महेश र प्रदीपका खातिर गोकर्ण र सोमलाई टिकट

महेश र प्रदीपका खातिर गोकर्ण र सोमलाई टिकट

नेकपा (एमाले) का सचिव महेश बस्नेत र प्रदीप ज्ञवालीलाई जिताउने रणनीतिअनुसार पार्टी अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष गोकर्ण विष्ट र चाँगुनारायण नगरपालिकाका पूर्वमेयर सोम मिश्रलाई किस्तामा टिकट उपहार दिएको चर्चा छ । फरक कित्ताका नेतालाई टिकटबाट रोक्दा पनि ओलीले यी दुईलाई टिकट दिएको राजनीतिक वृत्तमा विश्लेषण भइरहेको छ ।

भक्तपुर–१ मा सोम मिश्रलाई टिकट दिँदा एमालेका असन्तुष्ट समूहहरू पनि समेटिने र नेकपाको गढ मानिने उक्त क्षेत्रमा मिश्रले चुनाव नजित्ने रणनीतिअनुसार टिकट वितरण गरिएको बुझाइ छ । त्यसैगरी दुई निर्वाचन क्षेत्र रहेको गुल्मीमा गोकर्ण विष्टलाई टिकट दिएपछि प्रदीप ज्ञवालीलाई जित्न सहज हुने मूल्यांकनका आधारमा विष्टको विरोध नगरी टिकट दिइएको सहजै अनुमान लगाइएको छ ।

११औँ महाधिवेशनमा ओलीसँग प्रतिस्पर्धा गरेका र फरक टिममा रहेका नेताहरूलाई टिकट नदिने नीतिअनुसार काठमाडौं–४ बाट सिफारिस भए पनि ईश्वर पोखरेलले टिकट पाएनन् । महासचिवका उम्मेदवार सुरेन्द्र पाण्डे, उपमहासचिव योगेश भट्टराई र सचिव गोकुल बाँस्कोटालाई पनि ओलीले रोकेका छन् ।

रुपन्देही–२ बाट निर्वाचन लड्दै आएका विष्णु पौडेलले निर्वाचन क्षेत्र परिवर्तन गरेपछि पाल्पा–२ बाट चुनाव लड्दै आएका ठाकुर गैरेले टिकट गुमाएका छन् ।

टिकट नपाउनेको सूचीमा कर्ण थापा पनि परेका छन् । थापा ओलीलाई विस्थापन गर्नुपर्ने एजेन्डा बोकेर पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको समूहलाई स्थापित गराउन सक्रिय भूमिका खेलेका व्यक्ति हुन् । ओलीको राम्रो नजरमा नपरेका अन्य नेतामा ऐन महर,झपट रावल,नारदमुनि राना, कृष्णगोपाल श्रेष्ठ,विनोद खतिवडा र छविलाल विश्वकर्मा रहेका छन् ।

टिप्पणीहरू