बजारका कथा अपार

बहुचर्चित विषादी प्रकरण चर्किएसँगै काठमाडौं उपत्यकामा खसी, बोका, राँगा र कुखुराको अभाव छ । तरकारी तथा फलफूलको भाउ बढेको छ । बिहीबारदेखिको अविरल वर्षापछि देशका विभिन्न भागमा डुबान हुनु, पहिरो जानु र सार्वजनिक यातायात चल्ने प्रायःजसो सडकसँग काठमाडौंको सम्पर्क अवरुद्ध हुनु– सैयौं दुःख एकसाथ आइलागेका छन् । 

अवरुद्ध विभिन्न नाका हुँदै भारतबाट आउने ७५ प्रतिशत मासुजन्य र तरकारी तथा फलफूलको आयातमा प्रत्यक्ष असर परेको छ । आइतबार काठमाडौंमा १२ देखि १५ सय केजीको दरले खसीका मासु बिक्री भए । खसी पनि अधिकांश भारतबाटै आउने हो । यस्तो भएपछि दशैंलाई लक्ष्यित गरेर देशकै विभिन्न भागमा पालिएका पाठापाठी, खसी, बोका हुँदै बाख्रासम्म काट्न थालिए । यसले गर्दा दुई महिनापछि आउने दशैंमा मासु अभाव हुने देखिन्छ । काठमाडौंमा १० वर्षयता आँप सबैभन्दा महँगो बनेको छ । ०६५ सालमा प्रतिकेजी ५० रुपैयाँ ६५ पैसा पर्ने आँपको अहिलेको थोक मूल्य मात्रै ९५ रुपैयाँ हो । विषादी प्रकरणपछि करेला, गोलभेँडा, चिप्ले भिण्डी, भाण्टासहितका छिट्टै बिग्रिने ताजा तरकारी आयातमा मार परेको छ । कारण हो, विषादी परीक्षणको रिपोर्ट आउन कम्तीमा एक दिन लाग्नु, ती तरकारी एक दिनपछि खान नमिल्ने भइसक्नु ।

भारतबाट अत्यधिक आयात हुने आलु, प्याज, कागती र माछालाई भने विषादी परीक्षणको समयले त्यति असर गर्दैन । त्यस्ता चिज पनि वर्षाका कारण बाटोमै रोकिएको अवस्था छ । कालिमाटीस्थित तरकारी तथा फलफूल बजारमा भारतबाट दैनिक करिब दुई सय टन तरकारी भित्रिन्थ्यो । विषादी प्रकरणपछि त्यस्तो तरकारीको आयातमा ५० प्रतिशतका दरले कमी आएको छ । आएका तरकारीहरुको पनि मूल्य चर्को † पोहोर असारमा नेपाली ठूलो गोलभेँडाको अधिकतम थोक मूल्य प्रतिकिलो ५० रुपैयाँ थियो, यसपालि बढेर ७० रुपैयाँ पुगेको छ । यसबाहेक आलु, गाजर, काउली, मुला, च्याउ, रायो, पालुंगो, चम्सुर, मेथीको साग, हरियो प्याज, जिराको साग, सौंफको सागजस्ता तरकारीमा १३ देखि ९६ प्रतिशत अर्थात् ३७ रुपैयाँसम्म भाउ बढेको छ । विषादीको हल्ला आउनुअघि रायोको साग २८ रुपैयाँ (प्रतिकेजी) पथ्र्यो, आइतबार ५५ रुपैयाँ पुग्यो । सागमा नै २७ रुपैयाँ बढ्दा अरुमा के भएको होला ?

टिप्पणीहरू