जंक विचार, फास्टफुड चिन्तन र मिडिया

यो शीर्षक फुरको कम्तीमा ६–७ वर्ष भयो होला । यसअघिनै कुनै किताब, कसैका भनाइमा यी शब्द, सन्दर्भ भएको भएक्षमा ! किनकि यो मौलिक फुराइ हो । यहाँ जंक र फास्ट फुडले शारीरिक र मानसिक स्वास्थ्यमा असर पारेजस्तै जंकविचार र फास्टफुड चिन्तनले स्वयं व्यक्ति, समाज, देश, विश्वर सारा प्राणीलाई नै नकारात्मक असर पार्ने र यस्तै विचारले आजको विश्वमा वाह वाही पाइरहेको छ भन्ने दृष्टिकोण पस्कन खोजिएको छ । स्वास्थ्य विज्ञानले प्रमाणित गरिसकेको छ कि जंक र फास्टफुडले मानसिक र शारीरिक स्वास्थ्यमा नकारात्मक असर पार्दछ ।
चिकित्सकहरूका अनुसार यस्ता असर अल्पकालीन र दीर्घकालीन हुन्छन् । अल्पकालीन रूपमा हेर्दा जंक फुडले पाचन प्रणालीमा गडबड गर्छ । किनकि यस्ता खानामा फाइबरको कमी हुन्छ । यस्तो खानाबाट तागत पनि पैदा हुँदैन । शक्ति नै नहुने हुँदा थकान, कमजोरीपन महसुस हुन्छ । जसले गर्दा मानसिक शान्ति भंग गर्दछ अर्थात् मानसिक एकाग्रता कायम हुन गाह्रो हुन्छ । यस्तो खानाबाट ब्लड प्रेसर, सुगर जस्ता रोग देखिन थाल्छ । यस्तो खानाले बालबालिकाको स्वास्थ्यमा झन् असर पार्दछ । यही भएर हड्डी खिइने, सानैमा पत्थरी देखिने जस्ता समस्याबाट आज बालबालिका आक्रान्त छन् । यस्ता खानाले दीर्घकालीन रूपमा पनि अनेक समस्या देखिन सक्छ । जस्तै मोटोपन, तौल बृद्धि, मधुमेह, उच्च रक्तचाप, चिल्लो पदार्थ बढी हुने भएकाले कोलेस्ट्रोल बढ्ने, मुटुसम्बन्धी विभिन्न समस्या ।
यति मात्रै होइन, मानसिक तनाव उत्पन्न हुने, स्मरणशक्ति घट्दै जाने हुन्छ । यसरी नै जंक विचार लिने मानिसको चिन्तनको दायरा नै सानो हुने हुँदा उसको जीवनमा हाँसो, खुशी पैदा हुन सक्दैन । ऊ निराशाले घेरिएको हुन्छ सधैँ। अर्काको आशा र भरोसामा टिक्नुपर्दा स्वाभिमान गुम्छ । अर्काको भर छउञ्जेल बाँचिन्छ, नभएपछि चिन्ता, कुण्ठा थुप्रिन्छ । डिप्रेसनमा पनि पुग्न सक्छ । समस्या आउँदा जुध्न सक्दैन । हरेश खान्छ । जंक र फास्टफुडबाट सुस्वास्थ्य कायम हुँदैन भन्ने जान्दाजान्दै पनि आजको मान्छेले आफैँलाई टेरेको छैन । शहरमा त यसको लेखाजोखा नै छैन । आजकाल गाउँलाई समेत मकैभट्ट भन्दा चाउचाउ, बिस्कुट, कुरकुरे मन पर्छ । मकैभट्ट, मोही, दही हैन, कोक, फ्यान्टा, पपकर्न मन पर्छ । हो, यो खानाजस्तै मान्छेको विचार पनि त्यस्तै हुन थालेको छ । जसरी फास्टफुड र जंक फुडले इम्युनिटी पावर घटाउँछ, त्यसरीनै यस्तो विचारले मान्छेको चेतनास्तर खस्कँदै जान्छ । आलोचनात्मक चेत मर्दै जान्छ । यसै भएर होला, आजको मान्छेलाई अर्गानिक विचार मन पर्दैन ।
के विज्ञापन नगरिएका जति कामै नलाग्ने सडेगलेका वस्तु हुन्? तिनीहरूको कुनै मूल्य नै छैन ? विज्ञापनमा सुनिने मायालु साबुन मात्रै फिँज आउने हो ?
