नारायणगढ–मुग्लिङ सडकखण्डमा निरन्तर पहिरो
चितवनको नारायणगढ–मुग्लिङ सडकखण्डमा निरन्तर पहिरो खस्दा सवारी आवागमन प्रभावित भएको छ ।
गत शुक्रबार इच्छाकामना गाउँपालिका–६ स्थित तुइनखोलामा पहिरो जाँदा बन्द भएको बाटो अहिलेसम्म पनि खुलेको छैन । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले हिजो ६ घण्टाभित्र सडक सुचारु हुने बताएकोमा लगातार खसिरहेको पहिरोले काम रोकिएको छ ।
सडक डिभिजन कार्यालय, भरतपुरका सूचना अधिकारी ईञ्जिनियर कृष्णप्रसाद आचार्यले आज अपरान्हसम्म पहिरो हटाएर सडक सुचारु गर्ने बताए । केहीबेरयता पहिरो खसिरहेकाले काम रोक्नुपरेको उनको भनाइ छ ।
‘पहिरो गएको गयै छ । पहिरो रोकिनेबित्तिकै काम थाल्छौं, फेरि रोक्छौं । आज दिँउसो २–३ बजेसम्म सडक खुल्ला’, उनले भने । पहिरोका कारण सवारी आवागमन बन्द भएपछि डिभिजनले वैकल्पिक रुटबाट यात्रा गर्न आग्रह गरेको छ ।
साना गाडीहरु दुई वटा वैकल्पिक रुटमार्फत काठमाडौं भित्रिरहँदा यात्रुवाहक र मालवाहक सवारी ३६ घण्टादेखि जाममा छ । जिल्ला प्रशासन कार्यालय, चितवन र जिल्ला प्रहरी कार्यालयले सडकमा अलपत्र परेका चालक र यात्रुलाई खाना बाँड्न थालेको छ ।
टिप्पणीहरू