यताका विद्यार्थी सधैं नै मर्कामा
बाटो बढाइएपनि यातायातमा अचेटिन छोडेनन् यात्रु

बाटो फराकिलो बनाइएपनि सार्वजनिक यातायातमा यात्रुहरु अचेटिन छोडेका छैनन् । भरतपुर, चितवनतिर सडक सञ्जालको विकास–विस्तार राम्रै भएको छ । तर स्थानीय रुटमा सार्वजनिक सवारी चढ्ने यात्रुहरु अझैपनि मर्कामै छन् । भरतपुर सदरमुकामको मुख्य रिंगरोडमा समेत ठूलो गाडी चल्दैन । बाहिरबाट आउने टाढाका सवारीसाधन बाहेक स्थानीय यात्रु बोक्न रिंगरोड लगायत लोकल रुटमा चल्ने भनेकै आठसिटे म्याजिक हो । अहिले सिक्सलेन बनाइएको पुलचोक–गोन्द्राङ खण्डमा समेत म्याजिककै एकतन्त्रीय राज छ । जतापनि चल्ने अटो रिक्सा त झन् सानो र अचाक्ली महँगो भइहाल्यो ।
आ–आफ्नो रुट नं. अनुसार यात्रुभाडा समेत निर्धारण भई चल्दै आएका म्याजिकहरुले सानो गाडी भन्दै छुट नदिँदा यताका विद्यार्थीहरु वर्षाैंदेखि मर्कामा छन् । विद्यार्थी, अपाङ्ग, ज्येष्ठ नागरिक लगायतका लक्षित वर्गलाई राज्यले तोकिदिएको छुट सुविधा सुरुदेखि नै सानो गाडी भन्दै नदिएरै टार्दै आएका म्याजिकवालाहरुले सिट क्षमताभन्दा बढी यात्रुचाहिँ खाँदीखाँदी बोक्ने गरेको पाइन्छ ।
तीन–तीन जनाको सिटमा अनिवार्यझैं गरी चार–चार जना कोचेर अनि त्यसबीचमा पनि दुई–तीनवटा मुढा राखी मान्छे बसालेर चलाउँदा यात्रुहरुको बिजोग देखिन्छ । म्याजिकमा अगाडि चालकसँगैको एकजना अटाउने सिटमा पनि जबरजस्ती दुईजना राखेर चलाउने गरिएको छ । आठसिटे म्याजिकमा यसरी अनिवार्य रुपमा १३–१४ जनासम्म मान्छे चढाउँदा अरु–अरु यात्रुसँग खुट्टामाथि खुट्टा राखेर, घुँडा–तिघ्रा खापेर काखमै जसरी बस्नुपर्ने बाध्यताले श्रीमान्श्रीमती सँगै हिँड्न पनि म्याजिकमा अत्यन्त अप्ठेरो स्थिति छ ।
कतैबाट कुनै गुनासो आउँदा यसो एक–दुई दिन ट्राफिक प्रहरीहरुले सडकमा उभिएर म्याजिकको मुढा खोसेर कारबाही जस्तो गरेको देखिएपनि अरुबेला प्रहरी–प्रशासनको आँखै अगाडि उसैगरी मुढा राखेर अटेसमटेस गरी क्षमताभन्दा बढी यात्रु बोक्ने गरेको पाइन्छ । पुलचोकबाट उता गैंडाकोटको थुम्सीसम्म पनि डण्डा–कावासोती चल्ने ठूलो गाडीले स्थानीय रुटको यात्रु बोक्न नपाउने गरी म्याजिककै एकाधिकार कायम छ । नियम मिचेर क्षमता भन्दा लगभग दोब्बर धेरै यात्रु बोक्दै आएका उनीहरुले सार्वजनिक यातायातको तर्फबाट छुट दिनुपर्ने सवालमा चाहिँ सानो गाडी भन्दै नदिएरै टारिदिँदा सरकारले दिएको छुट सुविधा उपभोग गर्न नपाएर यताका विद्यार्थी अधिकारबाट वञ्चित रहिआएको दशकौं भइसक्यो । स्कूल–कलेज जान–आउन झोला बोकेर पोसाकमै म्याजिक चढ्दा पनि विद्यार्थीहरुलाई छुट नदिने गरिएको छ ।
विद्यार्थी अधिकार जस्तो गम्भीर सवालमासमेत यताका प्रहरी–प्रशासन, स्थानीय सरकार र सरोकारवालाहरुले बेवास्ता गर्दै आएका छन् । कि त ठूलो गाडी चलाउनुप¥यो, होइन भने सार्वजनिक सवारीको रुपमा चलिरहेका म्याजिकहरुले विद्यार्थी लगायत लक्षित वर्गलाई सरकारले व्यवस्था गरेको भाडामा सहुलियत सुविधा दिनुपर्छ भन्ने विद्यार्थीहरुको मागको अहिलेसम्म कुनै सुनुवाइ भएको छैन । त्यसो त मिनीबस, सिटीबस चल्ने जिल्लाभित्रैको लामो रुटमा समेत म्याजिक गाडी चल्ने गरेका छन् । तर जतापनि नियम मिचेर बढी यात्रु बोक्दै आएका उनीहरुले कतैपनि कुनैपनि छुट सुविधा भने लागु गरेका छैनन् ।