मिसावटयुक्त जंक विचार र फास्टफुड चिन्तनमा नै समय बिताउन मन लाग्छ । आजको मान्छे ट्रोलर, समाचारका शीर्षक हेरेर, पढेर विचार बनाउँछ । भित्री कुरा जान्नु नै छैन उसलाई । विभिन्न विषयका साहित्य, दस्तावेज पढ्नु नै छैन उसलाई । न ऊ माक्र्स पढ्छ, गान्धीवाद पढ्छ, न माक्र्सवाद, न बुद्ध पढ्छ । गीता, बेद, उपनषिद्हरूलाई त किताबै ठान्दैन । हुन त गर्न र पढ्न कहाँ सजिलो छ र ? नेताजीहरूले जे बोले पनि, हुँदै नभएको हल्ला गरे पनि त्यसैलाई हो हो भन्दै हिँड्न पो सहज छ ? नेताजीका गुणगान गाएर बसेपो, विभिन्न निजी पर्वमा विस गरे पो फल प्राप्त हुन्छ । बा, ठूलाबा माइला, साइँलाबा, कान्छाबा, काकाबाहरूको पछि लागे पो त भनेको वर प्राप्त हुन्छ । पढ्न कहाँ सजिलो छ र, लेख्न कहाँ सजिलो छ र ? पढेर समय फाल्नुभन्दा भक्ति गरेर, बा, काकाबाहरूको दैलो चाहारेर, ढोगेर, सेयर गरेर, प्रशंसा, गुणगान गाएर पो पद पाइन्छ । पदपछि पो त प्रतिष्ठा , मानसम्मान, पाइन्छ ।
यही शक्ति भएपछि पो यसको आडमा दुनियाँलाई थर्काउन, कज्याउन पाइन्छ । हैकममा राख्न सकिन्छ । फेरि यो जमाना विज्ञापनको हो, प्रोपोगाण्डा व प्रचारको हो । मान्छेहरूलाई विज्ञापनकै पछि दौडन र त्यसको आधारमा विचार निर्माण गर्न मन लाग्छ । पढ्ने, लेख्ने, खोज्ने, चिन्तन र साधना गर्नेहरूको मूल्य नै छैन यहाँ । भनिन्छ, विज्ञापन जहिले पनि पेड फर्ममा हुन्छ अर्थात् विज्ञापन निःशुल्क हुँदैन सधैँ सःशुल्क हुन्छ । विज्ञापनको उद्देश्य सेवा वा वस्तुको बिक्री बढाउनु, बजार विस्तार गर्नु हो। एउटा शाश्वत भनाइ छ : विज्ञापनमा जहिले पनि ८० प्रतिशत कन्फुजन र २० प्रतिशत मात्रै वास्तविकता हुन्छ । हुन त यो ग्ल्यामरको जमाना हो। इमान्दारितापूर्वक कर्तव्य निभाउनेहरूको होइन । तर के बजारमा विज्ञापित सबै वस्तु मात्रै गुणस्तरीय हुन्? विज्ञापन नगरिएका जति कामै नलाग्ने सडेगलेका वस्तु हुन्? तिनीहरूको कुनै मूल्य नै छैन ? विज्ञापनमा सुनिने मायालु साबुन मात्रै फिँज आउने हो? फास्टफुड चिन्तन हावादारी चिन्तन हो । समस्याको गहिराइमा नपुगी समाधान खोज्ने सतही मानसिकता हो । कुनै पनि विषयमा धैर्यता नै नगरी जंक अध्ययनको आधारमा निश्कर्षमा पुगिहाल्ने हतारको निर्णय हो । यस्तो चिन्तनले स्वयम् व्यक्ति, समाज, राष्ट्र, विश्व र पुरै प्राणीलाई नै नकारात्मक असर पार्दछ ।
सर्वप्रथम व्यक्तिको आफ्नै जीवन उल्लासमय हुनसक्दैन । उसले आफ्नै जीवनमा प्रगति गर्न सक्दैन । जिन्दगी गोलचक्करमा फस्दछ । यी सबै समस्याका कारण मानिसमा निराशा र तनाव पैदा हुन्छ । दिमागमा नैउच्चभन्दा साना साना सोचाइ निर्माण हुन्छ । महान् सोच, लक्ष्यभन्दा घटिया शब्द, चिन्तन, व्यवहारमा जीवन बित्दछ । नागरिक नै यस्तो ल्यांग्रे भएपछि ऊबाट समाज र राष्ट्रले के आशा गर्ने? समाजमा पनि यस्तै चिन्तनधारीहरू हावी हुन्छन् । अनि यस्ताको जमातले समाजलाई के