रात छिप्पिएपछि एटीएम मेशिन फुटाउन तल्लिन

रात छिप्पिएपछि एटीएम मेशिन फुटाउन तल्लिन
सुन्नुहोस्

केही दिनअघि काठमाडौंको थापागाउँस्थित एनआईसी एसिया बैंकको एटीएम मेसिन फुटाउने प्रयास भयो । मध्यरात ११ बजेको समयमा एटीएम फुटाएर चोरीको प्रयास गरिएको थियो । तर, प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको टोलीले तत्काल पुगेर मेसिन फुटाइरहेका व्यक्तिलाई पक्राउ गरेको बताइन्छ ।  

गत साउनमा बालाजु चोकमा रहेको माछापुच्छ्रे बैंकको एटीएम बुथमा पनि तोडफोडको प्रयास भएको थियो । फलामे रडको सहयोगमा एटीएम मेसिन फोड्दै गरेको अवस्थामा कलंकी बस्ने रौतहटका १८ वर्षीय राधेश्याम बैठा समातिएका हुन् । त्यसको केही दिनअघि मात्रै बूढानीलकण्ठ नगरपालिका–३, रुद्रेश्वर चोकस्थित माछापुच्छ्रे बैंककै एटीएम मेसिन फुटाइयो । एटीएम तोडफोड गरेर भाग्दै गरेको अवस्थामा नुवाकोटका दुई युवक पक्राउ परेका थिए । किस्पाङ गाउँपालिका–१, घर भई बूढानीलकण्ठमा बस्दै आएका ३४ वर्षीय श्यामबहादुर घले र १९ वर्षीय सुजन तामाङ प्रहरी नियन्त्रणमा पुगे । 

असार तेस्रो साता कास्कीको पोखरा महानगरपालिका–५, जिरो किलोमीटरमा पनि एनएमबी बैंकको एटीएम मेसिन तोडफोड गरिरहेका एक युवक समातिए । एटीएम मेसिन फुटाएर रकम चोरी गर्न खोजेका पोखरा–९ बस्ने धादिङका २३ वर्षीय रुपेश नेपालीलाई वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले नियन्त्रणमा लिएको थियो । 

यसअघि २०७९ साउनमा पोखरा–२६, अर्घौचोकमा एनएमबी बैंकको एटीएम फोडेर झण्डै १५ लाख रुपैयाँ चोरि भएको थियो । उक्त घटनामा संलग्न पोखरा–३० का २१ वर्षीय अनिश तामाङ रुपन्देहीबाट समातिए । सोही बेला पोखरा–२७, तालचोक र वडा नम्बर १७ को विरौटास्थित एनआईसी एसिया बैंकको पनि एटीएम फोड्ने प्रयास भएको थियो ।

पोखरा महानगरपालिका कार्यालय परिसरमै रहेको एनआईसी एसिया बैंककै एटीएम मेसिनमा समेत पटकपटक चोरीको प्रयास भइसकेको छ । पर्यटकीय नगरीयका अधिकांश स्थानमा बारम्बार एटीएम मेसिन तोडफोड र चोरीका प्रयास भएको प्रहरीले जनाएको छ ।

गत वर्ष भदौमा भक्तपुरको कमलविनायकस्थित भत्केको पाटीमा रहेको नबिल बैंकको एटीएम मेसिनबाट पनि रकम चोर्ने प्रयास भएको थियो । एटीएम तोडफोड गरेको अवस्थामा दाङको बबई गाउँपालिका–२, का २४ वर्षीय पूर्णबहादुर खासुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

२०७८ चैतमा काठमाडौंको बनस्थलीस्थित एनआईसी एसिया बैंकको एटीएम मेसिन फुटाएको आरोपमा नेपाली सेनाका एक कर्मचारी पक्राउ परे । सेनाको देवीदल गण, कञ्चनपुरमा कार्यरत दिनेश वाइवा मेसिन फुटाउँदै गरेको अवस्थामा प्रहरी नियन्त्रणमा पुगेका थिए । पछिल्ला केही वर्षयता बैंक तथा वित्तीय संस्थाहरुको एटीएम मेसिन तोडफोड गर्ने क्रम बढ्दै गएको यी घटनाक्रमले पुष्टि हुन्छ । 

एटीएम मेसिन फोडेर लाखौं रकम चोरी भएका घटनासमेत छन् । यसबाट एटीएम मेसिनमा भएको रकमको सुरक्षाबारे त गम्भीर प्रश्न उठेसँगै यस्ता घटनाले प्रहरीलाई हैरान बनाएको छ । एटीएम बुथ तोडफोडका धेरैजसो घटना मध्यरातमा हुने गरेका छन् । 

यस कारण प्रहरी रातिसमेत चनाखो अवस्थामा बस्नुपर्ने अवस्था उत्पन्न भएको छ । एटीएम बुथमा सुरक्षागार्ड नहुनु, सेन्ट्रल सर्भिलेन्ससँग नजोडिनु, एटीएम भल्टको कम्बिनेसन र सेकेन्डरी लक नगर्नुलगायत लापरबाहीका कारण पनि यस्ता घटनामा बढोत्तरी भएको विज्ञहरु बताउँछन् । 

