म्याडमले डाकिन् बोर्ड बैठक, सञ्चालकहरु क्रुध्द

म्याडमले डाकिन् बोर्ड बैठक, सञ्चालकहरु क्रुध्द

राष्ट्र बैंककी कायम मुकायम गभर्नर निलम ढुंगाना तिम्सिनाको अध्यक्षतामा सञ्चालक समितिको पहिलो बैठक बस्दै छ । आज बेलुकी सवा ५ बजेलाई बोलाइएको बैठकको एजेण्डा देख्नासाथ सञ्चालकहरु रुष्ट भएका छन् ।

गत सोमबार मध्यान्ह कायम मुकायमको जिम्मेवारी पाएपछि डाक्नुपर्ने बोर्ड बैठक एक साता लगाएर बोलाइएको,सञ्चालक समितिबाट गरिनुपर्ने निर्णयमा आफैँले सही धस्काएको र आजको बैठकमा सामान्य विषय मात्रै राखिएकोमा उनीहरुले आपत्ति जनाउन लागेका हुन् । जनआस्थासँगको कुराकानीमा एकजना सञ्चालकले भने, ‘सामान्य विषय बोर्ड बैठकमा राखेर त्यसअघि कामुको हैसियतमा नीतिगत निर्णय सच्चाएकी म्याडमले भरे के भन्छिन् सुन्नु छ । हेरौं उनले के जवाफ दिन्छिन् ।’

निलमले ठूला निर्माण व्यवसायी (ठेकेदार),ठूला बैंक,बिचौलिया र सरकारलाई खुशी तुल्याउन गभर्नर महाप्रसाद अधिकारी निवर्तमान भएको चार दिनमै ठेकेदारहरुलाई असारसम्म कालोसूचीमा पर्न नदिने, बैंकहरुको खराब कर्जा बढ्न नदिने तथा नाफा बढाउने उपायस्वरुप एउटा निर्णयमा सही धस्काएकी थिइन् । उक्त निर्णयको आडमा बैंकहरुको ऋण नतिर्ने ठेकेदार तथा तिनका कम्पनीले आजसम्म १० प्रतिशत ब्याज तिरेर असार मसान्तभित्र कर्जा पुनर्तालिकिकीरण गर्न पाउनेछन् । 

सोमबार कायममुकायम भएपछि आफूभन्दा मुन्तिरका कर्मचारीलाई भेला गरेर निलमले लिएको पछिल्लो निर्णयमाथि गम्भीर प्रश्न उठाइएको छ । ‘गभर्नर अवकाश भएको तीन दिन मात्रै भएको,आफूले कामु पाएको दुई दिन र आर्थिक वर्षको तेस्रो त्रयमास सकिन चार दिन बाँकी छँदा किन र कसको प्रभावमा त्यस्तो लोक रिझाउने गलत निर्णय गरियो ?’ उनै सञ्चालकले सोधेका छन् । त्यसैले आज बस्ने बैठकमा कायममुकायम गभर्नरले चर्को विरोधको सामना गर्नुपर्ने अवस्था उत्पन्न भएको छ ।

आजको बैठकमा तीन जना निर्देशकको बढुवा,बैंकले नगद विदेशी मुद्रा विदेशका बैंकमा जम्मा गर्ने सम्बन्धी व्यवस्था नवीकरण, रणनीतिक योजनाको समीक्षा र लेखापरीक्षण कार्यविधि संशोधन विषय तोकिएको छ । आजका एजेण्डा सबै सामान्य हुन् भने गत साता जारी निर्देशन नीतिगत हो । चालु आर्थिक वर्षको मौद्रिक नीतिमा गरिएको व्यवस्था हटेपछि पुनः यथावतका लागि बोर्ड बैठकमा छलफल र निर्णय गर्नुपर्नेमा त्यसो नगरिएपछि म्याडमको पहिलो कदम विवादमा तानिएको हो ।

आजको बढुवामा प्रधानमन्त्रीका आर्थिक सल्लाहकार तथा विगतमा अर्थमन्त्री, गभर्नर, योजना आयोग उपाध्यक्ष र अमेरिकाका लागि राजदूत युवराज खतिवडाका छोरीज्वाइँ रामशरण खरेल पनि उम्मेदवार छन् । तीन जना कार्यकारी निर्देशकहरुले अवकाश पाएपछि रिक्त स्थानमा तीन जना निर्देशकको बढुवा गर्न लागिएको हो । वरिष्ठताको आधारमा चेतप्रसाद उप्रेती, रोशन सिग्देल र खरेल क्रमशः पहिलो, दोस्रो र तेस्रो नम्बरमा छन् । 

यसअघि डेपुटी बमबहादुर मिश्रको अध्यक्षतामा अस्ति बसेको पदपूर्ति समितिको बैठकले बढुवाको प्रक्रिया शुरु भएको सूचना जारी गरेको थियो । यसअघि गभर्नर अधिकारी छँदा बैंकमा बढुवाका लागि तिम्सिनाले आफ्नो अनुपस्थितिमा पदपूर्ति समितिको बैठक बस्न नसक्ने जनाउँदै रोक लगाएकी थिइन् । तर, अहिले खतिवडाका ज्वाईंको निम्ति एक जना डेपुटी गभर्नर मिश्र मात्रै हुँदा पनि बैठक कानुनसम्मत भनिएको अवस्था छ । 

आज बढुवा गरिने उप्रेती, सिग्देल र खरेललाई लगत्तै विभागीय जिम्मेवारी दिनुपर्ने हुन्छ । उप्रेती र सिग्देललाई कामु कार्यकारीको जिम्मेवारी सम्हालिरहेको अहिलेको विभागमा पदस्थापन गरेपनि खरेलको हकमा विभाग तोक्नुपर्ने हुन्छ । यो जिम्मेवारी निलमको हो । यतिखेर सूचना प्रविधि बाहेक अन्य विभागमा कार्यकारी निर्देशक पूर्ति भइसकेको छ । 

बैंक तथा वित्तीय संस्था नियमन विभागमा निर्देशक रहेका खरेललाई आईटी विभाग लैजानुपर्ने हुन्छ । तर, आगामी वर्ष डेपुटीमा नियुक्तिका लागि उनलाई ‘एक्सपोजर’ दिँदै स्वयम् निलमले गभर्नर अधिकारीलाई दबाबमा सरुवाको लागि बाध्य पारेको बताइन्छ । नियमन विभागमा काँग्रेस निकट गुरुप्रसाद पौडेललाई झिकेर खरेललाई पदस्थापन गरेको अवस्थामा बैंकका काँग्रेसी कर्मचारी संगठन वित्तीय संस्था कर्मचारी संघ रुष्ट हुने अवस्था छ । अन्यत्र लगिए खरेलका ज्वाइँ ससुरा ठुस्स हुुने निश्चित छ ।

टिप्पणीहरू