प्रधानमन्त्रीको घरमा आक्रमण, निशानामा थुप्रै कार्यालय
प्रधानमन्त्री केपी शर्मा ओलीको घरमा जेन जी आक्रोशित युवाहरुले तोडफोड गरेका छन् । भ्रष्टाचारविरुद्धको अभियान र सामाजिक सञ्जालमाथिको प्रतिबन्ध विरुद्ध सडकमा उत्रिएका युवाहरुले झापास्थित ओलीको घरमा ढुंगामुढा गरेका हुन् ।
यता भक्तपुरको बालकोटस्थित घर वरिपरि पनि सुरक्षा व्यवस्था कडा पारिएको छ । दिउँसो बानेश्वर क्षेत्रमा सेना परिचालन गरिएपछि तितरबितर भएका करिब दुई सय प्रदर्शनकारी ओलीविरुद्ध नारा लगाउँदै बालकोट हिँडेका थिए । तर उनीहरुलाई जडिबुटीस्थित मनोहरा खोलामा रोकिएको जिल्ला प्रहरी कार्यालय भक्तपुरका एक अधिकृतले जनआस्थालाई जानकारी दिए । लोकन्थली, कौशलटार, गठ्ठाघर र ठिमी चोकमा पनि प्रहरी तैनाथ गरिएको छ ।
प्रदर्शनकारीले ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा समेत तोडफोडको प्रयास गरेका छन् । यद्यपि, उल्लेख्य संख्यामा खटाइएका प्रहरीले उनीहरुलाई रोकेका हुन् । बानेश्वरबाट शंखमूल हुँदै च्यासल पुगेका प्रदर्शनकारीहरुले खोलावारीबाटै नाराबाजी गरेका थिए ।
नयाँ बानेश्वर र माइतीघरबाट फर्केका केही आन्दोलनकारीले सुन्धारास्थित नेपाल टेलिकमको भवनमा ढुंगामुढा प्रहार गरेका छन् । उनीहरुले एउटा मोटरसाइकल समेत जलाएका छन् ।
टिप्पणीहरू