एटीएमबाटै रकम चोरीका घटना बढेपछि केही वर्षअघि नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई एटीएम बुथमा अनिवार्य रुपमा सिसिटिभी क्यामरासहित सुरक्षागार्ड राख्न निर्देशन दिएको थियो । तर, त्यस्ता बुथको बीमा हुने भएकाले सुरक्षा सावधानीमा बैंकहरु गम्भीर नबन्दा तोडफोड तथा चोरीका घटना बढेको प्रहरी अधिकारीहरुको निचोड छ ।

‘मेसिन फुटाएपनि पैसा चोरी हुँदैन’

माछापुच्छ्रे विकास बैंकका सीईओ तथा नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइराला एटीएम मेसिन तोडफोड भएपनि रकम चोरी नहुने दाबी गर्छन् । पछिल्लो समय एटीएम बुथ फुटाउने वा तोडफोडका घटना बढेको स्वीकार्दै उनले विशेषगरी मध्यरात वा बिहानीपख (१ बजेदेखि ४ बजेसम्मको अवधिमा) यस्ता घटना हुने गरेको छ । 

उनका अनुसार मेसिनको बाहिरी भाग फुटाउँदैमा रकम निस्कँदैन । तर, मेसिनभित्र अर्को भागमा पैसा राखिने भएकाले चोरीको प्रयास सजिलैसँग सफल नहुने उनको भनाइ छ । अध्यक्ष कोइरालाले भने, ‘बाहिरको मेसिन फुटाएमा पैसा आउँछ भन्ने भानमा विभिन्न हातहतियार तथा औंजार प्रयोग गरेर फुटाउने प्रयास गरिन्छ । जुन मुर्खता हो । मेसिनको भित्र अलग्गै भागमा रकम सुरक्षित रुपमा राखिएको हुन्छ । यसले जतिसुकै प्रयास गरेपनि रकम चोरीको प्रयास सफल हुँदैन ।’

एटीएम बुथमा सिसिटिभी क्यामेराबाट २४ सै घण्टा निगरानी गरिने भएकाले तोडफोड वा फुटाउने प्रयास हुनासाथ प्रहरी तत्काल पुग्दा क्षति नहुने उनको भनाइ छ । अर्कोतर्फ, अहिले हरेक बैंकले एटीएम बुथको बीमा गराएका छन् । जसले गर्दा मेसिन तोडफोड भएपनि बैंकलाई ठूलो नोक्सानी नपर्ने उनी बताउँछन् । ‘सबैजसो बैंकको एटीएम बुथको इन्स्युरेन्स गरिएको छ । यसैले, एटीएम तोडफोड हुँदा बैंकलाई त्यति हानी नोक्सानी पुग्दैन,’ उनले थपे । 

कोइरालाका अनुसार कुलतमा फसेका वा खराब विचार राख्ने युवकहरुले एक–दुई हजार रुपैयाँ चोरी गर्ने उद्देश्यले मेसिन तोडफोड वा फुटाउने प्रयास गर्ने गर्दछन् । ‘यस्तो घटनामा धेरैजसो युवाहरु नै पक्राउ पर्ने गरेका छन् । त्यसमा पनि कुलतमा फसेका, सडकमा भौंतारिएकाहरुले एक–दुई हजार रुपैयाँ चोरी गर्न मेसिन फुटाउने प्रयास गरेको पाइएको छ,’ उनले भने । 

बैंक पनि जिम्मेवार हुनुपर्छः प्रहरी 

एटीएम मेसिन तोडफोडका घटना बढ्दै गएकाले बैंकहरु यसप्रति संवेदनशील रहन आवश्यक रहेको नेपाल प्रहरीले जनाएको छ । केन्द्रीय प्रहरी प्रवक्ता डिआईजी दिनेशकुमार आचार्य एटीएम बुथको सुरक्षामा बैंक आफैं जिम्मेवार र संवेदनशील हुन जरुरी रहेको बताए । 

यसका लागि सुरक्षित स्थानमा एटीएम बुथको स्थापना गर्नुपर्ने, सुरक्षागार्ड खटाउने, सिसिटिभी क्यामराबाट २४ सै घण्टा निगरानी गर्नुपर्नेलगायत विषयमा उनी जोड दिन्छन् । भन्छन्, ‘कतिपय एटीएम बुथ जोखिमपूर्ण वा सुनसान स्थानमा राखिएको पाइन्छ । ती स्थानमा तोडफोड वा चोरीको सम्भावना बढी हुन्छ । त्यसैले, एटीएम बुथ राख्नुअघि ती स्थान सुरक्षित छन् वा छैनन् ? भनेर हेर्नुपर्छ ।’

एटीएम मेसिन फुटाउन थालेको सूचनालगत्तै प्रहरी तत्काल घटनास्थल पुग्ने हुँदा प्रयास सफल नहुने प्रवक्ता आचार्यको दाबी छ । ‘तोडफोडको सूचनालगत्तै प्रहरी टोली खटिहाल्छ । जसले गर्दा अभियुक्त तुरुन्तै पक्राउ पर्नुका साथै एटीएम बुथमाथि पनि धेरै क्षति हुन पाउँदैन,’ उनले भने । यस्ता घटनामा संलग्नमाथि चोरीसम्बन्धी कसुर वा सार्वजनिक सम्पत्ति हानिनोक्सानीसम्बन्धी कसुरमा मुद्दा चलाउने गरिएको छ ।

टिप्पणीहरू