सबै श्रेणीहरू

शीतल निवासमा रातभर यसरी गरियो सल्लाह

शीतल निवासमा रातभर यसरी गरियो सल्लाह

भदौ २३ गते जेन–जी समूहको प्रदर्शनका क्रममा गोली लागेर १९ जनाको ज्यान गएपछि सरकारविरुद्ध देशव्यापी आक्रोश चर्किएको थियो । भ्रष्टाचार र बेथितिको विरोधमा युवाहरूले गरेको प्रदर्शनमाथि बर्बर दमनको निन्दा र भत्र्सना भइरहेको थियो । गृहमन्त्री रमेश लेखक पद छोड्न बाध्य भएका थिए भने प्रधानमन्त्री केपी शर्मा ओलीमाथि राजीनामा दिन दबाब बढिरहेको थियो । देशमा सृजित यस्तो विषम परिस्थितिमा विपक्षी दलले खेल्नुपर्ने भूमिकाबारे छलफल गर्न २४ गते बिहान ९ बजे सिंहदरबारमा विपक्षी मोर्चाको बैठक बोलाइएको थियो । 

माओवादी केन्द्र संसदीय दलको कार्यालयमा बसेको बैठकमा पुष्पकमल दाहाल प्रचण्डसहित विभिन्न पार्टीका शीर्ष नेता सहभागी थियौँ । बैठक बसिरहेकै बेला अघिल्लो दिनको आक्रोशले एकाएक विष्फोटक रूप लिइरहेको थाहा भयो । सरकारी तथा निजी सम्पत्तिमा तोडफोड, लुटपाट र आगजनीका समाचार आउन थाले । आक्रोशित भीडले पार्टी कार्यालय र नेताहरूको घर छानीछानी आगो लगाउन थालेपछि बैठक स्थगित गरियो । यस्तो स्थितिमा त्यहाँ बस्नु उपयुक्त हुँदैनथ्यो, त्यसैले प्रचण्डजीसहित हामीहरू सुरक्षित स्थानतर्फ जाने निधोमा पुग्यौं । 

मसँग स्वकीय सचिव लक्ष्मण अर्याल, नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्रराय यादव र पार्टी नेता मेटमणि चौधरी हुनुहुन्थ्यो । चार जना यौटै गाडीमा बसेर सिंहदरबार छेउको सैनिक ब्यारेकमा पुगी आफू भूपू रक्षामन्त्रीसमेत रहेको बताएपछि नरसिंह दलभित्र जान दिइयो । हामी चार जनालाई एउटा कोठामा राखिएको थियो । एकातिर बाहिरको त्रासदीपूर्ण अवस्था, अर्कोतिर त्यहाँको उकुसमुकुसले रातभर सुत्न सक्ने अवस्था थिएन । प्रचण्ड अर्को भवनमा हुनुहुन्थ्यो । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, न्यायाधीश सपना मल्ल प्रधानसहितलाई पनि यही ब्यारेकमा ल्याइयो । 
रातभर सुत्न नसकेका हामी बिहान चार बजे अँध्यारोमै निस्कियौँ तर घर जलेर ध्वस्त भएकाले कहाँ जाने टुंगो थिएन । सहयोगीको सहारामा कतै बस्नुपर्ने बाध्यता भयो ।  तनाव नै तनावको स्थितिमा राष्ट्रपति कार्यालयबाट पटक–पटक फोन आइरह्यो । २५ गते राती सेनाको गाडीले शीतल निवास पु¥यायो । प्रचण्ड पहिले नै पुगिसक्नुभएको रहेछ । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानसेनापति अशोक सिग्देलसहित बसेर राजनीतिक तथा संवैधानिक निकासबारे लामो संवाद भयो । कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसै राष्ट्रपतिलाई भेटेर नयाँ सरकार गठनका लागि सहमति दिएका रहेछन् तर हामीलाई थाहा दिइएको थिएन । बुझिएअनुसार सेनापतिले  संकटकाल लाग्ने स्थिति हुन्छ, अप्ठेरो पर्छ भनेपछि ओलीलाई शीतलनिवास बोलाएर नयाँ सरकार गठनमा सहमति लिइएको रहेछ । पछि अर्कै स्रोतबाट यो कुरा थाहा भएको हो ।  

