गुण्डुको ‘पावर’ र अस्मिताको छलाङ्ग
नेपाली राजनीतिमा आलोचनाको ‘आ’ पनि सुन्न नचाहने शीर्ष नेता को हुन् ? भनेर प्रश्न सोध्यो भने सम्भवत: धेरैको जवाफ हुन्छ- एमाले अध्यक्ष केपी शर्मा ओली । पार्टी पंक्तिमा ‘बा’ भनिने उनी आफूमाथि कसैले प्रश्न उठाएको मन पराउँदैनन् । फरक विचार समूह र आलोचकप्रति कतिसम्म तुष र इगो राख्छन् भन्ने कुराको जिउँदो उदाहरण भीम रावल छँदै छन् ।
आलोचना गर्नेलाई 'भित्तैमा पुर्याउने' स्वभावका उनै ओली अर्थात् एमालेका 'बा' आफ्नो प्रशंसा गर्नेहरूलाई भने जुरुक्कै बोक्न पनि पछि पर्दैनन् भन्ने दृष्टान्त अनेक छन् । यसैबीच आगामी प्रतिनिधिसभा निर्वाचनको लागि उनले ‘गोजीका मान्छे’लाई प्राथमिकतामा राखेर टिकट बाँडेपछि केही नेता ‘भीम रावल’ बन्न लागेकाे चर्चा छ ।
जिल्ला र क्षेत्रीय समितिको सिफारिसमै नपरेका व्यक्तिलाई गुण्डुको एकल निर्णयमा टिकट दिइएपछि एमालेमा असन्तुष्टि चर्किएको छ । केही नेताले सार्वजनिक रूपमै आक्रोश जनाउन थालेका छन् ।
ओलीलाई 'बा' भनेर टाउको निहुर्याएकै कारण प्रतिनिधिसभा सदस्यको टिकट हात पार्न सफल नेतृ हुन्,अस्मिता थापा । लिखु गाउँपालिकाको उपाध्यक्षसमेत रहेकी उनी महाधिवेशन प्रतिनिधि छनोटको निर्वाचनमा पराजित भएकी थिइन् । तर,अनेक गरेर प्रतिनिधि छानिएकी उनले केन्द्रीय सदस्य पनि हात पारिन् ।
अहिले फेरि उनैलाई टिकट दिएर लामो समयदेखि पार्टी निर्माणमा योगदान गर्दै आएका जिल्लाका पाका नेताहरू गुण्डुद्वारा दण्डित भएका छन् । पुस २३ गते बसेको जिल्ला कमिटीको सातौँ विस्तारित बैठकले ईश्वर पोखरेलसहित पाँच जनाको नाम सिफारिस गरेको थियो ।
सिफारिस हुने अन्यमा पूर्वमन्त्री अम्बिरबाबु गुरुङ,यज्ञराज सुनुवार,नानीबाबु बुढाथोकी र ज्ञानबहादुर खड्का थिए । तर उनीहरू सबैलाई जिल्याउँदै सिफारिसमै नपरेकी थापा टिकट हत्याउन सफल भइन् ।
गुण्डुको यो कदमले जिल्ला पार्टीमा आक्रोश चुलिएको छ । नेतृत्वले सक्षम नेताहरूलाई पाखा लगाउन खोजेको स्पष्ट सन्देश दिएको जिल्ला अध्यक्ष ज्ञानबहादुर खड्का बताउँछन् । उनले टिकट वितरणको निर्णय सच्याउन ओलीलाई आग्रहसमेत गरेका छन् ।
टिप्पणीहरू