​बडीगार्डमा कताबाट आयो यस्तो बल ?

नेतासँग जोडिएको प्रहरी दसी प्रमाणसहित समातिएर कानुनतः हिरासतमा राखिएको छ । तर, भित्रैबाट विभिन्न नेतालाई फोन जान्छ, ‘प्रभू, मलाई बचाइदेऊ ।’ 

पहिला हिसिला यमीको अंगरक्षक रहिसकेका र अहिले राष्ट्रियसभामा सत्तापक्षीय दलका नेता दिनानाथ शर्माको बडीगार्ड भएका व्यक्ति कस्तुरीको बीना प्रकरणमा सुकेधारास्थित डाँफे रेष्टुरेण्टबाट गत हप्ता समातिएका छन् ।  दैलेख घर भएका ३५ वर्षीय हवल्दार बमबहादुर चन्दसँगै अरु ६ जना मुछिएको केस हो यो । उनले प्रहरीको विधि विज्ञान प्रयोगशाला वा रोनाष्टको ल्याबबाट बीनाको परीक्षण गराई नक्कली जनाएर आफूलाई निर्दोष बनाउनुपर्ने माग राखेका छन् । 

प्रयोगशालाबाट बरामद भएको दसी प्रमाण सही नठहरिए वन कार्यालयले मुद्दा अगाडि बढाउँदैन । आइतबार दिउँसो ती हवल्दारको फोन रिसिभ गर्ने नेताहरुले उनलाई हिसिलासँग पनि जोडिएका कारण सुझाव दिएका छन्, ‘कयोदेवी यमीलाई भन्नू ।’ उनी हिसिलाकी दिदी र रोनाष्टकी बैज्ञानिक हुन् । लोकसेवाको अध्यक्ष भएर चार–पाँच वर्ष बसेकी थिइन् । हवल्दारले चाहिँ दिनभरि बानेश्वरमा ड्युटी बसेको र पक्राउ परेका एकजना व्यक्तिले आफ्नो नाम पोलेको अनि गिरफ्तारमध्ये एकजनाले बयान फेर्ने बताएका छन् । वन मुद्दामा बरामद सामग्रीलाई कसैले नक्कली प्रमाणित गरिदिए मुद्दा नचल्ने प्रावधान सुनाउँदै कसैले सहयोग गरे पैसासमेत खर्च गर्ने उनको आश्वासन छ । 

उता, अपराधी खोज्न हिँड्नुपर्ने अपराध महाशाखाका हवल्दारले नयाँबसपार्कमा मदिरा सेवनपछि शुक्रबार कुटाई खाएका छन्  । बिहीबार राति एक होटलमा छिरेर रक्सी तन्काई साहुजीसँग निहुँ खोजेपछि सधैं सित्तैमा खाने, निहुँ पनि खोज्ने भन्दै कामदारले मिलेर उनलाई आँखामा निलडाम बस्नेगरी पिटेका हुन् ।

टिप्पणीहरू