आन्दोलनकारीको तर्फबाट वार्तामा आएका सुशीला कार्की र ओमप्रकाश अर्यालहरू पनि राष्ट्रपति कार्यालयको अर्को कोठामा थिए । तर, उनीहरूसँग हाम्रो देखादेख भएन । दुवैतर्फको सन्देश यताउता भने भैरहन्थ्यो । एकातिर सडकमा आगो बलिरहेको थियो भने दलहरू ‘निलम्बित’ अवस्थामा थिए, अर्कोतर्फ संविधान र लोकतन्त्र जोगाउनुपर्ने चुनौती थियो । सम्माननीय राष्ट्रपति निकै दबाबमा हुनुहुन्थ्यो । उहाँको निडर, निर्भिक र निर्णायक भूमिकाकै कारण आज लोकतन्त्र जोगिएको छ, व्यवस्था बचेको छ । 

छलफलमा विभिन्न विकल्प आए पनि सहमति जुट्न सकेन । सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउन करिब सबै सहमत थिए । प्रधानन्यायाधीश भैसकेको, उमेर र अनुभवको हिसाबले परिपक्व मान्छे, महिला पनि भएकाले उहाँजत्तिको अर्को विकल्प थिएन । लोकतान्त्रिक पद्धतिलाई आत्मसात गर्न र दलहरूसँग समझदारी कायम राख्न सक्ने भएकाले प्रधानमन्त्रीमा उहाँ नै उपयुक्त पात्र हो भन्नेमा विवाद थिएन । तर, पहिले प्रधानमन्त्री नियुक्ति कि प्रतिनिधिसभा भंग भन्नेमा विवाद देखियो । प्रतिनिधिसभा पहिले विघटन गर्नुपर्ने आन्दोलनकारीको मागमा दलहरू सहमत भएनन् । प्रतिनिधिसभाको पहिलो बैठक बोलाएर कुरा राख्ने अवसर दिइयोस् भन्ने प्रचण्डजी र मेरो प्रस्ताव आन्दोलनकारीको तर्फबाट वार्तामा रहेकाहरुले मान्दै मानेनन् । 

त्यसक्रममा संसदभित्रैबाट नयाँ विकल्पको सम्भावनाबारे पनि छलफल चल्यो । कांग्रेसबाटै शेखर कोइराला वा अरु कसैलाई प्रधानमन्त्री बनाउन सकिने प्रस्ताव पनि आयो । तर, काठमाडौँ महानगरका मेयर बालेन्द्र साहसँग निरन्तर सम्पर्क र समन्वयमा रहेका प्रतिनिधिले सो प्रस्ताव ठाडै अस्विकार गरेको भन्ने बुझियो । यो सबै प्रक्रियामा सेनापतिको भूमिका सकारात्मक थियो । उहाँले पार्टीहरूको भूमिकालाई नजरअन्दाज गर्दा देशमा गृहयुद्ध निम्तिने र विदेशी फौज आउनसक्ने खतरा औंल्याउँदै आन्दोलनकारी शक्ति र राजनीतिक दल जिम्मेवार हुनुपर्ने धारणा राख्नुभएको थियो ।
बाहिर भने राष्ट्रपतिलाई राजीनामा गराएर सेनाले राजा फर्काउन लागेको चर्चा व्यापक थियो । मैले थाहा पाएअनुसार पूर्वराजा ज्ञानेन्द्र शाहसँग पनि एउटा विकल्पमा कुरा भएकै रहेछ तर दलहरूले सहमति नदिएसम्म राजा आउन तयार छैन भन्ने जवाफ आयो । निर्मल निवासले पनि दलहरूप्रति नै भरोशा देखाएपछि राजा फर्काउने कुरा छोडेर अहिलेको विकल्पमा छलफल अघि बढाइएको भन्ने छ । 

सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउनेमा सबैको कुरा मिल्यो । नयाँ प्रधानमन्त्रीको सिफारिसमा पहिलो क्याबिनेट बैठकबाट प्रतिनिधिसभा विघटनको सिफारिस गर्ने कुरामा पनि विमति रहेन । तर, राजनीतिक सहमतिलाई वैधानिकता दिन विद्यमान संविधानको व्यवस्था बाधक बन्यो किनभने संविधानले संसद बाहिरबाट प्रधानमन्त्री बनाउने कुराको कल्पना गरेको छैन । त्यसपछि यसलाई कसरी निकास दिने भन्ने छलफल हुँदा पूर्व महान्यायाधिवक्तासमेत रहेका राष्ट्रपतिका कानुनी सल्लाहकार बाबुराम कुँवरसहित बसेर संविधानको धारा–धारा केलाउन थालियो । नेपालको संविधानले राष्ट्रपतिलाई संविधानको पालक तथा संरक्षणकर्ता मात्र मानेको छैन, केही विशेषाधिकार पनि तोकेको छ । संविधानको धारा ६१ मा राष्ट्रपतिको अधिकारबारे उल्लेख छ । त्यही धारामा टेकेर सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने सल्लाह भयो । 

