भारततिरको निम्तो

प्रधानमन्त्री शेरबहादुर देउवा भर्खर बालुवाटार जानुभयो । अब नयाँदिल्ली जाने तरखरमा हुनुहुन्छ । नेपालमा प्रधानमन्त्री बन्ने कुनै पनि नेता बालुवाटार गएपछि जाने अर्को ठाउँ भनेकै नयाँदिल्ली हो । प्रधानमन्त्री निर्वाचित भएपछि उहाँहरू बालुवाटारै जान पाएको हुँदैन दिल्ली जाने चिन्ताले सताउन थालिसकेको हुन्छ । कहिलेकाहीँ त कन्फ्युज नै हुँदो हो, प्रधानमन्त्री भएपछि पहिले दिल्ली जाने कि बालुवाटार !

प्रधानमन्त्री देउवा अस्ति भर्खर बालुवाटार जानुभयो । अब दिल्ली जाने मिति तय हुँदै छ । सुनिन्छ, उहाँ सकभर भारतको गणतन्त्र दिवशमा भाग लिन जाने सम्भावना छ । उहाँलाई नेपालको गणतन्त्र दिवशभन्दा पनि भारतको गणतन्त्र दिवश प्यारो जो छ । उहाँ चाहनुहुन्छ कि भारतले आफ्नो गणतन्त्र दिवशको कार्यक्रममै निम्तो गरोस् । 

गणतन्त्र दिवशमा निम्तो गर्न नसकिए पनि केही छैन । अर्को दिवशमा गरे पनि फरक छैन । स्वाधीनता दिवश, गान्धी दिवश, नेहरू दिवश, लोहिया दिवश, आजाद दिवश जे दिवश भए पनि हुन्छ । त्यो पनि नभए प्रेम दिवश, पुस्तक दिवश, मधुमेह दिवश, पानी दिवश, वातावरण दिवश अथवा यस्तै अर्को कुनै दिवशमा निम्तो गरे हुन्छ । तत्काल कुनै दिवश आउनेवाला छैन भने प्रधानमन्त्री, उपप्रधानमन्त्री (यदि छन् भने), मन्त्री, विनाविभागीय मन्त्रीको बर्थडेका उपलक्ष्यमा निम्तो गरे हुन्छ । त्यो पनि चल्छ ।

विशेष दिवशको रिबन काट्न नपाए पनि बर्थडेको केक काटिदिउँला नि ! के भयो र ? आखिर काट्ने नै हो । भर्खर बालुवाटार जाँदा बोका काट्नुभएको थियो । सरकारलाई मान्छे काट्ने पार्टीको समर्थन छ । पाए त्यसका नेताको पनि टाउको काट्ने तयारी त्यतिबेला भएकै थियो । अब काट्नमा उहाँलाई कसले सक्नु ? 

हेरौं, भारतले अब उहाँलाई कुनचाहिँ वस्तु काट्न बोलाउने हो !  

टिप्पणीहरू