अस्मितालाई "बा"ले  टिकट दिनासाथ पार्टी कार्यालयमा तालावन्दी

अस्मितालाई "बा"ले  टिकट दिनासाथ पार्टी कार्यालयमा तालावन्दी

नेपाल कम्युनिष्ट पार्टी (एमाले) ओखलढुंगामा प्रतिनिधिसभा निर्वाचनको उम्मेदवार चयनले किचलो जन्मिएको छ । लिखु गाउँपालिका उपाध्यक्ष अस्मिता थापालाई अध्यक्ष केपी शर्मा ओलीले एक महिनाको अन्तरमा लगातार तीन वटा पुरस्कार  दिएपछि शुरू भएको असन्तुष्टि एमाले जिल्ला पार्टी कार्यालयमा अनिश्चितकालीन तालाबन्दीसम्म पुगेको छ । 

जिल्लाको सिफारिसबेगर महाधिवेशन प्रतिनिधि,केन्द्रीय सदस्य र हिजो राती साँसदको टिकट दिइएको थियो । 

केन्द्रीय कमिटीले जिल्ला कमिटीको सिफारिसलाई बेवास्ता गर्दै व्यक्तिगत पहुँचका आधारमा अस्मितालाई उम्मेदवार बनाएको भन्दै आजै तालाबन्दी गरिएको छ ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि जिल्ला कमिटीले गरेको छलफल,निर्णय र सर्वसम्मत सिफारिसलाई बेवास्ता गरिएको भन्दै संयुक्त विज्ञप्तिसमेत जारी गरिएको छ । 

राष्ट्रिय युवा संघ नेपाल,अनेरास्ववियु, अखिल नेपाल महिला संघ र नेपाल खेलकुद महासंघले संयुक्त विज्ञप्ति जारी गर्दै केन्द्रीय कमिटीको निर्णयप्रति आपत्ति जनाएका छन् ।

अस्मिता थापालाई अध्यक्ष केपी शर्मा ओलीले एक महिनाको अन्तरमा लगातार तीन वटा पुरस्कार दिएपछि शुरू भएको असन्तुष्टि एमाले जिल्ला पार्टी कार्यालयमा अनिश्चितकालीन तालाबन्दीसम्म पुगेको छ ।

विज्ञप्तिमा पार्टीको विधि,विधान र सिद्धान्तविपरित उम्मेदवार चयन गरिएको उल्लेख छ । निर्णय नसच्याएसम्म जिल्ला पार्टी कार्यालयमा तालाबन्दी कायम राखिने चेतावनी दिइएको छ । 

राष्ट्रिय युवा संघ नेपाल ओखलढुंगा अध्यक्ष विवेक तामाङले पार्टीको आन्तरिक लोकतन्त्रको अपमान भएकाले बाध्य भएर यस्तो कदम चाल्नुपरेको बताए ।

जिल्ला कमिटीले पनि सर्वसम्मत निर्णयको बेवास्ता हुँदा पार्टीभित्र गम्भीर असन्तोष र आक्रोश पैदा भएको जनाएको छ । अध्यक्ष ज्ञानबहादुर खड्काले जिल्ला कमिटीको सिफारिसविपरीत चयन गरिएका उम्मेदवारलाई सहयोग गर्न नसकिने जनाएका छन् ।

 स्थानीय नेता तथा कार्यकर्ताले केन्द्रीय कमिटीको निर्णय पुनरावलोकनको माग गरेका छन् । उम्मेदवार चयनलाई लिएर बढ्दो विवादले एमाले ओखलढुंगाको संगठनात्मक अवस्था थप जटिल बन्दै गएको छ ।

जिल्ला कमिटीले प्रतिनिधिसभा उम्मेदवारका लागि ईश्वर पोखरेल, अम्बिरबाबु गुरुङ,यज्ञराज सुनुवार, ज्ञानबहादुर खड्का र नानीबाबु बुढाथोकीको नाम सर्वसम्मत सिफारिस गरेको थियो। 

तर बहालवाला जनप्रतिनिधि अस्मिता थापाको नाम जिल्ला कमिटीबाट सिफारिस नभएकै अवस्थामा ओलीले टिकट दिएपछि कलह शुरू भएको हो ।

टिप्पणीहरू