अतिवादले खति निम्त्याउने, मध्यमार्गीले समस्याको समाधान

अतिवादले खति निम्त्याउने, मध्यमार्गीले समस्याको समाधान

नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले आफू मध्यमार्गी भएकै कारण पार्टीभित्र विभिन्न दबाब झेलिरहेको बताएका छन्। उनले मध्यमार्ग र सत्यको बाटो कठिन र अप्ठ्यारो भए पनि अन्ततः जीत सत्यकै हुने दाबी गरे ।

“म मध्यमार्ग र सत्यको बाटोमा हिँडिरहेको छु। यो बाटो सजिलो छैन, तर यसबाट विचलित हुँदिनँ,” उनले भने।

डा. कोइरालाले पार्टीभित्र अतिवाद हाबी हुँदै गएको भन्दै आफू कुनै पनि अतिवादको घेरामा नपरी मध्यमार्गी बाटोमै अडिग रहने स्पष्ट पारे। पार्टी अहिले कठिन परिस्थितिमा रहेकाले मध्यमार्गी भूमिकाबाटै संकट समाधान गर्नुपर्नेमा उनले जोड दिए।

आज काठमाडौंमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै डा. कोइरालाले यही फागुन २१ गते हुने भनिएको निर्वाचनमा सहभागी हुने प्रतिबद्धता व्यक्त गरे। देश र लोकतन्त्र संकटमा रहेकाले निर्वाचनमा जानुको विकल्प नरहेको उनको भनाइ थियो। उनले नेता–कार्यकर्तालाई पनि सक्रिय रूपमा निर्वाचनमा सहभागी हुन आह्वान गरे।

उनले निर्वाचन सहज बनाउन माघ ६ गतेको मनोनयन मिति सार्न निर्वाचन आयोगलाई अनुरोध गरिएको जानकारी पनि दिए। साथै सरकारले निर्वाचनको वातावरण बनाएर सुरक्षाको सुनिश्चितता गर्नुपर्ने भए पनि हालसम्म त्यसको स्पष्ट प्रत्याभूति नभएको उनको गुनासो थियो।

पार्टीभित्र देखिएको विवाद अदालत प्रवेश गरिसकेकाले अदालतको निर्णय आफूलाई स्वीकार्य हुने पनि उनले बताए। साथै उनले निर्वाचनसँगै पार्टीको १५औँ महाधिवेशनको तयारीमा जुट्न नेता–कार्यकर्तालाई निर्देशन दिए।

कार्यक्रममा सुझाव राख्दै जिल्लाका नेता तथा कार्यकर्ताहरूले निर्वाचन आयोगले अन्याय गरेको भए पनि अदालतले न्याय गर्ने विश्वास व्यक्त गरेका थिए। साथै पार्टीको १५औँ महाधिवेशनको सुनिश्चितता आवश्यक रहेको र तोकिएको मितिमा निर्वाचन हुनेबारे अझै ढुक्क हुन नसकिने धारणा पनि उनीहरूले राखेका थिए।

टिप्पणीहरू