त्यसो त चौडा बनाइएको बाटोमै पनि फुटपाथमा गडबडी देखिएको छ । एसियाली मापदण्ड अनुरुप विस्तार गरिएको भनिएको भरतपुरको सिक्सलेन सडकको फुटपाथ कतै फराकिलो त कतै साँघुरो बनेको छ । फुटपाथ अर्थात् सडकपेटीको चौडाइ साढे तीन मिटर राखेर बनाइएको सडक डिभिजन कार्यालय भरतपुरकी इञ्जिनियर शिला न्यौपाने बताउँछिन् । तर चौबीसकोठीबाट नारायणगढतर्फ आउँदा बायाँतिर फुटपाथ डेढ–दुई मिटरसम्म खुम्चिएको छ । दायाँतर्फको फुटपाथमा भने चार–पाँच मिटरसम्म सडक सीमा रहन गएको देखिन्छ । चितवन मेडिकल कलेज र चितवन मावि रहेको साइडतर्फ चार–साढे चार मिटरसम्मको फुटपाथ बनेर पनि अलिकति सडकको जग्गा खालि रहन पुगेको छ भने पारिपट्टि निको अस्पतालनिरबाट तल होटल रोयल सेन्चुरी भन्दा पनि मुनि कुमारी बैंक नजिकसम्म फुटपाथको चौडाइ डेढ–दुई मिटरको मात्रै बन्दा त्यतापट्टिका घरधनी र व्यवसायीलाईसमेत मार परेको बताइन्छ । भाटभटेनी सुपरमार्केट अगाडिचाहिँ तोकिए बमोजिमकै फुटपाथ बनेपनि त्यहाँ आउने ग्राहकको सवारीसाधन पार्किङको लागि प्रयोग हुँदा पैदलयात्रीहरु सर्भिसलेनबाटै हिँड्न विवश छन् । नारायणगढ बजारतिर त झन् सर्भिसलेनमै पार्किङ भइरहेको छ ।
फुटपाथ घटीबढी हुनुमा सडक कार्यालयको भन्दा पनि ठेकेदारको गल्ती, कमजोरी भएको स्थानीय बताउँछन् । यो बाटोको निर्माण कम्पनी इण्डो–सगुन जेभीले बाटो बनाउन भत्काउने क्रममा सुरुमै सिएमसी अगाडि सडकको मिड पिल्लर गायब हुन पुगेको बताइन्छ । त्यसपछि सडकमा यस्तो गडबडी हुन पुगेको स्थानीय बताउँछन् । आफ्नो यो गल्ती, कमजोरी लुकाउन ठेकेदारले सिएमसीनेर मैयाँदेवी कन्या क्याम्स जाने बाटोमा रहेको र उता चितवनमावि अगाडि सडककिनारमा रहेको सीमापिल्लर नै उखेलेर फ्याँकेको समेत बुझिएको छ ।
नारायणगढ बजारको पुलचोकदेखि माथिसम्म नै दुवैतर्फका निजी घर तथा भौतिक संरचनाहरुमा डोजर चलाएर यो सडक बढाउने काम भएको हो । तर अहिले अन्तिमसम्म आइपुग्दा पनि भरतपुर महानगरपालिका कार्यालय अगाडिपट्टि रहेको होटल रोयल सेन्चुरीको पर्खालचाहिँ भत्काइएको छैन, बरु यहाँ फुटपाथ नै अलपत्र छोडिएको छ ।
चितवन मेडिकल कलेज अगाडि जबरजस्ती खोलिएको इन्टरसेक्सन पनि अझै बन्द हुन सकेको छैन । अन्यत्र पनि विभिन्न ठाउँमा जबरजस्ती सर्भिसलेनतर्फको मेडियन र फुटपाथ भत्काएर ओपनिङहरु खोलिएको विषयमा सडक डिभिजन, सिडिओ कार्यालय र भरतपुर महानगरपालिका कार्यालयबीच छलफल भई सिक्स लेन सडक र बाइपास रोडमा पनि बलजफ्ती खोलिएका ओपनिङहरु अहिले बन्द गराउन लागिएको सडक डिभिजनले बताएको छ । यसक्रममा तल नारायणगढ बजारको लायन्सचोकमा खानीखोलेको हार्डवेयर पसल र शुभ पेट्रोल्याण्ड अगाडिको ओपनिङ बन्द गराइसकिएको इ. शिलाले बताइन् । सिएमसी अगाडि पनि एक्सप्रेस लेनमा खोलिएको बीचको टर्निङ बन्द हुने बताइएको छ । रोयल सेन्चुरी अगाडि भने होटलको त्यत्रो ढुंगाको गारो भत्काएर बनाउन भन्दा जति भाग खालि छ, त्यतिमै टायल बिच्छ्याएर फुटपाथको काम सक्ने मनसुवा सडकको हाकिमले केहीअघि व्यक्त गरेका थिए । तर अहिले इ. शिलाले भने सडकसीमामा पर्ने रोयल सेन्चुरीको संरचना पनि भत्काएरै कामसक्ने बताएकी छिन् । हेरौं, के हुने हो ?
उता, पुलचोकबाट न्युरोड जाने सडकमा त झन् फुटपाथमै ग्यारेज चलाइएको छ । वर्षाैंदेखि यहाँ सञ्चालित वर्कशपहरुले सडकपेटी ओगटेर गाडी सर्भिसिङको काम गर्दा पैदलयात्री हिँड्ने ठाउँ नै मेटिएको छ ।
टिप्पणीहरू