दुर्गा प्रसाईंका कारण तितरबितर भएकाहरु राप्रपासँग जुट्दै

दुर्गा प्रसाईंका कारण तितरबितर भएकाहरु राप्रपासँग जुट्दै

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आगामी मंगलबार काठमाडौँमा गर्न लागेको व्यवस्थाविरोधी प्रदर्शनमा ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ पनि सामेल हुने भएको छ । 

चैत १५ को प्रदर्शनपछि सुस्ताएको उक्त समितिका तर्फबाट जगमान गुरुङले वक्तव्य सार्वजनिक गर्दै राप्रपाको कार्यक्रममा समर्थन जनाएका हुन् । उनले प्रदर्शनमा राष्ट्रिय झन्डासहित उपस्थित हुन आह्वानसमेत गरेका छन् । 

राजेन्द्र लिङ्गदेन नेतृत्वको राप्रपाले मंगलबार भृकुटीमण्डपमा 'अवस्था बदल्न, व्यवस्था बदलौँ' भन्दै आमसभा गर्दैछ । उक्त कार्यक्रममा अन्य राजावादीहरुको पनि उपस्थिति रहने बताइएको छ । 

अन्तिम राजा ज्ञानेन्द्र शाहलाई गद्दीमा फर्काउन तयार भएका तर विभिन्न समूहमा छरिएर रहेका राजावादीहरु एकले अर्काको कार्यक्रमलाई खुलेर सहयोग गरिरहेका छैनन् । चैत १५ को प्रदर्शनलाई समर्थन गर्ने कि नगर्ने भन्नेमा राप्रपामा पनि विवाद थियो ।  

ज्ञानेन्द्रकै चाहनाअनुसार सबै राजावादीलाई एकै ठाउँमा जुटाएर आन्दोलन अघि बढाउन पूर्वपञ्च नवराज सुवेदीको संयोजकत्वमा संयुक्त जनआन्दोलन समिति गठन गरिएको हो । समितिले आन्दोलनको जनकमाण्डर मेडिकल माफिया दुर्गा प्रसाईंलाई तोकेको छ ।  

तर, तीनकुनेको प्रदर्शनलाई हिंसात्मक बनाएर बेपत्ता भएका प्रसाईं अहिलेसम्म भेटिएका छैनन् । समितिका संयोजक सुवेदी घरमै नजरबन्दमा छन् भने आन्दोलन परिचालन समितिका अध्यक्ष धवलशमशेर राणा र समितिको सदस्य सचिव बनाइएका नवराजावादी रविन्द्र मिश्र प्रहरी हिरासतमा छन् । 

सुवेदी नजरबन्दमा परेपछि समितिको नेतृत्व जगमानले पाएका हुन् ।
 

टिप्पणीहरू