सिचुवान एयरलाइन्सले पोखराबाट अष्ट्रेलिया उडान भर्ने

सिचुवान एयरलाइन्सले पोखराबाट अष्ट्रेलिया उडान भर्ने

चिनियाँ वायुसेवा कम्पनी सिचुवान एयरलाईन्सले पोखरा–छेन्दु–अष्ट्रेलिया उडान भर्ने तयारी गरेको छ ।

आगामी अक्टोबरदेखि पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलबाट चीनको छेन्दु र त्यहाँबाट अष्ट्रेलिया उडान गर्नेगरी सो एअरलाइन्सले आन्तरिक तयारी गरिरहेको विमानस्थलका महाप्रवन्धक जगन्नाथ निरौलाले जानकारी दिए । पोखरा–छेन्दु–अष्ट्रेलिया उडानले नेपाली यात्रुलाई सहज हुने विश्वास लिइएको छ । 

पोखरा एयरपोर्टबाटै अष्ट्रेलिया जान पाउनु खुशीको कुरा भएको निरौला बताउँछन् । सिचुवान एयरलाईन्सले केही समयअघि पोखरा–छेन्दु–पोखरा उडान गरेको थियो । तर, प्राविधिक कारण देखाएर हाल उडान स्थगित गरेको छ । 

‘केही समय अगाडि सिचुवान एयर्सले पोखरा-छेन्दु, छेन्दु-पोखरा उडान गरेको थियो । अहिले उसको प्राविधिक कारणले केही समय स्थगित गरेको छ', महाप्रवन्धकले भने, 'आउने अक्टोबरदेखि सिचुवानले फेरि पोखरा विमानस्थलमा उडान सुचारु गर्ने तयारी गरिरहेको अवस्था छ । उसले पोखराबाट छेन्दु र छेन्दुबाट अष्ट्रेलियासम्ममा जोड्ने तयारी गरिरहेको छ । त्यसबाट नेपाली यात्रुहरुलाई धेरै सहज हुनेछ ।’  

हाल पोखरा विमानस्थलबाट हिमालयन एयरलाइन्सले ल्हासा–पोखरा–ल्हासा हप्तामा एउटा उडान भरिरहेको छ ।

भूटान एयरलाइन्सले चार्टर्ड उडान गर्ने 

भूटान एयरलाईन्सले पोखरा विमानस्थलबाट चार्टर्ड उडान गर्ने भएको छ । सेप्टेम्बर २८ देखि ४ वटा चार्टर्ड उडान गर्ने अनुमति उक्त एयरर्लाइन्सले पाएको महानिर्देशक निरौलाले जानकारी दिए । 

 उनका अनुसार सेप्टेम्बर २८, अक्टोबर २, ६ र १० मा भूटान एयरलाईन्सले पारो–पोखरा–पारो चार्टर्ड उडान गर्नेछ । चार्टर्ड उडानको अनुभव र बजारको अवस्था हेरेर नियमित रुपमा उडान संचालन गर्नेगरी एयरलाईन्स कम्पनीले तयारी गरिरहेको  पनि उनले स्पस्ट पारे । 

पोखरा विमानस्थलबाट दुबई, मलेसिया र बैंककसम्मको उडान भर्नेगरी निजी क्षेत्रका अन्य विदेशी वायुसेवा कम्पनीले पनि तयारी गरेको महानिर्देशक निरौलाले जानकारी दिए । यद्यपि यसबारेमा भने निर्णय हुन बाँकी रहेको भन्दै उनले थप खुलाएनन् ।

पोखरा एयरपोर्ट चलाउन तीनै तहका सरकार र यहाँका उद्योगी, पर्यटन व्यवसायीले पहलकदमी लिनुपर्ने उनले बताए । एयरलाईन्स र एयरपोर्ट बिजनेस एउटा मात्रै सरकारको पहलले सम्भव नहुने महानिर्देशकको भनाइ छ । 

पोखरा नयाँ विमानस्थलबाट हाल दैनिक ४० भन्दा बढी आन्तरिक उडानहरु भइरहेका छन् । आन्तरिकतर्फ बुद्ध, यती र श्री एयरलाईन्सले नियमित रुपमा उडान गरिरहेको छ । 

अहिलेको अफसिजनमा पनि दिनमा २ हजार भन्दा बढी यात्रुले आवगमन गरिरहेको निरौला बताउँछन् । सेप्टेम्वर १५ देखि पर्यटकीय भएकाले दैनिक ५० भन्दा बढी उडान हुने र ४ हजार यात्रुले आवतजावतको सेवा लिने अपेक्षा विमानस्थल कार्यालयले राखेको छ । 

पोखराको पुरानो विमानस्थलबाट भने समिट एयरले पोखरा-जोमसोमको उडान थालेको छ । यहाँबाट हेलिकप्टर सेवा नियमित रुपमा भइरहेको महानिर्देशक निरौलाले जानकारी दिए ।

टिप्पणीहरू