मन्त्रीले मन्त्रीलाई गोली ठोक्छु भनेपछि लुम्बिनीमा खैलाबैला

मन्त्रीले मन्त्रीलाई गोली ठोक्छु भनेपछि लुम्बिनीमा खैलाबैला

संघीय सरकारले आगामी आर्थिक वर्ष २०८२–८३ को बजेट ल्याइसकेको छ । संवैधानिक व्यवस्थाअनुसार अधिकांश प्रदेशले असार १ गते बजेट सार्वजनिक गरेका छन् ।

स्थानीय पालिकाले असार १० गतेभित्र बजेट ल्याउनुपर्ने व्यवस्था छ । लुम्बिनी प्रदेशले आगामी आर्थिक वर्षका लागि ३८ अर्ब ९१ करोडको बजेट सार्वजनिक गरेको छ । जसमध्ये चालुतर्फ १२ अर्ब एक करोड ४७ लाख ८६ हजार अर्थात् ३० दशमलव ८८ प्रतिशत र पुँजीगततर्फ २३ अर्ब ४७ करोड १४ लाख ६५ हजार अर्थात् ६० दशमलव ३२ प्रतिशत विनियोजन भएको छ ।

यसपालिको बजेट निकै कसेर आएको भन्दै जताततै विरोध भइरहेको छ । प्रदेश मुख्यमन्त्री चेतनारायण आचार्य र आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले आफ्नो निर्वाचन क्षेत्रमा बजेट खन्याएर विषयगत मन्त्रालयहरुलाई न्यून बजेट छुट्याएको भन्दै मन्त्रीहरुले असन्तुष्टि पोखिरहेका छन् । एकातिर बजेट खुम्चाइएको भनेर विरोध भइरहँदा अर्कोतिर मन्त्रीले मन्त्रीलाई गोली ठोक्छु भनेको विषय चर्चामा छ । बजेटको विषयमा एउटा मन्त्रीले अर्को मन्त्रीलाई गोली ठोक्ने धम्की दिएको पाइएको छ । घटना बजेट ल्याउनुभन्दा केही दिनअघिको हो । 

नेपाली काँग्रेसका महामन्त्री गगन थापानिकट समानुपातिक सांसद आफ्नो क्षेत्रमा बजेट माग गर्दै आर्थिक मामिलामन्त्री कार्कीकहाँ पुगिन् । उनले आफ्ना मागहरु बजेटमा समेटिदिन आग्रह गरिन् । कार्कीले आफ्नो मन्त्रालयबाट उनको माग सम्बोधन गर्न सक्ने अवस्था नरहेको भन्दै भौतिक पूर्वाधार विकास मन्त्रालय पठाइदिए । झोला बोकेर त्यहाँबाट निस्किएकी उनी भौतिक पूर्वाधार पुगिन् । जहाँ एमालेबाट मन्त्री भूमिश्वर ढकाल र शहरी विकास तथा खानेपानीमन्त्री सरोज थापा उर्फ रोज राना गफिएर बसेका थिए । 

बजेटमा आफ्नो मन्त्रालयलाई कसेको भन्दै उनीहरु एकअर्कासँग गुनासो पोखिरहेका थिए । निमाले बजेटमा समेट्नुपर्ने विषयहरु भौतिक पूर्वाधारमन्त्रीसमक्ष राखिन् । त्यतिबेलै आर्थिक मामिलामन्त्री कार्कीले फोन गर्दै भने,‘निमाजीको मागहरु बजेटमा समेटिदिनु होला ।’ यताबाट मन्त्री ढकालले आफ्नो असन्तुष्टि सुनाउँदै थिए, शहरी विकासमन्त्री थापाले उनको हातबाट फोन खोसे । प्युठानबाट प्रत्यक्ष निर्वाचित उनले आफूले भनेजति बजेट नपाएमा गोली ठोक्ने धम्की दिए । त्यसपछि ढकालले हत्तपत्त उनको हातबाट मोबाइल लिए । 

निमाले त्यो कुरा बाहिर आएर सबैलाई सुनाइन् । भुसमा आगो फैलिएझैं गोली ठोक्ने कुरा सर्वत्र फैलियो । पार्टीका कार्यकर्ताले मन्त्रालयमै ‘मन्त्रीज्यू बुलेट प्रुफ ज्याकेट लगाएर आउनुभयो’ भनेपछि हल्लाखल्ला भएको थियो । काँग्रेसको लुम्बिनी प्रदेश सभापति अम्मरसिंह पुनले समेत सो विषयमा चासो राखेका छन् । यता,काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले सार्वजनिक कार्यक्रममै मन्त्री थापाले गोली हान्ने भनेको प्रसंग निकालेका छन् । 

उनले एक कार्यक्रममा भनेका छन्,‘अस्ति मैले रोज रानाले बन्दुक पड्काउने भनेको कुरा सुनेँ । ए तैँले बन्दुक पड्काउने भन्या हो भन्दा बोल्न सकेन,माफी मागेछ अर्थमन्त्रीसँग ।’ रोचक प्रसंग के भने, अर्थमन्त्री कार्कीले मन्त्री थापाको इच्छाबमोजिम बजेट ल्याएका छन् । प्रदेशका एक सांसदले कटाक्ष गर्दै भने,‘मन्त्रीले रोजले चाहेजस्तै बजेट ल्याए, गोली खानबाट आफूलाई जोगाए ।’

काँग्रेस सभापति शेरबहादुर देउवा पत्नी तथा वर्तमान परराष्ट्रमन्त्री डा. आरजु राणानिकट मन्त्री थापा विवादित पृष्ठभूमिका व्यक्ति हुन् । आरजुकै दबाबमा मन्त्री बनेका उनीमाथि चलचित्र निर्माताको आवरणमा आपराधिक क्रियाकलाप गरेको आरोप लाग्दै आएको छ । एउटै पार्टीको भए पनि थापा र निमाबीच राम्रो सम्बन्ध छैन ।

टिप्पणीहरू