आगामी प्रतिनिधिसभा निर्वाचनमा कर्णालीका ८ जिल्लामा तालमेल गर्नेगरी नेकपा (एमाले) र प्रतितिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)बीच भएको सहमतिमा नयाँ ट्वीस्ट आएको छ । दुई दिनअघि मात्र एमाले उपाध्यक्ष रामबहादुर थापा बादल र प्रलोपाकी अध्यक्ष दुर्गा सोबले हस्ताक्षर गरेको तीन बुँदे सहमति रुकुम पूर्वको एमाले जिल्ला कमिटीले नमान्ने बताएको हो ।
सहमतिअनुसार रुकुम पूर्वमा एमालेले प्रलोपाका उम्मेद्वार सन्दिप पुनलाई समर्थन गर्ने तय भएको थियो । तर उक्त निर्वाचन क्षेत्रमा एमालेबाट उम्मेद्वार बनेका लिलामणि गौतमले आज अध्यक्ष केपी शर्मा ओलीलाई भेटेरै पुनलाई सघाउन नसकिने स्पष्ट अडान लिएको बुझिएको छ । गौतमले सामाजिक सञ्जालमा ओलीसँगको तस्वीर शेयर गर्दै रुकुम पूर्वका एमाले मतदातालाई सूर्य चिन्हमै मत दिन आग्रह गरेका छन् । ‘श्रद्धेय पार्टी अध्यक्षज्यूसँग चुनावी सरगर्मी र रुकुम पूर्वको चुनावी अवस्थाबारे वस्तुनिष्ट छलफल भएको छ’, उनले भनेका छन्, ‘प्रत्यक्ष र समानुपातिक दुवैमा सूर्यमा भोट हाल्न आम मतदातालाई आह्वान गर्दै अध्यक्षज्यूको स्पष्ट निर्देशन छ, जिल्ला जाने, पार्टी परिचालन गर्ने, अनि चुनाव जितेर आउने ।’
यससँगै अन्य जिल्लामा हुने भनिएका चुनावी तालमेल पनि अन्यौल परेका छन् । रुकुम पश्चिममा एमालेले प्रलोपाका उम्मेद्वार जनार्दन शर्मालाई समर्थन गर्दै आँखामा भोट हाल्छ वा आफ्नै सूर्य चिन्हमा हाल्छ, त्यो भने खुल्न बाँकी छ ।