​लडाकु कमाण्डरहरूलाई सम्पत्तिको लर्काे

माओवादी केही पूर्वलडाकुका कुरा ! न स्रोत खुल्छ, न उद्यम नै छ । तर, सम्पत्ति देखिन्छ, अत्यासलाग्दो । कसरी सम्भव भयो यस्तो ?  एउटा समाचार फर्किएर हेरौँ, ०६८ साल माघ दोस्रो साताको । चितवन, शक्तिखोरस्थित लडाकुको तेस्रो डिभिजनमा सेना समायोजनताका आर्थिक घोटालाले ठूलै रुप लियो । बहिर्गमित लडाकुले सरकारी चेक बुझ्दा कमाण्डरले ४० प्रतिशत मागे । डिभिजन सहकमाण्डर उदयबहादुर चलाउनेहरुले बबाल गरे । तर, उपल्लो नेतृत्वले कमाण्डरको बचाऊ गर्दा ठगीमा परेका लडाकु हेरेकाहे¥यै भए ।

फलतः त्यसरी अन्यायमा परेका लडाकु अहिले कोही विप्लव नेतृत्वअन्तर्गत हिंसात्मक गतिविधिमा लागेका छन् त कोही वैदेशिक रोजगारीका लागि खाडी पसेका छन् । घोटालाको आरोप लागेका कमाण्डरको कथा भने फरक छ । शक्तिखोरका कमाण्डर थिए, धनबहादुर मास्की (राजेश) । अहिले पार्टी काममा छैनन् । न व्यापार छ, न आम्दानीको देखिने स्रोत नै । तर, उनको घर छ, नारायणहिटी दरबारको उत्तरी पर्खाल पारी । जापानिज रेष्टुरेण्ट नानोहानासँगैको घरमा भेटिन्छन् । आनाको झण्डै करोड रुपैयाँ पर्ने करिव १० आना क्षेत्रफलमा बनेको भव्य घर छ । र, त्यसका मालिक हुन्, उनी । त्यो घरले महिनावारी पाँच लाख रुपैयाँ आम्दानी दिन्छ, भाडाबापत । ऋण तिर्नु कतै छैन ।

आएको पैसा जम्मा पारेर राख्नेमात्रै काम छ । उनीसँग निर्माणकार्यमा प्रयोग हुने एक्साभेटरहरु छन् । उत्तरढोकामा घर किनेकै बेला शिविरको पैसाले ल्याइएका । किनेका दिनदेखि ठेकेदार कम्पनीलाई भाडामा लगाएका छन् । त्यहाँबाट पनि महिनावारी भाडा उठायो, खायो । एउटा ठेकेदार कम्पनीमा आफू पनि साझेदार थिए । तर, पार्टनरसँग कुरा नमिलेपछि लगानी त्यहीँ राखेर कारोबारबाट अलग भएका छन् । उनीसँग शिविरमा छँदै संयुक्त राष्ट्रसंघले प्रमाणित गरेका केही हतियार छन् । हतियार थन्क्याएरमात्रै हुँदैन, बेला बेला चलाउनु पनि पर्छ । त्यसैले फायरिङका लागि कहिले उपत्यका बाहिर त कहिले वरिपरिका डाँडातिर जान्छन् । खायो, बस्यो, रमायो– यस्तै छ जिन्दगानी । 

धनबहादुरजस्तै कमाण्डर हुन्, कालिबहादुर खाम (विविध) । यार्चागुम्बा तस्करी, चिनियाँ व्यापारी लुटपाट र सरकारी कागजात कीर्तेका अनेकौँ मुद्दा झेलिसकेर अहिले त्यसै थन्किएका छन् । प्रायः सामाखुशी, गोंगबु, रानीबारीतिर गाडीमा हुँइकिएको भेटिन्छन् । उनीसँग बा १४ च ६४३३ नम्बरको टोयोटा कम्पनीको कालो हाइलक्स गाडी छ । केही साथी छन्, तासको सोखिन । तिनीसँगै कहिले तास खेलेर त कहिले मदिरापान गरेर दिन काट्छन् । धनबहादुरको तुलनामा कालिबहादुर अलिक ‘गरिव’ छन् । किनभने, उनीसँग बालुवाटार र टोखामा मात्रै घर छ, जसको भाडा कम आउँछ । बालुवाटारस्थित कालिका टावरसँगैको बाटोबाट भित्र छिरेपछि एउटा पुरानो घर छ, आठ वर्षअघि नै किनेका । भत्काएर बनायो भने कमाउण्डसहितको राम्रो घर निस्कन्छ । तर, आफू बस्नुनपर्ने र भाडामात्र लगाउनुपर्ने कारण किन्दाकै पुरानो घर छ । त्यहाँबाट महिनावारी दुई लाख भाडा उठ्छ । आफू बस्ने घरचाहिँ टोखास्थित साइबाबा चोकमुनी छ ।

यी दुई हेरी झनै ‘गरिव’ छन्, पूर्वब्रिगेड कमाण्डर गोविन्दबहादुर बटाला (जीवित) । कोटेश्वरका रेष्टुरेण्ट व्यवसायी रामहरि श्रेष्ठ हत्याको अभियोग लागेका उनी पार्टीका केन्द्रीय सदस्य हुन् । तर, अरुजस्तै जिम्मेवारीविहीन छन् । जीवितले लडाकु शिविर छाड्दा आएको पैसा नुवाकोटतिरको एक क्रसर उद्योगमा लगानी गरे । तर, क्रसर डुब्यो । भर्खरै केही पैसा ‘खोजखाज’ गरेर बूढानिलकण्ठ नगरपालिका– ८ मा घरजग्गा जोडेका छन् । बाँसबारीबाट उत्तरतिर रहेको स्पेशल चोक (मानबहादुर मार्ग) बाट भ्याली पब्लिक स्कुल छिर्ने बाटोमा छ उनले किनेको घर । त्यहाँ पत्नी सुनीता गौतमसहितको बसोवास छ ।

आर्थिक विवादका कारण व्यापारी रामहरि श्रेष्ठलाई ०६५ वैशाख १५ गते राति २ बजे कोटेश्वरस्थित उनकै घरबाट अपहरण गरेका थिए । चितवन पु¥याएर यातना दिने क्रममा मरणासन्न अवस्थामा पुगेका रामहरिको भरतपुर मेडिकल कलेजमा उपचारका क्रममा वैशाख २६ गते बिहान ११ बजे निधन भएको थियो । यही घटनामा संलग्न भएका केशव अधिकारी (रघु) र गंगाराम थापा (एटम) भने गुमनाम छन् ।
 

टिप्पणीहरू