लिभिङ टुगेदरले निम्त्याएका फसादबारे समाजलाई सजग गराउँदाको आपत्
जनआस्था डटकम तथा जनआस्था साप्ताहिकका संवाददाता अजय गोर्खालीविरुद्ध नेपाल पत्रकार महासंघ चितवन र जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको छ । पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष बसन्त पराजुलीबाट आइतबार साँझ फोन गरेर ‘तिम्रो बारेमा महासंघमा उजुरी आएको छ, के कसो भएको हो ?’ भनी सोधनी भएको थियो । जिल्ला प्रहरी कार्यालयबाट पनि अस्ति दिउँसो फोनमा ‘तपाईंबारे निवेदन परेको छ’ भन्दै छलफलका लागि डाकिएको थियो ।
माडी निवासी उमेश साह रौनियारले आफ्नो समाचार लेखेको विषयमा पत्रकार विरुद्ध उजुरबाजुर गरेका हुन् । जनआस्था डटकममा गत माघ २८ गते ‘बाहिरी सम्बन्ध र लिभिङ टुगेदरले निम्त्याएका आपत’ शीर्षकमा समाचार प्रकाशित भएको छ । त्यसमा रौनियार बारेको एउटा घटना पनि उल्लेख छ । उक्त समाचारले आफ्नो चरित्रहत्या भएको उमेशको भनाइ छ ।
बाहिरी सम्बन्ध र लिभिङ टुगेदरले निम्त्याइरहेका आपत् र फसादबारे समाजलाई सजग र सचेत तुल्याउने उद्देश्यले लेखिएको समाचारमा आफ्नो प्रसंग र नाम आयो भनेर पछि कराउनुको के अर्थ ? उक्त कसुरमा उनीमाथि अभद्र व्यवहार मुद्दामा कारबाही चलेकै हो । प्रहरी हिरासतमा १० दिन बसेर धरौटीमा छुटेको उनी आफैं बताउँछन् ।
समाचारमा कहीँ कतै कुनै कुरा चित्त नबुझेको विषयमा खण्डनात्मक हिसाबले आफ्नो कुरा राख्न पाउने कानुनी व्यवस्था छ । उक्त समाचार प्रकाशित भएदेखि नै ‘समाचारमा तपाईंलाई चित्त नबुझेको गलत कुरा र गुनासाहरु छन् भने भन्नुस्, लेखेरै दिनुस्, म मिलाएर राखिदिउँला’ भनेर मैले बारम्बार भनेकै हो । तर उनी मलाई भेट्न आउँछु भन्दाभन्दै उल्टो महासंघ र प्रहरीमा उजुरी गर्न पुगेछन् ।
त्यसो त सञ्चारमाध्यममा प्रकाशित समाचार चित्त नबुझे वा आफूबारे गलत समाचार प्रकाशन भएको खण्डमा प्रेस काउन्सिल नेपाल र अदालतमा समेत जानसक्ने व्यवस्था छ । सामान्यतयाः सञ्चारमाध्यममा समाचार छापिएको सम्बन्धमा प्रहरीमा निवेदन दर्ता गर्नुपर्ने विषय नै होइन ।
टिप्पणीहरू