पर्यटकीय नगरी पोखराको फेवातालमा हुन गइरहेको ‘नेपाल–चीन मैत्रीपूर्ण ड्रागन बोट रेस प्रतियोगिता–२०८१’ को तयारीस्वरुप पूर्वाभ्यास गरिएको छ ।
फेवातालमा आउँदो पुस १४ र १५ गते हुन लागेको उक्त फेस्टिभलमा सहभागी टोलीहरु अहिले पूर्वाभ्यासमा व्यस्त छन् । गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, नेपालस्थित चिनियाँ दूतावास, नेपाल पर्यटन बोर्डको संयुक्त आयोजना तथा नेपाल ड्रागन बोट एशोसिएशन, पोखरा पर्यटन परिषद् र पोखरा ओभरसिज चाइनिज एशोसिएशनको सह–आयोजनामा दोस्रो संस्करणको प्रतियोगिता हुन लागेको हो ।
पुस १५ गतेसम्म चल्ने प्रतियोगितामा नेपालका ११, चीनका आठ, सिंगापुरका एक गरी २० समूहको सहभागिता रहने आयोजकले जनाएको छ । विजेता समूहले पाँच हजार डलर (६ लाख ७९ हजार रुपैयाँ), उपविजेताले दुई हजार डलर (दुई लाख २१ हजार रुपैयाँ), तृतीयले एक हजार दुई सय डलर (एक लाख ६३ हजार रुपैयाँ) पुरस्कार पाउनेछन् ।
त्यसैगरी, सहभागी बाँकी १७ वटा समूहलाई पाँच सय डलर (६८ हजार रुपैयाँ) प्रदान गरिनेछ । चीनमा अत्यन्त लोकप्रिय ड्रागन बोट रेस प्रतियोगिता गत वर्षदेखि पोखरामा आयोजना गर्न थालिएको हो ।
तस्बिरहरु





