यार्साको सिजनमा गाउँ सुनसान, विद्यालयमा ताल्चा
उच्च हिमाली क्षेत्रमा गाउँबस्ती अहिले रित्तोजस्तै भएको छ । हिउँ पग्लिएर खाली भएका नागी पाटनहरुमा यार्सागुम्बा टिप्न सबै गएपछि गाउँ रित्तो भएको हो । अशक्त, सुत्केरी, बालबालिका, वृद्धवृद्धा मात्र गाउँमा भेटिन्छन् । मुगुको मुगुम कर्मारोङ गाउँ पुग्दा यस्तै दृश्य देखिन्छ । यहाँ यार्सागुम्बा अर्थोपार्जन र पारिवारिक अर्थचक्रको महत्वपूर्ण पक्ष हो ।
पश्चिम उत्तरका हिमाली तथा उच्च पहाडी जिल्लाका स्थानीयहरु जेठ दोस्रो सातादेखि एक महिनासम्म उच्च हिमाली क्षेत्रमा ‘किरा कोर्न’ जाने गर्छन् । उच्च हिमाली क्षेत्रका पाटनहरुमा पाइने यार्सागुम्बा टिप्ने कामलाई स्थानीय भाषामा किरा कोर्ने भन्ने गरिन्छ । ससाना बालबालिकाले पनि यसलाई यही ढंगले बुझ्ने गरेका छन् । सबै किरा कोर्न गएकाले विद्यालय बन्दसँगै गाउँ रित्तो भएको छ ।

कार्मारोङ गाउँपालिका वडा नम्बर ७, का ठिल्ले लामा गाउँमा साना बालबच्चा भएका महिला, बालबालिका र वृद्धवृद्धा मात्रै रहेको बताउँछन् । उनले भने, ‘यहाँको मुख्य आम्दानी नै यार्सागुम्बा हो । १० देखि ६० वर्षसम्मका मान्छेहरु यार्सा टिप्न गइसके । ठ्याक्कै एक महिना गाउँ सुनसान हुन्छ । असार १३ गतेपछि उनीहरु गाउँ फर्कन्छन् । विद्यालयहरु अहिले बन्द छन् ।’
अर्की स्थानीय नुर्बूछिरिङ लामा पनि गाउँका आधा बढी घरमा ताल्चा लागेको बताउँछिन् । आयआर्जनको स्रोत नै यार्सा गुम्बा भएकाले परिवारै टिप्न गएको उनको भनाइ छ । उनले भनिन्, ‘पुरुष त सबै गए । अहिले गाउँमा सानो सानो बच्चाका आमाहरु होलान् । कर्मचारीहरु होलान् । गाउँका आधा बढी घरमा ताल्चा लागेको छ । परिवारै यार्सागुम्बाा टिप्न गएका छन् । आयआर्जनको स्रोत यार्सागुम्बा र ज्यालामजदुरी हो ।’

नेपालको हिमाली क्षेत्रमा पाइने यार्सा गुम्बा ढुसीको एक प्रजाति हो । बहुमूल्य जडीबुटीका रुपमा प्रयोग हुँदै आएको यो निर्यातबाट ठूलो आम्दानी हुने गर्दछ । औषधिजन्य गुणयुक्त यार्सागुम्बा आपूर्ति गर्नेमा चीनपछि नेपाल दोस्रो मुलुक हो । यकिन तथ्याङ्क नभएपनि पूर्वी नेपालको अलैँचीसरह पश्चिम नेपालको हिमाली क्षेत्रबाट यार्सागुम्बा निर्यात हुने गरेको छ ।
पश्चिम उत्तरका उच्च हिमाली क्षेत्रका नौ वर्षभन्दा माथि र ६० वर्ष उमेरसम्मका मानिसहरु सिजनमा यार्सा टिप्न जाने गर्छन् । मुख्य आयआर्जनको स्रोत नै यार्सा भएकाले अहिले मुगुका अधिकांश गाउँ सुनसान छ । मांग्रीको छिमेकी गाउँ छायलाका स्थानीय पनि यार्सा टिप्न गएका छन् । यो वर्ष जेठ १३ गतेदेखि यार्सा गुम्बा टिप्न खुला गरिएको थियो । तर, १२ गतेदेखि नै मुगु, हुम्ला, जुम्ला, डोल्पालगायतका अधिकांश विद्यालय बन्द छन् । सञ्चालनमा रहेका विद्यालयमा पनि नौ वर्षमुनिका बालबालिका मात्रै भेटिन्छन् ।

टिप्पणीहरू