​आइफाको पल्टन अन्ततः नेपाल आउँदै

‘स्थगित भयो, कुरै सकियो’ भन्ठान्नेका लागि नयाँ समाचार छ, त्यो फेरि हुने गरी अर्को खेलो शुरु भइसक्यो ।

४० करोडको सरकारी लागतमा काठमाडौंमा आयोजना हुने भनिएको इण्डियन फिल्म एकेडेमी अवार्डस् (आइफा) तीव्र विरोधपछि रोक्न संसदीय समितिको निर्देशन थियो । सरकारी रकम खर्च होला÷नहोला, तर उक्त कार्यक्रमको २० औँ संस्करण काठमाडौंमै गर्ने गरी भारतीय आइफा अधिकारी काठमाडौं ओर्लिएका छन् । सन् २००० को जुन २४ तारिखमा लण्डनबाट शुरु भएको आइफा प्रत्येक वर्ष भारतबाहिर फरक–फरक देशमा हुने गर्छ । त्यसक्रममा नेपालमा आयोजना गर्न आइफा सचिवालयले गरेको पत्राचारलाई नेपाल सरकारले स्वीकृत गरिसकेको थियो । तर, विरोधका कारण स्थगन भएको हो ।

सो निर्णयलगत्तै आइफा व्यवस्थापन कम्पनी बिज क्राफ्टका निर्देशक सभास जोसेफसहितको टोली काठमाडौं ओर्लिएको छ । नक्सालमा भर्खरै खुलेको पाँचतारे म्यारियट होटलमा ढुक्कैसँग डेरा जमाएर उनीहरुले यो पंक्ति लेख्दासम्म आइफा आयोजनाबारे उद्योग वाणिज्य महासंघ, उद्योग परिसंघ, चेम्बर अफ कमर्श, एनसेललगायतका संस्थासँग हिजो साँझसम्म कुराकानी गरिसकेका छन् । अर्थात्, सीधै सरकारी लगानीमा मात्रै अवार्डस् आयोजना गर्न नमिल्ने अवस्थामा निजी क्षेत्रलाई समेत स्पोन्सर गराएर कार्यक्रम आयोजनाका लागि प्रयासरत छन् । निजी क्षेत्रले योगदान गर्ने भयो भने पनि उनीहरुसँग भएको सम्झौताको स्वामित्व र त्यसको कार्यान्वयनको सुनिश्चिततासँगै एकमुष्ट नगदको ज्ञारेण्टी सरकारले दिनुपर्ने माग गरिरहेका छन् । उनीहरूले प्रधानमन्त्रीको समय माग गरेका छन् तर पाइसकेका छैनन् । यदि, काठमाडौंमा आयोजना हुने भएमा १५–२० दिनको समय पछाडि सारिने सम्भावना छ । 

स्मरणीय छ, आइफाको आठौं संस्करण बेलायतले आयोजना गरेको थियो भने दोस्रो र चौथो संस्करण दक्षिण अफ्रिकाले । त्यसबाहेक मलेसियाले तेस्रो र १६ औँ हुँदै, सिंगापुर (पाँचौँ र १३ औँ), नेदरल्याण्ड, दुबई, थाइल्याण्ड (नवौँ र १९ औँ), मकाउ (१० औँ र १४ औँ), श्रीलंका, क्यानाडा, अमेरिका (१५ आँै र १८ औँ) तथा स्पेनले आयोजना गरिसकेका छन् ।

टिप्पणीहरू