​चौतर्फी रुपमा आफ्नो मात्रै चिन्ता

घुम्ने, खाने र रमाउने रहरले सरकारका हिसाब जाँचकीहरु कतिसम्म बिग्रिए भने विदेशतिर पनि आतंकै मच्चिसक्यो ।

विदेशस्थित केही कूटनीतिक नियोगमा बेरुजु र आर्थिक अनियमितता भए होलान्, तर अहिले त्यही नाममा सबैजसो मिशनका कर्मचारी कस्तो पेलानमा छन् भने, ज्वाइँजसरी रंगरंगका मान्छेलाई पालैपालो पाल्नुपर्ने । यस्तो आतंक चलाएको छ, महालेखा नियन्त्रक कार्यालयले । अर्धस्वायत्त निकायका रुपमा विशिष्ट श्रेणीको कर्मचारीलाई त्यो संस्था जिम्मा लगाइन्छ । सम्पर्क मन्त्रालय अर्थ हो । त्यसैबाट लेखा परीक्षणका नाममा विदेश जानेहरुको लर्को छ । दूतावासहरुले कतिलाई पाल्ने ? कुनै हिसाब छैन । महालेखा परीक्षक, महालेखा नियन्त्रकजस्ता अनेक नामका टोली विदेश जान्छन् । ती ‘बिन बुलाए मेहमान’ गएर ढस–मस्स बसिदिए पुग्यो, व्यवस्था गरिदिनुपर्नेको रुवाबासी हुन्छ । त्यसमाथि आर्थिक वर्ष अन्त्य भएको छैन । बेरुजु फस्र्यौटमा कति कम भयो, त्यसको हिसाब निस्किने बेला भएको छैन । त्यही नाममा महालेखाका कर्मचारी उता पुगिदिन्छन् । त्यसमाथि आते–जातेबाहेक खाते–पिते, घुम्ते–रम्ते सबै दूतावासको खर्चमा । यता कार्यालयबाट दैनिक भ्रमणभत्ता पनि पाइने । र, त्यो भत्ताचाहिँ थुपारेर राख्ने † अरुलाई हिसाब किताब राम्रोसँग राख्नु भनेर सुशासन सिकाउन जानेहरु आफूले दोहोरो भत्ता लिन सुहाउँछ कि  सुहाउँदैन ? वा, साउनपछि गए हुन्थ्यो । नभए यतै स्रेस्ता मगाएर हिसाब निकाल्न सकिन्छ ।

कस्तोसम्म भने, हाम्रो मान्छे, राम्रो मान्छे ! जिल्ला शिक्षा अधिकारी भएर ललितपुरमा बसेका सूर्यप्रसाद गौतमलाई महालेखा नियन्त्रक बनाइएको छ । ललितपुरमा शिक्षक संगठनहरुसँग लफडा परेपछि मन्त्रालयले पोखरा लखेटेको थियो । कस्तो अचम्म, विद्यालय निरीक्षण गरेर हिँडेको मान्छे सरकारको लेखा फाँटमा † युवा उमेरमै लोकसेवा उत्तीर्ण गरे । लामो समय शिक्षामा बसे । उत्कृष्ट निजामती कर्मचारी पुरस्कार पाएको अर्को वर्ष प्रश्नपत्र लिक गरेर श्रीमतीलाई अधिकृतमा पास गराएको काण्डमा परे । अनुमान गरौँ त, विद्यार्थीका निम्ति प्रश्नपत्र बनाउने मान्छेलाई हिसाब किताब मिलाउने विशिष्ट श्रेणीको जिम्मेवारी कति सुहाउँदो कुरा हो ? उनले प्रश्नपत्र बाहिर ल्याएर पत्नीलाई जाँचमा त उत्तीर्ण गराए । तर, चोरिएको प्रश्नपत्रबाट उत्तीर्ण भएको नाममा पत्नीको परिक्षाफल रद्द भयो । प्रश्नपत्र दिने जोगिए, त्यो प्रश्नपत्रका आधारमा परीक्षा उत्तीर्ण हुनेको चाहिँ जागिर गयो ।

यी महालेखा नियन्त्रक साउनको पहिलोहप्ता अनुभव आदानप्रदानको नाममा पाँच–सात जनाको टोलीसहित अमेरिका जाँदैछन् । अर्थ मन्त्रालयको नाकैमुनि, मितव्ययिताको नारा पनि छ । तर, यस्ता उपलब्धीविहीन, उपादेयताविहीन भ्रमण आदेश पनि स्वीकृत हुँदैछन् ।
 

टिप्पणीहरू