तीन वर्षअगावै पार्टी "परित्याग",अहिले टिकट
नेकपा एमालेले तीन वर्षअघि पार्टी परित्याग गरेकी नेतृलाई प्रत्यक्षतर्फको उम्मेदवार बनाएको छ । आउँदो फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि एमालेले सन् २०२२ मै पार्टी छोडेकी कल्पना राईलाई सोलुखुम्बुबाट टिकट दिएको हो ।
उनले आफूले टिकट पाएको पुष्टि गरिन् । जनआस्थासँग भनिन्,‘फागुन २१ को निर्वाचनका लागि सोलुखुम्बुबाट एमालेले मलाई उम्मेदवार बनाएको छ ।’ २०७४ सालमा सोलु दूधकण्ड नगरपालिकाको उपमेयरमा निर्वाचित उनी उम्मेदवार बनेसँगै एउटा स्ट्याट्स भाइरल बनेको छ ।
सन् २०२२ अप्रिल २३ मा उनले एमालेमा आफ्नो राजनीतिक यात्रा समाप्त भएको घोषणा गर्दै स्ट्याट्स लेखेकी थिइन् । जसमा भनिएको छ,‘१२ वर्षको उमेरमा अनेरास्ववियुको प्रा.क.अध्यक्ष भएर शुरु गरेको नेकपा एमालेको मेरो राजनीतिक यात्रा आजको मितिदेखि अन्त्य गर्ने घोषणा गर्दछु ।’
यता,उनले आफूले कहिल्यै पार्टी नछोडेको बताइन् । ‘मैले कहिल्यै पार्टी छोडेको छैन’,उनले भनिन् । उनी एमालेको जिल्ला कमिटी सचिव, अञ्चल कमिटी कोषाध्यक्ष,केन्द्रीय सदस्य,सचिवालय सदस्य,महिला इञ्चार्जदेखि केन्द्रीय सदस्यसम्म भएकी नेतृ हुन् ।
टिप्पणीहरू