पूर्वराजा ज्ञानेन्द्र शाहसँग पनि एउटा विकल्पमा कुरा भएकै रहेछ तर दलहरूले सहमति नदिएसम्म राजा आउन तयार छैन भन्ने जवाफ आयो । 

यो सबै प्रक्रियामा कांग्रेस र एमालेको देखिने तहमा संलग्नता थिएन । सहमति जुटिसकेपछि शेरबहादुर देउवालाई पनि सोध्नुपर्ने सल्लाह हामीले दियौं । राष्ट्रपति कार्यालयले सम्पर्क गर्दा अस्पतालमा उपचाररत उहाँ आउन सक्ने अवस्था नभएपछि उपसभापति पूर्णबहादुर खड्कालाई फोन गरिएको थियो । तर, धेरैथोक बिग्रिसकेको भन्दै उहाँले राति शीतलनिवास आउन नसक्ने खबर गर्नुभयो । देश तरल राजनीतिक अवस्थामा रहेकाले मिनेट–मिनेटको महत्व हुन्छ । रात रहे अग्राख पलाउँछ भनेझैँ भोलिसम्म के हुने हो थाहा छैन । बिहान ८ बजे ब्रेकफास्टपछि आउने जवाफ दिएर पूर्णबहादुर पछि हटेपछि शीतल निवासले कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मालाई फोन गर्‍यो । उनले फोनबाटै प्रतिनिधिसभा विघटनमा मञ्जुरी जनाए । भोलिपल्ट कांग्रेसको प्रतिनिधि भएर पर्यटनमन्त्री बद्रिप्रसाद पाण्डेले औपचारिकरूपमा सहमति जनाएपछि प्रतिनिधिसभा विघटन र सरकार बनाउने कुरामा सहमति जुटेको हो ।  

सम्माननीय राष्ट्रपतिको जोड दलहरूको भूमिकालाई संबोधन गरेर जानुपर्छ भन्ने थियो । उहाँले पार्टीनिकट एक–एक जनालाई राखेर क्याबिनेट बनाउन सुझाव पनि दिनुभएको हो । तर, जेन–जीको तर्फबाट छलफलमा रहेकाहरूले त्यसलाई स्वीकार गरेनन् ।यता, माधव नेपाल भारतीय दूतावासमा शरण लिन गएको भन्दै व्यापक हल्ला चलाइयो । देश अप्ठेरोमा परेका बेला लुकेर बस्नु हुँदैन भनेर नै म प्रतिकूलताका बीच पनि ब्यारेकबाट भोलिपल्टै निस्किएको हो । तर, संविधान र लोकतन्त्र जोगाउन खेलिएको भूमिकालाई  कमजोर बनाउन यस्तो कपोलकल्पित र भ्रामक प्रचार गराएको मैले बुझेको छु । नेपालको वाम तथा लोकतान्त्रिक आन्दोलनमा मैले खेलेको भूमिका र राष्ट्रियताको पक्षमा लिएका अडान इतिहासको पानामा सुरक्षित नै छ । त्यसकारण कुनै विदेशी शक्तिसामु लम्पसार पर्दै ज्यान जोगाउन शरण पर्ने कुराको कल्पना पनि गर्न सकिँदैन । 

तनाव र चुनौतिपूर्ण समयमा दलहरूको हातबाट पहलकदमी गुमिरहेको स्थिति एकातिर थियो भने अर्कातिर अराजक भीडको आक्रोशको निशानामा हामी नेता नै परेका थियौँ । यस्तो कठिन अवस्थामा बिहान चार बजे नै सेनाको ब्यारेकबाट निस्किएर आफन्त र साथीभाइको घरमा सहारा लिंदै कफ्र्युका बीच शीतल निवास जानु कम चुनौतिपूर्ण थिएन । यद्यपि, लोकतान्त्रिक आन्दोलनका उपलब्धिको रक्षा गर्न आ–आफ्नो ठाउँबाट भूमिका खेल्नु हामी सबैको कर्तव्य हुन्थ्यो, मैले पनि त्यो भूमिका निर्वाह गरेको हुँ । ०४७ सालको संविधान सुधार सुझाव आयोगमा विश्वनाथ उपाध्याय, भारतमोहन अधिकारी, निर्मल लामा, लक्ष्मण अर्यालसँग बसेर काम गरेको अनुभव थियो । इतिहास र अभिलेखले पनि यी कुरा स्पष्ट पारेकै छ ।

(जनआस्था साप्ताहिकको असाेज ८ गते बुधबारको अंकमा प्रकाशित)