सरकारमाथि उपेन्द्र यादवका ११ आरोप

सरकारमाथि उपेन्द्र यादवका ११ आरोप फाइल फाेटाे

उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले सरकार पूर्णत: असफल भएको निष्कर्ष निकालेको छ । 

सरकारलाई दिएको समर्थन फिर्ता लिँदै विपक्षमा रहने निर्णय गर्नुअघि संसदीय दलको बैठकले यस्तो ठहर गरेको हो । सरकार आफ्नै प्रतिवद्धता अनुसार अघि बढ्न नसकेको जसपाको निचोड छ । 

आज दिउँसो सिंहदरबारमा बसेको दलको बैठकले सरकारको एक वर्षे कार्यकालको समीक्षा गरेको थियो, जहाँ ११ वटा बुँदामा सरकारका असफलता औल्याएको छ । संविधान संशोधन, सुशासन, सामाजिक न्याय र जनजीविकाका सवालमा सरकार पूर्णत असफल भएकाले समर्थन कायम राख्नु औचित्यपूर्ण नहुने जसपाको निर्णय छ । 

जसपाले गरेको सरकारको हालसम्मको कार्यको समीक्षा :

जनतालाई सरकारले सुशासनको प्रत्याभूति गराउन नसक्नु ।

भ्रष्टाचार, अनियमित्तता, दण्डहीनता, कमिशनतन्त्र र विचौलियाहरूको चलखेल नियन्त्रण गर्न नसक्नु ।

 मुलुकको अर्थतन्त्रलाई सुधार गरी आर्थिक विकासको गतिलाई अगाडी बढाउन नसक्नु । असन्तुलित र पूर्वाग्रहीत रूपले आ.ब.२०८२/८३ को बजेट ल्याउने कार्य गर्नु ।  

संघीयता कार्यान्वन गर्न कुनै ठोस प्रयास नगर्नु ।

कृषि, उद्योग, पर्यटन र जलस्रोतको विकास गरी गरिवी, बेरोजगारी जस्ता समस्याहरूलाई हल गर्न नसक्नु । 

स्वच्छ खानेपानी, शिक्षा, स्वास्थ्य आदि सेवाका क्षेत्रमा गुणात्मक सुधार गरी जनतामा सेवा प्रवाह गर्न नसक्नु ।

समानतामा आधारीत न्यायपूर्ण समाज निर्माण गर्न मधेशी, आदिवासि जनजाति, दलित, महिला, पिछडावर्ग, थारू, अल्पसंख्यक लगायत उत्पीडित समुदायहरूको राष्ट्रिय समस्याहरूलाई हल गर्न नसक्नु ।

मधेश, थरूहट, किरता– लिम्वुवान लगायतका आन्दोलनहरूका क्रममा झुठा मुद्दा लगाई बन्दी बनाइएका राजबन्दीहरूलाई रिहाई नगर्नु ।

संविधान संशोधन गर्न हालसम्म कुनै प्रयास नगर्नु ।

कृषि विकास गर्न किसानहरूलाई कृषि बजार, सिंचाई, मलखाद्य, विऊ विजन र किट्नाशक औषधीका साथै सहुलियत दरमा कृषि ऋण उपलब्ध गराउन नसक्नु ।

वेरोजगारी समस्या हल गर्न रोजगारीका अवसरहरू सृजना गर्न नसक्नु ।

याे पनि...

उपेन्द्रले लिए समर्थन फिर्ता, उपल्लो सदनमा सरकारलाई अप्ठेरो

टिप्पणीहरू