दिन सक्ने? सामाजिक सम्बन्धहरू टुट्दै जान्छन्। गहिरो अध्ययन, विचार र व्यवहारले भन्दा क्षणिक प्रवृत्तिले ठाउँ पाउँछ । व्यक्ति र समाज नै खराब भएपछि अर्थात् यस्तै प्रवृत्तिको हालीमुहाली भएपछि राष्ट्रले झन् के पाउने? विभिन्न नीति निर्माणमा यस्तै चिन्तनधारी मानिस पुग्छन्। सतही सोच बढी हावी हुन्छ । अल्पकालीन परिणामले दीर्घकालीन विकासमा बाधा पु¥याउँछ । यसको प्रभाव शिक्षा, शासन प्रणाली, कानुन निर्माण, विकास, दीर्घकालीन सोच र व्यवहारमा पुग्दछ ।
जस्तो विचार त्यस्तै परिणाम भने झैँ यस्तो चिन्तनका कारण समाजका हरेक क्षेत्र जंक विचार र फास्टफुड चिन्तनमा अल्झन्छ । अहिले खास पत्रकारिता मर्दैछ । पत्रकारितै कहाँ छ र भनेर सोधे पनि हुन्छ । सूचनाकारिता मात्रै छ । आजको मिडियालाई नै जंक र फास्टफुडे भन्दा हुन्छ । न समाचारमा गुदी हुन्छ न अन्यसामग्रीमा गुणस्तरीयता । कट पेस्ट, बार्गेनिंग, गालीगलौजलाई नै पत्रकारिता भन्ने भ्रम बोक्ने जमात ठुलै भइसक्यो, अल्लि बढी अनलाइन माध्यम । सोसल मिडियाद्वारा जवर्जस्त प्रचारितहरूकै काबुमा छ आजको दुनियाँ । अरु सबै यो धर्तीका भार हुन् त ? सामाजिक सञ्जाल त जंक विचार र फास्टफुड चिन्तनलाई बढावा दिने क्याटलिस्ट नै नै भइहाल्यो। यस्तो विचार र चिन्तनले सबै क्षेत्रलाई गाँजेको छ : शिक्षा होस् कि राजनीति, बौद्धिक क्षेत्र होस् कि कूटनीति, जताततै, जुनसुकै ठाउँमा यस्तैहरूको बिगबिगी छ ।
क्लिकबेट, अफवाह र आधारहीन तर्कहरूले मानिसको मानसिकता कमजोर बनाइरहेका छन्। वास्तविक र तथ्यभन्दा सनसनीपूर्ण सामग्रीलाई प्रश्रय दिएर मानिसमाझ गलत सूचना फैलाइरहेका छन्। यसले गर्दा मानिस भ्रममा परिरहेको छ । सही सूचना लुकाएर समाजलाई नै गुमराहमा राख्ने प्रपञ्चहरू भइनै रहेका छन्। यसले समाजमा द्धन्द्ध निम्त्याउन र मानिस मानिसबिचका सम्बन्धहरूको दूरी बढाउन भूमिका खेलिरहेको देखिन्छ । अतः ‘जंक विचार’ र फास्टफुड विचारबाट बच्न सामाजिक, राष्ट्रिय अगुवाहरूले स्वअध्ययन गर्नैपर्छ । गहन र गहिरो चिन्तन गरेर समाज, राष्ट्रलाई डोहोर्याउनुपर्छ । मिडियाले सतही, तथ्यहीन समाचार तथा समाचार सामग्री पस्कने होइन कि तथ्यगत र वास्तविक सामग्री प्रस्तुत गर्नुपर्छ । बुद्धले नै उहाँले भनेका कुरालाई सहजै त्यसै नबुझी सन्देह गर्न आग्रह गर्नुभएको छ । यसरी हरेक काम न काजका विचारको पछि लाग्नुभन्दा आफूलाई मानसिक रूपमा बलियो बनाउन पढ्नुपर्छ ।
जंक विचार, अध्ययनले फास्टफुड चिन्तन जन्माउँछ । यस्तो चिन्तन गर्नु भनेको व्यक्ति, समाज र राष्ट्रकै जिन्दगीको समाप्ती हो अथवा समयको बर्वादी हो । अतः जंक विचार हटाउँदै फास्टफुड चिन्तनको असरलाई न्यूनीकरण गर्न गहिरो विचार, दीर्घकालीन योजना र मूल्यमा आधारित जीवनशैलीको प्रवर्धन आवश्यक छ । यसका लागि शिक्षा, सांस्कृतिक चेतना र व्यक्तिगत जिम्मेवारी महत्वपूर्ण हुन्छ ।
टिप्पणीहरू