कामरेडको गुमराहमा परेकाहरु लगानी डुबेको भन्दै कराएपछि, पौडेलको नेतृत्वमा शेयरमा ठगिएकाको संघर्ष समिति गठन

कामरेडको गुमराहमा परेकाहरु लगानी डुबेको भन्दै कराएपछि, पौडेलको नेतृत्वमा शेयरमा ठगिएकाको संघर्ष समिति गठन

माथिल्लो मैलुङखोला ए लघु जलविद्युत आयोजनाका संस्थापन शेयर लगानीकर्ताहरुले शेयर लगानी पीडित संघर्ष समिति गठन गरेका छन् । २०७४ सालमा शेयर लगानी गर्ने भन्दै संकलित रकमबारे वर्षौसम्म कुनै जानकारी नभएपछि लगानी डुबेको आशंकामा लगानीकर्ताहरु आन्दोलित बनेका हुन् ।

काठमाडौँमा भएको भेलाले चन्द्रप्रसाद पौडेलको संयोजकत्वमा सात सदस्यीय पीडित संघर्ष समिति गठन गरेको हो । समितिका सदस्यहरुमा शंकर थपलिया,खेमनाथ न्यौपाने, निरन्जन प्याकुरेल,रामेश्वर लोहनी, भाइराजा ढुंगाना र राजाराम थपलिया रहनुभएको छ ।

गठित समितिले तत्कालीन नयाँ शक्ति पार्टीको अगुवाईमा विवेकशील आदर्श इन्भेष्टमेन्ट कम्पनीले नुवाकोट,रसुवालगायत बागमती प्रदेशका विभिन्न जिल्लाबाट संकलन गरेको करोडौं रकमको वास्तविक अवस्था सार्वजनिक गर्न माग गर्ने निर्णय गरेको छ ।

५ वर्षअघि तत्कालीन नयाँ शक्ति पार्टीका कार्यकर्ता र सर्वसाधारणबाट करोडौँ रकम संकलन गरी शेयर धनी प्रमाणपत्रसमेत उपलब्ध नगराई रकमबारे कुनै जानकारी नदिइएकाले रकम हिनामिना भएको भएको लगानीकर्ताको गुनासोसहितको समाचार सार्वजनिक भएको थियो ।

भेलाले संघर्ष समितमार्फत् अपर मैलुङ आयोजनाको प्रवर्धक कम्पनी इनर्जी इन्जिनियरिङ कम्पनी र विवेकशील आदर्श इन्भेष्टमेन्ट कम्पनी प्रा.लि.वीच भएको शेयर लगानी सम्झौता र आयोजनाको प्रगति विवरण, लगानीकर्तामाझ यथार्थ विवरण सार्वजनिक गर्न माग गर्ने निर्णय गरेको छ ।

लगानीकर्तालाई आयोजनामा लगानी रकम बराबरको शेयर प्रमाणपत्र उपलब्ध गराउन प्रवर्धक कम्पनी इनर्जी इन्जिनियरिङ प्रा.लि. सँग माग गर्ने समितिको निर्णय छ । समितिले माथिल्लो मैलुङखोला ए लघुजलविद्युत आयोजनामा लगानी गरेका लगानीकर्तालाई आफूसँग भएको प्रमाण अर्धकट्टी र नागरिकताको प्रतिलिपिसहित सम्पर्क गर्न अनुरोधसमेत गरेको छ ।

टिप्पणीहरू