उम्मेदवारी दर्ता र बहस एकैदिन,के होला चुनाव ?
गगन थापा नेतृत्वको नेपाली काँग्रेसलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता भएको छ । पुरानो काँग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले रिट दर्ता गरेका हुन् ।
पर्सि मङ्गलवार माघ ६ गतेलाई पेशी तोकिएको मुद्दाको दर्ता नम्बर ०८२–डब्ल्युओ–७७३ रहेको छ । बिहान ११ बजे मुद्दाउपर सुनुवाई शुरु हुनेछ । मुद्दाको गाम्भीर्यतालाई ध्यानमा राख्दै सर्वोच्चले इजलास नै नबसिकन निर्वाचन आयोग, सभापति शेरबहादुर देउवा र गगन पक्षलाई पर्सि छलफलमा बोलाएको छ ।
तीनै पक्षसँग छलफल गर्दा उम्मेदवारी दर्ता भइसक्ने भएकाले देउवा पक्षले चुनावी प्रक्रिया रोक्न माग गर्नसक्ने देखिएको छ ।
फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि माघ ६ गते उम्मेदवारी दर्ता हुँदैछ । ‘उम्मेदवारी दर्ता र मुद्दाको पेशी एकै दिन छ । उम्मेदवारी दर्ता भएपछि निर्वाचन प्रक्रिया अगाडि बढ्ने भएकाले देउवा पक्षले अदालतसमक्ष निर्वाचन प्रक्रिया रोक्न माग गर्ने सम्भावना छ’,स्रोतले भन्यो ।
यसअघि आइजिपी नियुक्ति प्रकरणमा सुशीला कार्कीले सोही दिन दर्ता भएको निवेदनउपर बहस सुनेर लगत्तै एक खाले आदेश जारी गरेकी थिइन् ।
निर्वाचन आयोगले माघ २ गते गगन र विश्वप्रकाश शर्मा समूहलाई आधिकारिक काँग्रेसको मान्यता दिएको थियो । त्यसपश्चात् हिजो बिहान पार्टी मुख्यालय सानेपामा बसेको देउवा पक्षको बैठकले आयोगको निर्णयविरुद्ध मुद्दा दायर गर्ने निर्णय गरेको थियो ।
आज मुद्दा दायर भएकोमा कार्यवाहक सभापति खड्काले आजै सुनुवाई गर्न सर्वोच्च प्रशासनसमक्ष आग्रह गरेका थिए । मुद्दा दायर भएकै दिन सुनुवाई गर्न नमिल्ने नयाँ व्यवस्थाका बाबजुद सर्वोच्चले पहिलो पेशीसमेत नचढिकन तीनै पक्षलाई झिकाउने आदेश गरेको हो । यसअघि आइजिपी नियुक्ति प्रकरणमा सुशीला कार्कीले सोही दिन दर्ता भएको निवेदनउपर बहस सुनेर लगत्तै एक खाले आदेश
जारी गरेकी थिइन् ।
यता,काँग्रेसको विवादले चुनाव नै रोकिने संकेत देखिएपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह र भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले तत्काल राजीनामा नदिने भएका छन् । निर्वाचनमा उम्मेदवार बन्न उनीहरु आज र भोलि उपमेयरसमक्ष राजीनामा बुझाउने तरखरमा थिए ।
टिप्पणीहरू