पूर्वमन्त्री तथा माओवादी नेता सुदन किराँतीलगायत जनजाति नेताले अध्यागमन कार्यालयलाई दबाब दिएको बुझिएको छ । अब प्रश्न उठ्छ, भारतीय राहदानी बोक्ने मान्छे कसरी नेपाली हुन्छ ? यदि नेपाली हो भने कसरी कोलकाताको राहदानीवाहक भयो ? राजनीतिक दबाब आयो भन्दैमा कर्मचारीले जे पनि गर्ने ? यो विषयले अहिले अध्यागमन तातेको छ । यो विषयमा अध्यागमनका कर्मचारीसँग जिज्ञासा राख्दा उनीहरूले प्रतिमालाई हङकङ डिपोर्ट गरिएको जवाफ फर्काए । यदि, उतै फर्काइएको हो भने काठमाडौंबाट हङकङ गएको टिकट माग्दा उपलव्ध गराउन सकेका छैनन् । यहीँबाट स्पष्ट हुन्छ, हाम्रो अध्यागमनको लापरवाही ।
(साभार:जनआस्था साप्ताहिकबाट)
टिप्पणीहरू