पत्नीलाई मृत्युको मुखमा पु¥याइँदै

वैदेशिक रोजगारीले ल्याएको अर्को सामाजिक समस्या, केटाले उमेरदार पत्नीलाई यतै छोडेर हिँड्ने । पतिले विदेशतिरै विवाहेत्तर सम्बन्ध राख्ने र यता पत्नी आत्महत्या गर्न बाध्य हुने !

मोरङका राजन कुँवर अहिले कतारमा छन् । बूढानीलकण्ठ– ५, पासिकोटमा घर बनाएर पत्नी अमृता बोहोरालाई जिम्मा लगाएका थिए । पति–पत्नीबीच म्यासेन्जर कल भइरहन्थ्यो । तर, असार १९ गतेको म्यासेन्जर संवाद अमृताका लागि जीवन त्याग्ने स्थितिको यातनामा परिणत भयो । कतारको लाहुरे बनेर काठमाडौंतिर घुम्ने क्रममा मोरङका राजन र रुकुम, बीसकोटकी अमृताको भेट भएको थियो । यता घरबार चलाउन राजनले पैसा पठाउँथे, तर अमृता पठाएको पैसा नपुगेको भन्दै गुनासो गर्थिन् । पति–पत्नीमा पैसाको किचकिच चल्नु नौलो कुरा भएन । तर, १९ गतेको म्यासेन्जर संवादमा एक्कासी एकजना भियतनामी युवती प्रकट भएपछि अमृताको दिमाग चकरायो । उनले पहिला पतिको आइडीमै युवती देखिन् । ‘उनी को हुन् ?’ भनेर सोध्दा ‘जो भए पनि किन चाहियो ?’ भनेर राजन सन्किए । फेरि एकैछिनमा उनै भियतनामी युवतीले अमृतालाई म्यासेन्जरमा कल गरेर भनिन्, ‘म राजनको पत्नी हुँ । तँ को होस् ?’ अमृताले भनिन्, ‘उसको पत्नी त म हुँ ।’

म्यासेन्जरमै राजनले ‘बढ्ता नबोल्, यो मेरी बूढी हो’ भन्दै भियतनामी युवतीलाई चुम्बन गरेर देखाइदिएपछि अमृतालाई जिन्दगी नै भारी लाग्यो । उनले म्यासेन्जरलाई अनलाइनमै राखेर आत्महत्या गरिन् । पत्नीले आत्महत्या गरेको दृश्य पति राजनले कतार बसी–बसी हेरे । उनले प्राण त्यागिसकेपछि मात्रै छिमेकीले प्रहरीलाई खबर गरे । प्रहरी पुग्दा अमृताको म्यासेन्जर अनलाइनमै थियो । तर, पति राजन भने अफलाइन भइसकेका थिए । 

कसैले कसैलाई आत्महत्याका लागि प्रेरित गर्नु पनि अपराध मानिन्छ । अहिले प्रहरीमा अमृताको माइतीपक्षले राजनलाई प्रतिवादी बनाएर जाहेरी दिएको छ । घरकी पत्नीलाई परस्त्रीका अगाडि अपमान गर्ने र परस्त्रीलाई पत्नी भनेर वास्तविक पत्नीलाई मानसिक यातना दिने घरेलु हिंसाको एउटा अर्को पक्ष हो भन्ने दावी अमृताका माइती पक्षको छ । घरेलु हिंसासम्बन्धी दफा लगाएर राजनलाई कतारबाट डिपोट गर्नुपर्ने जाहेरवालाको माग हो । तर, प्रहरीसँग यस्ता कसुरमा विदेशमा रहेको व्यक्तिलाई झिकाउने संयन्त्र र सुविधा उपलब्ध छैन ।

टिप्पणीहरू